प्रभावकारी छैन मतदाता शिक्षा, मतदाता भन्छन्- ‘मत हाल्ने तरिका सिकाउन कोही आएन’


प्रकाशित मिति : बैशाख २२, २०७९ बिहीबार

तनहुँको व्यास नगरपालिका–२ का १८ वर्षीया एलिना कुमालले पहिलो पटक मतदान गर्दैछिन् । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा कुमालले मताधिकारको प्रयोग गर्दैछिन् ।

मतदान गर्ने दिन नजिकिँदै गर्दा कुमालमा छुट्टै उत्साह छ । “पहिलोपटक भएकाले कसरी मत हाल्ने भन्नेबारेमा केही जानकारी छैन, तर सिकेपछि मत हाल्ने तरिकाबारे जान्नेछु”, उहाँले भन्नुभयो । कुमालले स्थानीय तहमा हाम्राभन्दा पनि राम्रा उम्मेदवारले जित्नुपर्ने बताउनुभयो । “अहिले घरदैलो अभियान चलिरहेको छ, दलका भन्दा पनि राम्रा उम्मेदवारले जित्नुपर्छ”, उहाँले भन्नुभयो ।

यसपटक मतदाता शिक्षा कार्यक्रम सञ्चालन नगरिएकाले मतदातालाई मत हाल्न अलमल हुने बन्दीपुर गाउँपालिका–४ का दुर्गाविलास भट्टराईले बताउनुभयो । निर्वाचनमा राजनीतिक दलबीच गठबन्धन भएकाले मतदाता मत हाल्ने बेलामा झुक्किने भएकाले धेरै मत बदर हुनसक्ने उहाँले बताउनुभयो ।

“मत कसरी हाल्ने भनेर गाउँ–गाउँमा मतदातालाई सिकाइएको छैन, गठबन्धनका कारण मत बदर हुनसक्ने सम्भावना उत्तिकै छ”, उहाँले भन्नुभयो । गठबन्धन गरेका दलहरूले पनि मतदान गर्ने तरिकाबारे सिकाउन आवश्यक रहेको उहाँको भनाइ छ । व्यास नगरपालिका–३ का मधुमाया पौडेलले उम्मेदवार भोट माग्न घरदैलोमा आए पनि मतदान गर्नेबारेमा भने कसैले सिकाउने नगरेको बताउनुभयो । “भोट दिनुस् भन्दै आउँछन्, मतदान गर्ने तरिकाबारे पनि सिकाए मत बदर हुँदैनथ्यो होला !”, उहाँले भन्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मतदातालाई मतदान गर्ने तरिकाबारे सिकाउने उद्देश्यसहित जिल्ला निर्वाचन कार्यालय तनहुँ र नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले नमूना मतदान कार्यक्रम ग¥यो । नमूना मतदानले मतदान प्रक्रियाबारे जानकारी गराएको र बदर मत कम गराउन सहयोग पुग्ने स्थानीयवासी कृष्णराज वाग्लेले बताउनुभयो ।

जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले बदर मत कम गराउन सचेतना आवश्यकता रहेको औँल्याउनुभयो । निर्वाचन आयोगले विगतका निर्वाचनमा जस्तो यसपटक मतदाता शिक्षा सञ्चालन गर्न नसकेकाले राजनीतिक दल र उम्मेदवारहरूले घरदैलोको क्रममा मतदातालाई यसबारेमा सचेत गराउनुपर्ने ढकालले बताउनुभयो ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि तयारी तीव्र पारिएको छ । कार्यालयले मतदान केन्द्रमा पठाउने सामग्री व्यवस्थापनको काम गरिरहेको छ । मतदान केन्द्रमा नियुक्त हुने कर्मचारीसँगै मतपत्र र अन्य सामग्री पठाउने तयारी गरिएको छ ।

मतदाता शिक्षा अभावमा मतदाता अन्योलमा

अहिले गाउँमा चुनावी माहोल छ । घरदैलोमा मत माग्न उम्मेदवारले अनेक तरिका अपनाइरहेका छन् । आफूलाई मतदानका लागि अपिल गरिरहेका उम्मेदवारको ध्यान मतदाता शिक्षामा भने पुगेको देखिँदैन ।

उम्मेदवारले केबल फलानो चिह्नमा मतदान गर्नुहोला मात्रै भन्ने गरेका छन् । ठूलो र धेरै मत चिह्न रहेको मतपत्रले जो कोही पनि झुक्किने अवस्था छ । स्थानीय निर्वाचनमा प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष दुई, वडाध्यक्ष र पाँच वडासदस्य गरी सात स्थानमा मतदान गर्नुपर्ने छ । मतदाता शिक्षा नहुँदा धेरै मत बदर हुनसक्ने देखिएको छ ।

यस्तै पाँच दलीय गठबन्धन र तालमेलका कारण सात स्थानमा मतदान गर्दा मत चिह्न फरक–फरक समेत रहेकाले नागरिकले मतदाता शिक्षाबिनै मतदान गर्नसक्ने अवस्था छैन । बागलुङमा १९ राजनीतिक दल र स्वतन्त्रका ११ चुनाव चिह्न छन् । राजनीतिक दलले मतदाता शिक्षामा जोड दिन आवश्यक छ । उम्मेदवाहरुबीच भेला गर्ने कार्यमा मात्र प्रतिस्पर्धा चलेको छ ।

बागलुङमा पाँच दलीय गठबन्धन र एमाले–राप्रापको तालमेल छ । गठबन्धन गरेका पाँच दलले मुख्य पदमा आफ्नै चुनाव चिह्न प्रयोग गरेका कारण मतदाताले मत चिह्न तलमाथि प्रयोग गर्नुपर्ने अवस्था छ भने एमाले र राप्रपाको तालमेलका कारण पनि दुई फरक–फरक चिह्नमा मतदान गर्नुपर्ने अवस्था छ ।

निर्वाचन आयोगले दिएको नमूना मतपत्रअनुसार राजनीतिक दलहरुले आफ्नो चुनाव चिह्नमा स्वस्तिक छाप लगाएर मतदातालाई दिँदै आएका छन् । निर्वाचन आयोगले मतदाता शिक्षाका लागि कुनै व्यवस्था नगरेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी गोकुल शर्माले जानकारी दिनुभयो । “समय छोटो भएर होला, यस विषयमा निर्वाचन आयोगले केही भनेको छैन । बजेट पनि पठाएको छैन”, उहाँले भन्नुभयो, “हामी मतपत्र र अन्य मतदानका लागि आवश्यक सामग्री मिलाएर मतदान केन्द्रमा पठाउने तयारीमा छौँ ।”

यसपटकको निर्वाचनमा कार्यकर्तालाई मतदाता शिक्षाका लागि घरघरमा पठाउने तयारीका साथ गठबन्धनको तर्फबाट नमूना मतपत्र छपाइरहेको नेपाली कांग्रेसका जिल्ला सभापति जित शेरचनले बताउनुभयो । “मतदाता शिक्षा दिन नसके धेरै मत बदर हुने अवस्था छ, त्यसलाई मध्यनजर गर्दै मतदाता शिक्षाका लागि कार्यकर्तालाई खटाइएको छ, निर्वाचनको समयसम्म सबै मतदाताको घरमा मतदाता शिक्षा पु¥याउने हाम्रो तयारी हो”, शेरचनले भन्नुभयो, “गठबन्धनका कारण धेरै चुनाव चिह्नमा मत माग्नुपर्ने हाम्रो बाध्यता हो, जनतालाई बुझाउन आवश्यक छ, वडासदस्यको त जुन पार्टीको वडाध्यक्ष हो त्यही चुनाव चिह्नको व्यवस्था छ, तर पालिका प्रमुख, उपप्रमुख र अध्यक्ष, उपाध्यक्षको लागि फरक चिह्न छ, मतदाताले निकै ध्यानपूर्वक मतदान गर्न आवश्यक छ ।”

यस्तै नेकपा (एमाले)ले जिल्लाका ८५ वटै वडामा मतदाता शिक्षाका लागि कार्यकर्ता खटाएको छ । एमालेले बागलुङ नगरपालिकाबाहेक अन्य नौ पालिकामा एकल उम्मेदवारी दिएको छ । बागलुङ नगरपालिकामा एमाले र राप्रपाको तालमेल छ । उपप्रमुखबाहेक अन्य पदमा एमालेको आफ्नै चिह्न रहेको र अन्य नौ पालिकाका सबै उम्मेदवारको एउटै चिह्न रहेकाले त्यति समस्या नहुने पार्टीका प्रचार विभाग प्रमुख गणेश पौडेल बताउनुहुन्छ ।

“मतदाता शिक्षाका लागि हामीले नमूना मतपत्र छापेर स्वस्तिक चिह्नसहित गाउँमा कार्यकर्तालाई पठाएका छाँै”, उहाँले भन्नुभयो । जिल्ला निर्वाचन कार्यालयले मतदान केन्द्रको मतदाता सङ्ख्याको आधारमा मतपत्रसहित अन्य सामग्री पठाउने तयारी गरिरहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com