बैतडीमा १२ उम्मेदवारविरुद्ध उजुरी


प्रकाशित मिति : बैशाख १४, २०७९ बुधबार

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिएका बैतडीका विभिन्न पालिकाका १२ उम्मेदवारविरुद्ध उजुरी परेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नगरप्रमुख र गाउँपालिकाका उपाध्यक्षका उम्मेदवारसहित १२ उम्मेदवारका विरुद्ध उजुरी परेको हो ।

जिल्लाको पाटन नगरपालिकामा सबैभन्दा बढी सात उम्मेदवारका विरुद्ध उजुरी परेको छ । एमालेबाट नगरप्रमुख पदका उम्मेदवार नारायणसिंह भण्डारीविरुद्ध दुईजनाले उजुरी दिएको हो ।

भण्डारी लेखापरीक्षकको रूपमा कार्यरत रहेको भन्दै उजुरी परेको निर्वाचन अधिकृत ईश्वरीदत्त जोशीले जानकारी दिनुभयो । यसका साथै वडासदस्यका उम्मेदवार हीरासिंह कठायत, प्रेमसिंह भाट, नवराज पाण्डेय, मानबहादुर विष्ट र नवराज भट्टका विरुद्ध उजुरी परेको छ ।

यस्तै शिवनाथ गाउँपालिकामा एमालेका तर्फबाट उपाध्यक्षका उम्मेदवार सकुन्तला साउँद, नेकपा ९माओवादी केन्द्र०का तर्फबाट उपाध्यक्षका उम्मेदवार नरेन्द्र साउँद र वडाध्यक्षका उम्मेदवार भरतराम पार्कीविरुद्ध उजुरी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

पञ्चेश्वर गाउँपालिकामा वडा नं ६ का वडाध्यक्षका उम्मेदवार रामसिंह पुजारा र बलबहादुर भण्डारीविरुद्ध उजुरी परेको छ । पुजाराविरुद्ध पेश्की फछ्र्योट नगरेको भनेर उजुरी परेको र भण्डारीविरुद्ध फौजदारी अभियोगमा सजाय भोगेको भनेर उजुरी परेको हो ।

उम्मेदवारविरुद्ध परेका उजुरीका विषयमा भोलिसम्म छानबिन भइसक्ने मुख्य निर्वाचन अधिकृत तिलकबहादुर कार्कीले बताउनुभयो । स्थानीय निर्वाचनका लागि बैतडीमा ४४० पदका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र गरेर एक   हजार ४४२ को उम्मेदवारी दर्ता भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com