युक्रेन मुद्दामा अमेरिकाका रक्षा र परराष्ट्रमन्त्रीले भने,’रुस कमजोर भएको हेर्न चाहन्छौँ’


प्रकाशित मिति : बैशाख १२, २०७९ सोमबार

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले युक्रेनका लागि वाशिङटनको सहयोगबारे छलफल गर्न किभमा भेटवार्ता गरेका राष्ट्रपतिको प्रेस सेवाले सोमबार जनाएको छ ।

दुवै पक्षले रक्षा सहयोग, रुसमाथिको प्रतिबन्ध थप बलियो बनाउने, युक्रेनलाई आर्थिक सहयोग र सुरक्षा ग्यारेन्टीबारे छलफल गरेको युक्रेनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

संयुक्त राज्य अमेरिकाले युक्रेनका लागि ३.४ बिलियन अमेरिकी डलर रक्षा सहयोग उपलब्ध गराएको छ जुन युक्रेनको रक्षा क्षमतालाई सुदृढ पार्न सबैभन्दा ठूलो योगदान पुग्ने विश्वास गरिएको छ ।

आर्थिक सहायताको बारेमा बोल्दै, जेलेन्स्कीले संयुक्त राज्यले युक्रेनलाई द्वन्द्वपछिको पुनः प्राप्तिमा मद्दत गर्ने र अमेरिकी बजारमा युक्रेनी सामानको पहुँचलाई सहज बनाउने आशा व्यक्त गरेका छन् ।

रुसलाई थप प्रतिबन्ध लगाउने अवधारणापत्र अमेरिकी पक्षलाई हस्तान्तरण गर्दै जेलेन्स्कीले रुसमाथि थप प्रतिबन्ध लगाउन पनि आग्रह गरेका छन् । दुई महिनाअघि रुसले युक्रेनमा गरेको आक्रमणपछि अमेरिकी मन्त्रीहरूको यो उच्चस्तरीय भ्रमण मानिएको छ।

यता अन्तराष्ट्रिय मिडियामा आएका समाचारलाई आधार मान्ने हो भने अमेरिकाले युक्रेनसँगको लडाइमा रुसलाई कमजोर देख्न चाहेको बताएको छ । अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले युक्रेनमा रुसले हार बेहोरेमा यसका नेताहरूले फेरि यस्तो कदम चाल्न हिचकिचाउने बताएका छन् । युक्रेनको राजधानी कीभमा राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँगको भेटपछि अस्टिनले भने, ‘हामी रुसलाई यति हदसम्म कमजोर बनाउन चाहन्छौं कि उसले युक्रेनमा गरेको काम फेरि दोहोर्याउन नसकोस्।’

जेलेन्स्कीसँग दुई मन्त्रीको भेट तीन घण्टासम्म चलेको थियो। रुसी सेनाले युक्रेनको दक्षिणी र पूर्वी क्षेत्रमा आक्रमण तिब्र बनाएको बेला यो बैठक भएको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com