‘पढ्नैपर्ने पुस्तक– संविधान’

प्रकाशित मिति : असार ८, २०७४ बिहीबार

असार ६, २०७४

मार्क लिचीको ‘स्विटेब्ली मोडर्न’ दोहोर्‍याएर पढ्दै छु । यसअघि उनको ‘आउट हियर इन् काठमान्डु’ पनि पढेको थिएँ । यी दुवै पुस्तकमा काठमाडौंको मध्यम वर्गले आफू मध्यमवर्ग हुँ भनेर कसरी बुझ्छ भन्नेबारे चर्चा छ । २००७ सालअघि राणाहरूले मात्रै विदेशबाट आउने सामग्री, ऐना, खाद्य, फिल्म आदि उपयोग गर्थे । सात सालपछि उदाउँदो मध्यमवर्गले ती सामग्री चलाउन थाल्यो । त्यस बेला के ठानिन्थ्यो भने राणा, वा सम्भ्रान्तहरू अत्यधिक मात्रामा पश्चिमा सामग्री, प्रविधि प्रयोग गर्ने हुनाले उनीहरू बढी आधुनिक र कम देशभक्त छन् । निम्नवर्गलाई चाहिँ पश्चिमी सभ्यता, पश्चिमी फेसन, गीत आदिबारे थाहा हुन्थेन । उनीहरू ‘प्रिमोडर्न’ मानिए । भनौं, उनीहरू पश्चिमा आँखाबाट हेर्दा ‘पूरै सभ्य’ हुन सकेका छैनन् ।

मध्यमवर्गले चाहिँ हामी ठिक्कको आधुनिक, अर्थात् स्विटेब्ली मोडर्न हुनपर्छ भन्ठान्ने । मध्यमवर्गले आफूलाई देशभक्त पनि ठान्थ्यो, र पहुँचमा रहेका पाश्चात्य सामग्री पनि चलाउथ्यो । त्यस बेला काठमाडौंमा क्याफे, रेस्टुराँ खोल्ने संस्कृति भर्खरै सुरु भएको थियो । त्यहाँ पुगेर मध्यमवर्गको खोजीनीतिचाहिँ कस्तो कुरामा हुँदो रहेछ भने, अरू को–को आएका छन् भनेर हेर्ने । अनि उनीहरूसित दाँजिएर आफ्नो मध्यमवर्गीय अनुभूति सिर्जना गर्ने । मध्यमवर्गका यस्ता विचार बुझ्न यी दुवै पुस्तक पढ्नुपर्छ ।

अहिले विषयकेन्द्रित पठन
पहिलेजस्तो जे मन लाग्यो त्यही पढ्न भ्याइने अवस्था छैन । म हिजोआज केही प्राज्ञिक निबन्धहरू लेख्नका लागि त्यसैमा केन्द्रित भएर लेखिएका पाठहरू पढ्दै छु । अर्को महिना सिनासको जर्नलमा ‘क्लास कन्सम्सन एन्ड क्राइसिस अफ मस्कुलिनिटी इन् कन्टेम्पोररी नेपाल’ शीर्षक मेरो लेख आउँदै छ । हाइडेलवर्ग युनिभर्सिटीका लागि अर्को त्यस्तै पत्र लेख्दै छु । सोसल साइन्स बहा:ले छापेको मस्क्युलिनिटीमाथिको लेखलाई मैले लन्डन, सोहासमा गएर प्रस्तुत गरेको थिएँ— डेभिड गेल्नरको आग्रहमा । अहिले आफ्नै विषयकै लागि भनेर गोर्खा सैनिकहरूको पुरुषत्व, अनि भारत, बंगालतिरका राजाहरूबारे पढिरहेको छु ।

बाध्यताले पुस्तक
कुनै रहर वा विलक्षण प्रतिभाले डोरिएर म पुस्तकमा पुगेको होइन । मसँग पुस्तक पढ्नुको कुनै उपाय थिएन । बुवाको पोस्टिङ दुर्गम ठाउमा भइरहने हुनाले चार कक्षादेखि मात्रै स्कुल जान थालेको हु । मेरा दिदीबहिनी दाजुभाइ नभएकाले आमाले नै मलाई बोर नहोस् भनेर पुस्तक दिनु हुन्थ्यो । बाल्यकालमा नेपाली, अंग्रेजीकै पुस्तक बढी पढिन्थ्यो ।
त्यस बेला राजनीति, दर्शन, साहित्य जे भेट्यो त्यही पढिन्थ्यो । पछि ब्याचलर्स पढ्न दार्जिलिङ जाँदाचाहिँ साहित्यक कृति पढ्न थालियो । मास्टर्स सकेर पढाउन थालेपछि सिद्धान्त पढ्न थालियो । पछि त विद्यावारिधिका लागि सिद्धान्त नै बढी पढ्नुपर्ने भयो । मैले खासगरी उत्तरउपनिवेशी सिद्धान्त, जेन्डर स्टडिजमा बढी ध्यान लगाएँ ।

तीन महिना घाट बसें
एक समय तान्त्रिक पुस्तक पनि पढिन्थ्यो, हिजोआज त्यस्तो नपढेको धेरै भयो । गनेस पौडेलको ‘पाइला’ पढौं भन्ने लागेको छ । १७ वर्षतिरको हुँदाचाहिँ रजनीशको पुस्तक पढिन्थ्यो । परमहंस योगानन्दको ‘अटोबायोग्राफी अफ् योगी’ पढें । त्यसले खुब प्रभाव दिएको दियो । सत्य, नाम, पैसाका लागि खट्ने मानिसहरू धेरै हून्छन्, तर कतिपयका लागि यीभन्दा परको संसार पनि हुँदोरहेछ भनेर मैले यो पुस्तकबाट थाहा पाएँ । मैले १७, १८ वर्षको उमेरमा पशुपतिनाथ आर्यघाटको तलतिर भस्मेश्वरमा तीन महिना बसें पनि । त्यस बेलाचाहिँ पुस्तक पढिएन भनौं ।
पठनमा विविधता ल्याउनु राम्रो कुरा हो । रिसर्चहरू गर्न थालेपछि अलि विशिष्टीकृत हुनैपर्ने हुन्छ । उपन्यास, कथा आदि पढ्न सकिन्न ।
जसरी हाम्रो पालामा सबै विद्यार्थीमा पढ्ने लत थिएन, त्यसै गरी अहिलेका विद्यार्थीहरूमा पनि सबैमा त्यस्तो बानी नहुनु स्वाभाविक भयो । हरेक पुस्ताले आफ्नो रुचिअनुसार नै पढ्ने हो । अहिले त धेरै पुस्तकहरू इन्टरनेटबाट डाउनलोड गर्न पाइन्छ । कतिपयमा तत्कालको मजा आउने किसिमका पुस्तकको छनोटमा ध्यान हुने हुँदा गम्भीर पुस्तक पढ्दैनन् । सरर्र बग्ने पुस्तक पढ्दा मजा त आउला, तर साहित्य, दर्शनको गम्भीरता एकपल्ट सर्र पढेर बुझ्न खोज्दा सम्भव नहुन सक्छ ।

सिद्धान्त पढौं
विद्यार्थीहरूले सिद्धान्त पढ्नु आवश्यक छ । पहिलेका विद्यार्थीहरूमा सिद्धान्त भनेपछि खास साहित्यिक कृतिमा उक्त सिद्धान्त लगाउने भन्ने हुन्थ्यो, अहिलेचाहिँ दैनिक जीवन, राजनीतिजस्ता विषय पनि सिद्धान्तको चस्माबाट हेर्न सकिँदो रहेछ भन्ने धारणा आइसकेको छ ।
कतिपय ठान्छन्, अभ्यास बढी महत्त्वपूर्ण हो, सिद्धान्त होइन । कुनै मानिसको जिन्दगीका व्यक्तिगत पृष्ठभूमि, उसले भोगेका घटना, अनुभव, विचारलाई समग्रतामा बुझ्ने लेन्स सिद्धान्तले नै दिन्छ । कहीं शोषण भयो, अत्याचार भयो भने त्यस्ता घटनाहरू जोडेर समग्र चित्र सिद्धान्तले नै बुझाउँछ । माक्र्सले लेखेको सिद्धान्त भनेको त्यस बेलाका लाखौं मान्छेले अनुभूत गरेको जीवनको समग्र रूप हो । सिद्धान्तलाई अमूर्त धारणाका रूपमा बुझ्ने होइन, अभ्यासकै विधा ठानियो भने सजिलो हुन्छ ।
मैले पुस्तक लेख्दा रसियन रियलिज्म (समाजवादी यथार्थवाद) कै दबदबा थियो । मैले पहिलो पुस्तक ‘पोटाटो, बटर एन्ड कफी’ लेख्दा त्यसभन्दा अलि फरक गरौं भनेर प्रयोग गरें । ममा बिलियम फकनर, जेम्स ज्वायस् भर्जिनिया उल्फ, फ्रान्ज काफ्काको प्रभाव परेको थियो । त्यसले मेरो लेखनमा पनि प्रयोग छिरायो । उपन्यास ‘घनचक्कर’मा पनि त्यस्तै प्रयोग गरें, तर अहिले हेर्दा घनचक्करभन्दा ‘पोटाटो बटर एन्ड कफी’ बढी प्रयोगवादी लाग्छ ।

नयाँ लेखकको समस्या
नयाँ लेखकहरू म उत्साहले पढ्छु । बीचमा धेरै छुटेको छ । बरु मैले भन्दा बढी अर्चना (थापा) पढ्छिन् । केही राम्रा रचनाहरू आइरहेका छन् । म तिनका लेखकबाट उत्साहित छु । एउटै समस्या के हो भने : हाम्रो संस्कृति नै तत्काल सन्तुष्टि पाउनका लागि सजिलो खालको पुस्तक रोज्नेमा बढ्ता छ । साहित्यका धेरै तहहरू (मल्टिलेयर) हुन्छन् । लेखकहरूले त्यतातिर जानुपर्‍यो । संसारका धेरै राम्रा साहित्य दीर्घकालसम्म राम्रा मानिन्छन्, जसलाई मानिसहरू पटक–पटक पढ्छन् । प्रत्येक पठनपिच्छे अर्कै अर्थ फेला पार्छन् । त्यसरी मैले दोहोर्‍याएर पढेकामध्ये ज्वायसको ‘युलिसिस’, सलमान रुस्दीको ‘मिड्नाइट्स चिल्डेन’, एन रान्डको ‘फाउन्टेनहेड’ जस्ता पुस्तक महत्त्वपूर्ण छन् । फाउन्टेनहेडका केही राजनीतिक समस्या रहे पनि त्यो पठनीय छ । बरु दोस्तोएब्स्कीको ‘क्राइम एन्ड पनिसमेन्ट’ पढ्दा सरर्र बगेको अनुभूति भए पनि दोहोर्‍याएर पढ्दा बहुल अर्थहरू भेटिन्छन् । रुस्दीकै ‘सटानिक भर्सेज’चाहिँ चर्चा धेरै पाएर पनि खासै छोएन । नयाँ पुस्ताले पढ्नैपर्ने पुस्तक नेपालको नयाँ संविधान हो । किनकि यसबारे धेरै अस्पष्ट कुराहरू बाहिर आएका छन् । यो संविधानमा केही समस्याहरू हुन सक्छन्, तर धेरै कुराहरू थाहा पाउनुपर्ने खालका छन् । यत्रो वर्षको मिहिनेतले बनाएको संविधान किन सबैले नपढ्ने ? बरु पुस्तक नकिने अनलाइन डाउनलोड गर्न पनि मिलिहाल्छ । संघीयताले गाउसम्म अधिकारहरू दिएको छ । ती अधिकार र अवसर के हुन् भन्ने थाहा पाउन पनि संविधान पढ्नैपर्छ ।

KHASOKHAS EDITORIAL TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

KHASOKHAS TEAM

Int. Representative: KP Neupane(Jackson)
Resource Person: Bishwa Bahadur Shah
Goodwill Ambassador: Yam Baral

Contact Us

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com