किसान रामवृक्षको सफलताको कथा,’इच्छा शक्तिले कमाएको नाम र दाम’


प्रकाशित मिति : बैशाख १०, २०७९ शनिबार

– मोहम्मद सदरुल

इच्छाशक्ति भएमा नाम र दाम दुवै आर्जन गर्न सकिने उदाहरण प्रस्तुत गर्नुभएको छ सुनसरी देवानगञ्ज गाउँपालिकाका किसान रामवृक्ष मेहताले । निजी लगानीका बीउबिजन उत्पादन तथा प्रशोधन केन्द्र स्थापना गरेर लाखौँ आम्दानी गर्न उहाँ सफल हुनुभएको छ । विगतमा लागत धेरै लागेको र आर्जन थोरै गर्न सकिए पनि व्यवसायमा दिएको निरन्तरताले अहिले अपेक्षित लाभ लिइरहनु भएको छ ।

देवानगञ्ज गाउँपालिका–२ निवासी मेहताले सुरुमा रु एक करोडभन्दा बढी लागत लगाएर बीउ प्रशोधन केन्द्र स्थापना गर्नुभयो । यसका लागि पालिकाले रु चार लाख र कृषि ज्ञान केन्द्र सुनसरीले रु आठ लाख सहयोग गरेको उहाँले जानकारी दिनुभयो । सानैदेखि कृषि पेशामा समर्पित मेहताले रु २० लाखमा बीउ प्रशोधन मेसिन खरिद गर्नुभएको छ ।

उहाँले गएको वर्षमा प्रशोधित १६० मेट्रिक टन धानको बीउ बिक्री गर्नुभयो । मसिनो धान प्रतिकेजी रु १०० र अन्य धान प्रतिकेजी रु ५५ देखि ६० सम्म बिक्री गर्नुभएको हो । बीउ वृद्धिका लागि स्थानीय किसानका गहुँका लागि ६० हेक्टर र धानका लागि ८० हेक्टर जग्गा उपयोग गर्दै आउनुभएको छ । बजार मूल्यभन्दा २० प्रतिशत बढी मूल्य दिएर बीउ वृद्धिका लागि किसानलाई प्रोत्साहन गर्दै उत्पादनका लागि खेत उपभोग गरिरहेको पाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस वर्ष मेहताले धान १२५ मेट्रिक टन र गहुँ १२५ मेट्रिक टन बीउ उत्पादन गर्ने लक्ष्य लिनुभएको छ । उहाँले यसमा मात्र सीमित नरहेर अग्र्यानिक मल पनि उत्पादन गरिरहनुभएको छ । अग्र्यानिक मलका लागि आवश्यकताअनुसार भैँसी र गाईवस्तु पनि पाल्नुभएको छ । गोबर, घाँसपातलाई कुहाएर बनाउने अग्र्यानिक मलको गुणस्तर जाँच तथा प्रमाण्ीकरणका लागि पहिलो वर्ष नार्क नामक संस्थालाई रु चार लाख भुक्तानी गरेको र त्यसपछि वर्षेनी रु छ हजार मल जाँच गरेको शुल्क तिर्ने गरेको प्रशोधन सञ्चालक मेहताले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अग्र्यानिक मल उत्पादन गर्दा रासायनिक मल विस्थानपन हुने र रासायनिक मल प्रयोग गर्दा उत्पादन लागत बढ्दै जाने र मुनाफा कम हुने भएकाले यस क्षेत्रका किसान अग्र्यानिक मलतर्फ रुचि बढेको पाइएको छ ।”

प्रतिकेजी रु २० दरले बिक्री हुने अग्र्यानिक मल गएको वर्षमा ६० मेट्रिक टन बिक्री भएको छ । यस वर्ष अग्र्यानिक मल उत्पादन वृद्धि गर्ने सोच र उद्देश्य रहेको मेहताको भनाइ छ । परिवार सबै मिलेर गरिरहेको यस कामका लागि उहाँले एक कृषि अधिकृत र एक जना जेटिएलाई जागिर पनि दिनुभएको छ । दैनिक १५ जनालाई प्रत्यक्षरूपमा रोजगारी दिँदै आउनुभएका कृषक मेहताले जिल्लास्तरबाट राष्ट्रपति पुरस्कार र बीउबिजन उत्कृष्ट राष्ट्रिय पुरस्कार पाउनुभएको छ, खर्च काटेर वर्षमा रु ३० लाख आम्दानी गर्छु, भन्नुभयो ।

यही आम्दानीबाट उहाँले एक छोरा आनन्दलाई एमबिबीएस उत्तीर्ण गराएर एमडीमा भर्ना गर्नुभएको छ भने एक छोरी अम्बिका बिएससी नर्स र अर्की छोरी आरती बिएससी एजीसम्मको शिक्षा दिनुभएको छ । उहाँले यस अतिरिक्त दुई बिघा पाँच कठ्ठा जग्गामा तरकारी खेती गर्नुभएको छ । बजारको समस्या नभएको बताउने कृषक मेहताको तरकारी खेतीमा पर्वल, करेला, भिण्डी, खुर्सानी, काँक्रा अहिले बेजोडले फलेको देख्न पाइन्छ । व्यापारीले खेती भएकै ठाउँमा तरकारी खरिद गर्ने गरेकाले कहीँकतै भौतारिनु नपरेकामा खुसी व्यक्त गर्नुभयो ।

आनन्द सिड्स एण्ड अग्र्यानिक फर्टिलाइजर नाम दिएको आफ्ना कारखानाबाट प्रभावित भई उहाँकै सहोदर भाइ उमेशकुमार मेहताले पनि अग्र्यानिक मल उत्पादन सुरु गर्नुभएको छ । गएको वर्षमा उहाँले १० मेट्रिक टन अग्र्यानिक मल बिक्री गर्नुभएको थियो भने यस वर्ष उत्पादन बढाउने दिशातर्फ अग्रसर देखिनुभएको छ । उहाँले १० वटा गाई पाल्नुभएको छ भने दैनिक १५ लिटर प्रतिलिटर रु ५० कार दरले दूध पनि बेच्दै आउनुभएको छ । आफ्नो पेशामा समर्पित मेहताका श्रीमती अनिता भारतीले दिनरात नभनी श्रीमान्को काममा सघाउँदै आउनुभएको छ ।

प्रदेश नं १ का कृषि मन्त्रालयका सचिव मेघनाथ तिमिल्सेनाले निरीक्षण एवं अनुगमन गर्दै आफ्नै सीप, ज्ञान र क्षमता प्रयोग गरेर कृषि क्षेत्रमा गरेको योगदानको कदर गर्दै प्रदेश सरकार कृषिलाई प्राथमिकतामा राखेकाले कृषकको मागलाई सक्दो सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कृषि ज्ञान केन्द्र सुनसरी मोरङ सम्पर्क कार्यालय विराटनगरका प्रमुख रामदेव सिंहले किसानले गरेको मेहेनतबाट नै राष्ट्र निर्माण हुने भएकाले कृषि उत्पादन बजार बिचौलियाको हातमा पर्न नहुने भन्दै श्रम, सीप र लागत लगाउने किसानले बाली उत्पादनबाट उचित लाभ लिनुपर्नेमा जोड दिनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com