युद्धको ५० दिन पूरा भएपछि राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति जेलेन्स्कीले भने,’एउटा बहादुर राष्ट्रका अटल जनता’
प्रकाशित मिति : बैशाख १, २०७९ बिहीबार
युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुससँगको युद्धको ५० दिन पूरा भएको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै युक्रेनलाई बचाउनेहरूलाई सम्मान गरेका छन् ।
जेलेन्स्कीले भने, ‘एउटा बहादुर राष्ट्रका अटल जनता। हामी ५० दिनसम्म उभिएका छौं, जबकि कब्जा गर्न आएकाहरुले हामीलाई पाँच दिन दिएका थिए ।’
धेरै पश्चिमा नेताहरुसँगको वार्ता र भेटघाटलाई स्मरण गर्दै उनले भने, ‘यी ५० दिनमा मैले विश्वका धेरै नेताहरुलाई विभिन्न तरिकाले देखेको छु ।’
उनले भने, ‘मैले राजनीतिज्ञहरू आफूसँग शक्ति नभएको जस्तो व्यवहार गरेको देखेको छु। नेतृत्व गरेको दाबी गर्नेभन्दा पनि यो ५० दिनमा धेरै काम गरेका गैर-राजनीतिक मानिसहरू देखेको छु।’
जेलेन्स्कीले युक्रेनी सेनाको प्रशंसा गर्दै भने, ‘५० दिनको रक्षा हाम्रो लागि उपलब्धि हो, यो युक्रेनका करोडौं जनताको उपलब्धि हो ।-एजेन्सी






