अमेरिकामा थपिने आप्रवासीको संख्या कम हुँदा कामदारको हाहाकार, २० लाख कामदार अभाव
प्रकाशित मिति : चैत्र २५, २०७८ शुक्रबार
अमेरिकी रोजगारदाताहरुले अहिले दक्ष कामदारहरु पाउन र काममा राख्नमा मुस्किल भइरहेको बताएका छन् । कामदारहरुले ठूलो संख्यामा काम छाडिरहेका छन् भने लाखौं जागिरमा पदपूर्ति गर्नमा समस्या भइरहेको छ ।
यसो हुनुको एउटा प्रमुख कारण अमेरिकामा आप्रवासीहरु थपिने क्रम कम भएको विज्ञहरुको भनाई छ । किनभने विगतको दशकको मध्यमा हरेक बर्ष औषत १० लाखका दरले अमेरिकामा आप्रवासीहरु थपिदै आएका थिए । तर ट्रम्प प्रशासनका पालामा यो संख्या घटेको थियो । सिमानामा पर्खाल र कोरोना महामारीका कारण यो संख्यामा उल्लेख्य गिरावट आयो ।

कडा अध्यागमन नीति र महामारीका कारण बैध आप्रवासमा कमी आएको र कतिपय आप्रवासीहरु आफ्नो देशमा फर्किएको जेपी मोर्गन फण्डका प्रमुख ग्लोबल रणनीतिकार डेभिड केलीले बताए । कोरोना महामारीका कारण कैयन यात्राहरु रोकिनुका साथै आप्रवासी प्रकृयामा पनि रोकावट आयो । विदेशी कामदारहरु पनि आफ्नो देश फर्किए ।

सन् २०२० मा अमेरिकामा आप्रवासन सन् २०१६ को तुलनामा आधाभन्दा कम भएको थियो । अहिले अमेरिकामा झण्डै २० लाख कामदारको अभाव भएको एउटा तथ्यांकले देखाएको छ । खासगरी कम तलब पाउने क्षेत्रहरु होटल, हेल्थकेयर र खाद्य क्षेत्रमा कामदारको अभाव भएको छ ।






