‘चुनाव सकिएपछि नेताहरू नबदलिऊन्’


प्रकाशित मिति : असार ७, २०७४ बुधबार

असार ७, २०७४

  • – पहिलेजस्तो नयाँ पुस्तालाई ढाँट्ने अवस्था छैन
  • – वर्षौंदेखिका समस्या अझै ज्युँका त्युँ
  • – निर्णायक मत भएको समुदाय पहिलोपटक आफैं चुनावी मैदानमा

नाम चलेका नेताहरू दिनहुँजसो आफ्ना अगाडि आएर दुई हात जोडेर भोट माग्छन् । यो दृश्यले रामजी सरदारलाई अनौठो लाग्दैन । ८० वर्षीय सरदारले यस्तो दृश्य धेरैपटक देखे, भोगे । यही दृश्य भर्खरै १२ कक्षा सकेकी २० वर्षीया जिरा सरदारलाई भने निकै अनौठो लाग्छ । पहिलोपटक मताधिकार प्रयोग गर्न लागेकी उनले यसअघि यस्तो देख्न पाएकै थिइनन् ।

चुनावका बेला नेताको स्वभाव ‘अनौठो’ हुनु नौलो नभएको सरदार सुनाउँछन् । ‘चुनावका बेला सधैं यस्तै हो,’ सोमबार चुनावबारे छलफल गर्न भेला भएका गाउँलेलाई उनले अनुभव सुनाए, ‘जितेर गएपछि हामीलाई कसले चिन्ने ?’ गाउँबस्तीको अवस्था सुधार्ने वाचा चुनाव सकिएपछि हराउने गरेको उनको अनुभव छ । यसपालिदेखि भने त्यस्तो नहोला भन्ने आशा व्यक्त गरे । ‘उहिले पो हामीलाई ढाँट्न सजिलो थियो,’ वरिपरि कुरा सुन्न झुम्मिएका नयाँ पुस्ताका युवालाई देखाउँदै उनले प्रस्ट्याए, ‘अब यिनीहरूलाई हामी बूढाबूढीलाई जसरी अलमल्याउन सक्दैनन् होला ।’
अहिलेको पुस्ता पहिलेका जसरी आश्वासनको भर नपर्ने जिराको भनाइ छ । ‘बुबा हजुरबुबाहरूले सधैं आश्वासनमै भोट दिँदै आउनुभयो,’ उनले भनिन्, ‘तर गाउँका लागि कसैले केही गरेन, अबचाहिँ हाम्रै समुदायबाट पनि चुनिएर जाने सम्भावना भएकाले दु:ख बुझ्लान् कि भन्ने लागेको छ ।’

लामो समय स्वास्थ्य स्वयंसेविका भएर काम गर्दा सहनीदेवी सरदारको मन गाउँका अनेक समस्याले पिरोलिन्थ्यो । बिरामी पर्दा उपचार, सहज रूपमा खानेपानी, बालबालिकालाई पढाउने व्यवस्था किन हुँदैन भन्ने लागिरहन्थ्यो । यस्ता समस्या हटाइदिन उनले सबैजसो नेतालाई गुहारिन् । उनी मात्र होइन, गाउँवासी सबैले यस्ता समस्यामा ध्यानाकर्षण गराए । तर केही भएन । ‘समस्या सुनेपछि आजको भोलि नै केही गर्दिउँलाजस्तो गरे,’ सहनीदेवीले भनिन्, ‘तर यहाँको अवस्था फेरिएन ।’ अरूलाई गुहारेर पार नलागेकाले यसपालि उनी आफैं उम्मेदवार बनेकी छन् । मुख्य पार्टीमध्ये एउटाबाट उनी वडामा महिला सदस्यका रूपमा उम्मेदवार छिन् । ‘राजनीति त जान्दिनँ,’ उनले भनिन्, ‘तर मैले जितें भने गाउँको समस्या सिधै लिएर जान सक्छु भन्ने लागेर उम्मेदवार बनेकी हुँ ।’
दिनहुँ उनी चिने/नचिनेका मतदातासमक्ष पुगेर मत मागिरहेकी छन् । यसरी केही दिन घुम्दा उनले बटुलेको अनुभव हो– पहिलेका नेताले केही काम नगरिदिएकाले मतदाताले वर्षौंअघिका समस्या सुनाउँदै बस्तीको अवस्था सुधार्न आग्रह गरिरहेका छन् । ‘सबैले भोट दिन्छौं भनेका छन्,’ सहनीदेवीले सुनाइन्, ‘तर गाउँको दु:ख दूर गर्दिनुपर्‍यो भन्ने सबैको माग छ ।’

चुनावका बेला नेताहरूले गर्ने व्यवहार चुनावपछि फेरिने स्थानीय गोवद्र्धन सरदारको गुनासो छ । ‘भोट माग्दा नेताहरू खुट्टै ढोगौंलाझैं गर्छन्,’ उनले भने, ‘चुनावपछि भेट हुँदा सहयोग गर्नु त परै, छोइन्छ कि जस्तो गर्दै टाढिन्छन् ।’ भर्खरै महानगर बनेको विराटनगरबाट करिब १३ किलोमिटर पूर्वको यो बस्ती अहिले कटहरी गाउँपालिका ७ नं वडामा पर्छ । पहिलेको थलाहा गाविसका १, २, ३, ४ र ७ वडालाई मिसाएर एउटै वडा बनाइएको छ । बस्तीमा ७० प्रतिशत सरदार (बाँतर) समुदायको बसोबास छ ।

दलित बस्ती भनेर चिनिने यहाँका अधिकांश घर फुसका छन् । दर्जन परिवारका लागि एउटा चापाकल छ । गाउँ आउजाउ गर्दा बर्खामा पिँडुलासम्म हिलो आइपुग्छ ।

हिउँदमा धूलोमा खुट्टा भासिन्छ । बस्तीमा २ हजार ५ सय ८५ मतदाता छन् । गाउँको प्रतिनिधि चुन्न यो गाउँको मत पनि निर्णायक हुने गरेको छ ।

साबिकको थलाहा गाविस हुँदा यहाँ ७५ प्रतिशत सरदार समुदाय थिए । त्यही भएर विगतका निर्वाचनमा पनि यो समुदायको मत दलहरूका लागि आकर्षण थियो । ‘हरेक निर्वाचनमा यहाँको मत निर्णायक बन्ने गरेको छ,’ बस्ती सिरानमा घर भएका राजनीतिक कार्यकर्ता हरि भट्टराईले भने, ‘तर भोट तान्ने प्रयास मात्रै भयो, समुदायको पछौटेपन हटाउने प्रयास कहिल्यै भएन ।’ त्यही भएर यसपालि पहिलोपटक यही समुदायबाट महिला सदस्यमा सहनीदेवी र वडाध्यक्षमा चन्द्रलाल सरदार उम्मेदवार बनेको उनले बताए ।

लोहन्द्रा खोलाकिनारको यो बस्तीका अधिकांश घरमा विभिन्न पार्टीका झन्डा र चुनाव चिह्न अंकित तुल राखिएका छन् । केही दिनयता बिहानै समूहसमूहमा बसेर गाउँलेहरू छलफलमा जुट्ने दिनचर्याझैं बनेको छ । कुनै न कुनै पार्टीका उम्मेदवार र नेताहरू आउँदा आफ्ना समस्या सुनाउन उनीहरूले यो काइदा निकालेका हुन् । भोट माग्दै आउनेहरूलाई गाउँलेले राख्ने माग हो, लोहन्द्रा खोलामा तटबन्ध, व्यवस्थित सडक, खानेपानी सुविधा, गाउँमै उपचार र बालबालिकालाई पढाइको सुविधा । महिलाले आफूहरूलाई सीपमूलक तालिम दिई गरिखाने अवसरको माग गर्ने गरेका छन् ।

दिउँसो गाउँका पुरुषजति काम गर्न विराटनगर पुग्छन् । कोही रिक्सा चलाउँछन् । कोही राजमिस्त्रीको काम गर्छन् । कतिपय उद्योगमा ज्यालामजदुरी गर्छन् । अधिकांश महिला भने आसपासका गाउँबस्तीमा कृषि मजदुरी गर्दै आएका छन् । मनिताकुमारी सरदार बस्तीकै सबैभन्दा बढी पढेकी सदस्य हुन् । बीबीएस अन्तिम वर्षमा अध्ययनरत उनले दु:ख गरेर पढाए पनि रोजगारी पाउन नसकिने कुराले अभिभावकलाई खिन्न पार्ने गरेको बताइन् ।

‘सानैदेखि कति दु:ख गरेर पढाउनुहुन्छ,’ उनले भनिन्, ‘तर जति पढे पनि दलित भएकाले कामै दिँदैनन् भन्ने परेको छ, यही कारण पढाएर के काम भन्ने छाप परेको छ ।’ आफूले रोजगारीका लागि प्रयास गरेको तर कतै अवसर नपाएको उनले सुनाइन् । गाउँका महिलालाई सीपमूलक काम अनि पढेकालाई सानोतिनो रोजगारी व्यवस्था गरिदिन उनी भोट माग्दै आउने नेताहरूसमक्ष आग्रह गरिरहेकी छन् ।

गाउँको अवस्था सुधार्ने उम्मेदवारलाई यसपालि सघाउने गौरादेवी सरदार बताउँछिन् । ‘हामी चामल माग्न जाँदैनौं, सुनको डल्ला पनि चाहिएको होइन,’ उनले भनिन्, ‘जुनसुकै पार्टीको भए सबैलाई जनता सम्झेर अप्ठ्यारो परेका बेला सहयोग गरे हामीलाई पुग्छ ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com