बेपत्ता युक्रेनी पत्रकारको शव फेला, रुसी सेनाले हत्या गरेको आरोप
प्रकाशित मिति : चैत्र १९, २०७८ शनिबार
गत महिना राजधानी कीभ नजिकैको युद्ध क्षेत्रमा हराएका प्रख्यात युक्रेनी फोटो पत्रकार म्याक्स लेभिन मृत फेला परेका छन् । युक्रेनको अभियोजक जनरलको कार्यालयले शनिबार एक विज्ञप्ति जारी गर्दै म्याक्स लेभिनलाई रुसी सेनाले चलाएको गोली लागेर मारिएको बताएको छ ।
लेभिनको शव शुक्रबार हुता मेझिहिरस्का गाउँमा फेला परेको थियो। ४० वर्षीय लेभिनले धेरै युक्रेनी र अन्तर्राष्ट्रिय प्रकाशनहरूको लागि फोटो पत्रकार र भिडियोग्राफरको रूपमा काम गरे। लेभिन मार्च १३ देखि बेपत्ता थिए। उनको मृत्युबारे अनुसन्धान सुरु गरिएको छ ।
उनको शरीरमा दुईवटा गोलीको निशान भेटिएको थियो । संस्था रिपोर्टर्स विदाउट बोर्डर्सले लेभिनसँग कुनै हतियार नभएको बताएको छ । उनले प्रेस ज्याकेट लगाएका थिए। लेभिनका श्रीमती र चार छोराछोरी छन्। रुस–युक्रेन युद्धमा हालसम्म ६ जना पत्रकार मारिएका छन् ।
रुस र युक्रेन युद्ध भएको ३८ दिन बितिसक्यो । मस्कोको कारबाहीले युक्रेनलाई पूरै तहसनहस बनाएको छ। योसँगै रुस पनि पश्चिमी देशको प्रतिबन्धको दबाबमा परेको छ ।






