अफगानिस्तानमा भोकमरी लागेपछि ‘छोरी चेली विक्री’


प्रकाशित मिति : चैत्र १७, २०७८ बिहीबार

अफगानिस्तानमा भोकमरी लागेपछि कतिपय क्षेत्रमा छोरीचेलीको विक्री हुन थालेको छ । बालबच्चालाई खुवाउन नसकेपछि बाबुआमाले आफ्ना छोरीचेली बेच्न थालेका हुन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्मयले अफगानिस्तानमा बालबालिका जोखिममा परेको उल्लेख गरेका छन् । अलजजिराले तयार गरेको रिपोर्टमा बालिकाहरु बढी जोखिममा परेका छन् । उनीहरुलाई खुवाउन नसकेपछि बाबुआमाले नै विक्री गर्न थालेका छन् ।

तालिवानले सत्ता हातमा लिएपछि मानिसहरु दिनमा एक टुक्रा रोटी र पानीमा हरिया चीयाको भरमा समेत बाँच्न वाध्य भएका छन् । बालबालिका खान नपाएर तौल घट्न थालेको घटनाहरु बाहिर आउन थालेको छ । अहिले २ करोड भन्दा बढी अफगानी भोकमरीमा परेका छन् । त्यहाँको ५ प्रतिशत जनसंख्याले मात्र पेटभरी खान पाएको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुटेरेजका सहायक विशेष प्रतिनिधि डा। रामिज अल्काबारोभले उल्लेख गरेका छन् ।

अफगानिस्तानमा पत्रकार देखि शिक्षकहरु सबैभन्दा संकटमा परेका छन् । ६ हजारभन्दा बढी पत्रकारले रोजगारी गुमाएका छन् । हजारौंको संख्यामा शिक्षकहरु कामविहिन भएका छन् । महिलाहरुका लागि विद्यालय बन्द भएपछि थप रोजगारी खोसिएको छ । विशेषगरी महिलाहरुको रोजगारी खोसिएको छ ।

अफगानिस्तानमा सन् २०२२ मा १३ हजार ७ सय नयाँ जन्मिएका शिशुको मृत्यु भइसकेको तथ्यांक सार्वजनिक भएको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले उक्त रिपोर्ट सार्वजनिक गरेको हो । अफगानिस्तानमा बालबालिका अस्पतालमा बढी देखिन थालेका छन् ।

बालबच्चा नभएका कतिपय बाबुआमाले धेरै बच्चा भएकाबाट खरिद गर्न थालेका छन् । बालबालिकालाई पालनपोषणमा आर्थिक समस्या भएपछि विक्री गर्न थालेको खबरहरु प्रकाशित भइरहेका छन् । कतिपय बालिकाहरु रकम लिएर विवाहका नाममा बेचिन थालेका छन् । छोरीचेलीहरु बाबुआमाले बेच्न थालेका छन् । यसअघि युनिसेफले २ वर्ष अगाडि किशोरावस्थाका चेलीहरु विक्री गरिएको रिपोर्ट नै सार्वजनिक गरेको थियो ।

अफगानिस्तानमा २८ प्रतिशत महिलाको १८ वर्ष अघि नै विवाह हुने गरेको तथ्यांक युनिसेफले सार्वजनिक गरिसकेको छ । ३ महिना अघि १० वर्षकी अजिजा गुल भन्ने बालिकालाई उनकै बाबुले विक्री गरेको मिडिया रिपोर्ट समेत सर्वजनिक भएको छ । अर्का एक बाबुले ६ र ७ वर्षका छोरीहरुलाई बेचेका थिए । उनले विरामी पत्नीको उपचारका लागि छोरी विक्री गरेको घटना खुलेको थियो ।

बाबुआमाले नै छोरी विक्री गर्न थालेपछि कतिपय घरबाट भाग्न थालेका छन् । उनीहरु विक्री हुनुभन्दा घर छाड्नु नै उचित सम्झेर भागेको रिपोर्टहरु सार्वजनिक भएका छन् । ६ कक्षाभन्दा माथि विद्यालय शिक्षा तालिवानले बन्द गरेपछि त्यहाँ बालिकाहरु झन् जोखिममा परेका छन् ।-एजेन्सी

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com