विश्वभर ओमिक्रोनको बीए टु सबभेरियन्टको दबदबा, नयाँ छालको सामना गर्ने ५ तयारी
प्रकाशित मिति : चैत्र १६, २०७८ बुधबार
अहिले विश्वभर ओमिक्रोनको नयाँ सबभेरियन्ट बीए टुको दबदबा रहेको छ । युरोप र अमेरिकासहित विश्वभर कोरोना संक्रमण गराउने मुख्य भेरियन्टका रुपमा अहिले बीए टु उदाएको छ ।
यद्यपी यो भेरियन्टका कारण आउनसक्ने छालले कत्तिको नोक्सान गर्नसक्छ भन्नेबारे भने अहिले नै निष्कर्ष निकाल्न मुस्किल रहेको छ । यो भेरियन्टका कारण विश्वले विगतमा जस्तो लकडाउनको सामना गर्नुपर्ने सम्भावना भने देखिएको छैन ।
अमेरिकाका स्वास्थ्य अधिकारीहरुले बीए टु सबभेरियन्टका कारण अर्को मुख्य छाल आउने अपेक्षा गरेका छैनन् । किनभने चिसो मौषममा धेरै व्यक्तिहरु ओमिक्रोनबाट संक्रमित भएकाले उनीहरुमा सिकिस्त हुनबाट र अस्पताल भर्ना हुनबाट जोगाउन प्राकृतिक रुपमा प्रतिरोध क्षमता रहेको छ भने भ्याक्सिन लगाएकाहरुमा पनि प्रतिरोध क्षमता रहेको छ ।

नयाँ छालको सामना गर्ने ५ तयारी
कोरोनाविरुद्धको नयाँ छालको सामना गर्न उचित समयमा नै भ्याक्सिन लगाउन सुझाव दिइएको छ । ६५ बर्षभन्दा माथिका ७० प्रतिशतभन्दा कम अमेरिकनहरुलेमात्र बुस्टर डोज लगाएकाले बीए टुले असर गर्नसक्नेबारे चिन्ता व्यक्त गरिएको छ । त्यस्तै बर्षा ऋतुतिर बुस्टर डोज लगाएकाहरुको पनि प्रतिरोध क्षमता कमजोर हुँदै गएको छ । भ्याक्सिन नलगाएका र विगतमा संक्रमणका कारण प्राकृतिक रुपमा प्रतिरोध क्षमता बनेकाहरुका सन्दर्भमा बीए टु भेरियन्टले सहजै आक्रमण गर्नसक्ने देखिएको छ ।
त्यस्तै आफ्नो समुदायमा कोरोना संक्रमणको अवस्था के छ भन्नेबारे चनाखो रहन स्वास्थ्यविदहरुले सुझाव दिएका छन् । संक्रमण दर ५ प्रतिभन्दा बढी भएमा सचेत रहन भनिएको छ ।
आफूसँग प्रयाप्त मात्रामा गुणस्तरीय मास्क रहेको बारे विचार गर्न समेत सुझाव दिइएको छ । सरकारले विभिन्न फार्मेसीहरुबाट निशुल्क मास्क वितरण गरिरहेकाले त्यसबारे जानकारी हासिल गर्न र मास्क ल्याउन सुझाव दिइएको छ । त्यस्तै कोरोना परीक्षण किट समेत समयमै घरमा ल्याउन सुझाव दिइएको छ ।

रगतमा अक्सिनको मात्रा नाप्ने अक्सोमिटर उपकरण साथमा राख्न सुझाव दिइएको छ । अक्सिजनको मात्रा ९२ भन्दा तल झरेको खण्डमा अस्पताल जान आवश्यक छ । अक्सिजनको मात्रा कम भएमा कोभिड निमोनिया हुनसक्छ भने अन्य प्रकारका जटिलता समेत आउन सक्छन् । अक्सोमिटर ३० डलरमा अनलाइन र फार्मेसीमा किन्न सकिन्छ । एप्पलको घडी अक्सिजनको मात्रा नाप्नमा कम प्रभावकारी रहेको विज्ञहरुको सुझाव छ ।
कोरोना संक्रमण भएको खण्डमा अहिले अमेरिकामा मुखबाट लिन सकिने दुई प्रकारका एन्टीभाइरल औषधीहरु उपलब्ध छन् । सिकिस्त हुने उच्च जोखिममा रहेकाहरुलाई डाक्टरको सल्लाह अनुशार यी औषधीहरु दिइन्छ । फाइजरले बनाएको यो चक्की दिनमा ३ वटा २ पटकका दरले ५ दिनसम्म खानुपर्छ । १२ बर्षभन्दा माथिका व्यक्तिले यो औषकीको सेवन गर्न सक्छन् । त्यस्तै मर्कले बनाएको चक्की १८ बर्षभन्दा माथिका व्यक्तिले दिनमा ४ वटा २ पटकका दरले ५ दिनसम्म खानुपर्छ ।






