रुसी अदालतले फेसबुक र इन्स्टाग्रामलाई भन्यो ‘चरमपन्थी’
प्रकाशित मिति : चैत्र ७, २०७८ सोमबार
सरकारी समाचार एजेन्सी टासका अनुसार रुसको मस्को अदालतले इन्स्टाग्राम र मेटा (फेसबुक)को गतिविधिलाई ‘चरमपन्थी’ भनेको छ। अदालतले रूसमा दुवै प्लेटफर्मको सञ्चालनमा प्रतिबन्ध लगाएको छ।
रुसले यसअघि नै फेसबुकमाथि प्रतिबन्ध लगाएको छ । युक्रेनमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई पुटिन र उनको सेनाविरुद्ध हिंसाको आग्रह गर्ने सन्देशहरू पोस्ट गर्न अनुमति दिएको भन्दै रुसी अदालतले चरमपन्थीको संज्ञा दिएको बताइएको छ ।
रुससँगको व्यापार रोक्न युरोपलाई युक्रेनी राष्ट्रपतिको आग्रह
युक्रेनका राष्ट्रपति भोलोडिमीर जेलेन्स्कीले रुससँगको व्यापार बन्द गर्न युरोपेली देशहरूलाई अनुरोध गर्नुभएको छ ।
आफूमाथि झन्डै एक महिनादेखि आक्रमण गरिरहेको रुसलाई दबाबमा पार्नका लागि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले युरोपेली देशका नेताहरूलाई आग्रह गर्नुभएको हो ।
“कृपया रुससँग लड्नका लागि हामीलाई हतियार सहयोग चाहिएको छैन, हामीलाई तपाई सहयोग गर्न चाहनुहुन्छ भने रुससँगको तपाईहरूको व्यापार बन्द गरिदिए हुन्छ,” उहाँले भन्नुभयो ।
भिडियोमार्फत गरिएको सम्बोधनका क्रममा उहाँले रुससँग युरोपेली देशहरूले कुनै लेनदेन नगर्ने, आफ्ना सामान पनि उता नपठाउने र उताबाट पनि केही सामान आयात नगर्ने हो भने रुस दबाबमा पर्ने दाबी गर्नुभयो ।
“रुसलाई युक्रेनबाट भाग्न बाध्य बनाउन म सबैलाई अनुरोध गर्दछु,” युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भन्नुभयो । जर्मनीलाई नामै लिएर उहाँले जर्मनी र युरोपसँग रुसलाई दबाबमा पार्नसक्ने क्षमता भएको दाबी गर्दै त्यो प्रयोग गर्न अनुरोध गर्नुभयो । युरोपेली देशहरूका विदेश मन्त्रीहरूको बैठक चलिरहेका बेला उहाँले उनीहरूलाई नै लक्षित गरी यस्तो अनुरोध गर्नुभएको हो ।






