पेट्रोलियम मूल्यबृद्धिपछि राहत चेक वा ग्यास कार्ड पठाउनेबारे विचार गर्दै बाइडेन प्रशासन


प्रकाशित मिति : चैत्र ५, २०७८ शनिबार

अमेरिकामा पेट्रोलियम पदार्थको मूल्य उच्च भएपछि अमेरिकनहरुलाई सहयोग गर्नका लागि पेट्रोलियम पदार्थ किन्न मिल्ने ग्यास कार्ड पठाउनेबारे ह्वाइटहाउसले विचार गरेको जनाइएको छ । तर यो योजनाको प्रभावकारिताबारे भने संसदीय समितिहरुले प्रश्नहरु उठाएका छन् ।

पेट्रोलियम पदार्थमा मूल्यबृद्धिका कारण बाइडेन प्रशासनलाई ठूलो राजनीतिक दवाव श्रृजना भएको छ । रसियाबिरुद्धको पश्चिमा प्रतिबन्ध लगायतका कारण यो अवस्था अझ खराब बन्दै गएको छ । यो अवस्थामा डेमोक्र्याट्सहरु जनतालाई केही राहतका कार्यक्रम ल्याउन चाहन्छन् ।

ह्वाइटहाउसले आईआरएसमार्फत ग्यास कार्ड पठाउनेबारे विचार गरेपनि यसरी कार्ड पठाउँदा मुद्रास्फीति अझ बढ्ने र ट्याक्स सिजनमा आईआरएसको भार पनि बढ्ने भन्दै विरोध भएको हो । आईआरएको भार बढ्दा ट्याक्स रिटर्नको काम अझ ढिलो हुने अवस्था आउने तर्क समेत गरिएको छ ।

ह्वाइट हाउस प्रवक्ता वेदान्त पटेलका अनुशार अहिलेको अवस्थाको सम्बोधन गर्न विभिन्न योजनाहरुबारे छलफल भइरहेको छ । राहत चेक पठाउने सन्दर्भमा पनि छलफल भएको जनाइएको छ । त्यस्तै तेलको माग कम गर्न इथानोलको प्रयोग बढाउने, सकृय नरहेका तेल कम्पनीहरुको संघीय लिज रद्द गर्ने लगायतबा विषयमा पनि विचार भइरहेको छ ।

केही डेमोक्र्याट्सहरुले संघीय ग्यास ट्याक्स हटाउने, पेट्रोल प्रति ग्यालेन ४ डलरभन्दा माथि पुगेमा संघीय सहायता उपलब्ध गराउने लगायतका विषय समेटिएको बिल अगाडि बढाइसकेका छन् । अमेरिकामा मुद्रास्फीति यो बर्षको मध्यसम्मै रहने अवस्था देखिएकाले यसले आगामी मध्यावधी चुनावलाई प्रभाव पार्नसक्ने देखिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com