रुसको हवाई हमलाले ध्वस्त थिएटरबाट १३० जनाको उद्धार, १३०० भन्दा बढी मानिस फसेको अनुमान
प्रकाशित मिति : चैत्र ४, २०७८ शुक्रबार
रुसी हवाई आक्रमणको निशाना बनेको मारिउपोल थिएटरको भग्नावशेषबाट अहिलेसम्म १३० जनाको जिवितै उद्धार गरिएको छ । अधिकारीहरुका अनुसार सयौं मानिसहरु यस थिएटरको बेसमेन्टमा आश्रय लिएका थिए ।
युक्रेनका मानवअधिकार आयुक्तका अनुसार यो थिएटरमा रुसले बम विष्फोट गराएको थियो जसका कारण यो पूर्ण रुपमा ध्वस्त भएको छ । मानवअधिकार आयुक्त लुडिमिला डेनिसोभाले एक टेलिभिजन अन्तरवार्तामा राहत र उद्धार कार्य अझै जारी रहेको बताइन्। अधिकारीहरुका अनुसार थिएटरमा अझै १३०० भन्दा बढी सर्वसाधारण मानिस र बालबालिका फसेको हुनसक्छ ।
युक्रेनको रणनीतिक रूपमा महत्वपूर्ण सहर मारिउपोल रुसको घेराबन्दीमा छ र युद्धको सुरुवातदेखि नै रुसी सेनाले यहाँ भीषण आक्रमण गर्दै आएको छ । रिपोर्टका अनुसार यस सहरमा धेरै मानिसले ज्यान गुमाईसकेका छन् ।





