न्युयोर्क र डिसीमा ५ जना होमलेसमाथि आक्रमण गर्ने सिरियल शुटर वासिंटन डिसीमा पक्राउ
प्रकाशित मिति : चैत्र १, २०७८ मंगलबार
न्युयोर्क र वासिंटन डिसीमा ५ जना होमलेसमाथि गोली र चक्कु हान्ने व्यक्तिलाई वासिंटन डिसीमा पक्राउ गरिएको छ । न्युयोर्क र डिसी प्रहरीले ७० हजार डलर इनाम तोकेर संदिग्धको खोजी गरिरहेको थियो ।
मानसिक बिरामीको इतिहास भएको ३० बर्षको व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो । उक्त व्यक्तिको विगतमा पनि आक्रमणको इतिहास रहेको जनाइएको छ । उक्त व्यक्तिको नाम जेराल्र्ड बे्रभर्ड तृतीय रहेको आफन्त र प्रहरी अधिकारीहरुले बताएका छन् । दक्षिणपूर्वी वापंिटनमा विहान साढे २ बजे उक्त व्यक्तिलाई पक्राउ गरिएको हो ।
जेराल्र्ड बे्रभर्ड तृतीयका बाबु जेराल्र्ड बे्रभर्ड जुनियरले आफ्नो छोरा पक्राउ परेको बताएका छन् । उनले आक्रमणमा परेकाहरु र परिवारहरुप्रति समवेदना व्यक्त गरेका छन् । मानसिक स्वास्थ्य प्रणाली र अपराध न्याय प्रणालीसँग बारम्बार सम्पर्क हुँदा पनि आफ्ना छोराको मानसिक बिरामीको कहिले सम्बोधन नगरिएको उनले गुनासो गरेका छन् ।

गत शनिबार विहान म्यानहटनको शोहो नजिकै उक्त बन्दुकधारीले एकजना होमलेसलाई गोली हानेको थियो । सडकमा सुतेको अवस्थामा ३८ बर्षका होमलेसलाई गोली हानेर घाइते बनाइएको थियो ।
त्यसको झण्डै एकघण्टापछि लाफायट स्ट्रीट नजिकै स्लीपिङ ब्यागमा बेरिएका होमलेसमाथि गोली हानिएको थियो । बन्दुधकारीले पहिले स्लीपिङ ब्यागमा सुतेका होमलेसलाई लात्ति हानेको थियो । त्यसपछि यताउता हेरेर बन्दुक निकाल्दै टाउकोमा ताकेर हानेको थियो ।

गत मार्च ३ र मार्च ८ मा वासिंटन डिसीमा २ जना होमलेसमाथि गोली हानिएको थियो । त्यसपछि अर्को होमलेस गत बुधबार गोली र चक्कुप्रहारबाट मृत अवस्थामा भेटिएका थिए । वासिंटन डिसी र न्युयोर्कका यी घटनामा २ जनाको मृत्यु भएको थियो ।






