न्युयोर्क सिटीमा होमलेसमाथि श्रृंखलाबद्ध गोली प्रहार, प्रहरीबाट ‘सिरियल शुटर’को खोजी
प्रकाशित मिति : फाल्गुन २९, २०७८ आईतबार
न्युयोर्क सिटीको म्यानहटनमा आइतबार अर्का होमलेस पुरुषको गोली हानी हत्यापछि प्रहरीले सम्भावित सिसियल शुटरको खोजी गरिरहेको छ । म्यानहटनको ट्राइबेकामा ४३ बर्षका होमलेसको शव आइतबार बेलुका साढे ६ बजेतिर चिपोट्ले रेष्टुरेण्टको बाहिरपट्टी स्लीपिङ ब्यागभित्र भेटिएको थियो ।
ती होमलेसको पेटमा गोली हानिएको थियो । अनुसन्धानकर्ताहरुले उक्त व्यक्तिमाथि कहिले गोली हानिएको हो भन्ने पत्ता लगाउन नजिकका सीसीटिभी क्यामेराहरुमा कैद भिडियोहरु हेरिरहेका छन् । दुईजना होमलेसहरुमाथि यसरी नै हत्या भएको घटनापछि यो घटना भएको हो ।

शनिबार विहान म्यानहटनको शोहो नजिकै कालो कपडा लगाएको बन्दुकधारीले एकजना होमलेसलाई गोली हानेको थियो । सडकमा सुतेको अवस्थामा ३८ बर्षका होमलेसलाई गोली हानेर घाइते बनाइएको थियो । घाइतेको अस्पतालमा गम्भिर अवस्थामा उपचार भइरहेको छ ।
त्यसको झण्डै एकघण्टापछि लाफायट स्ट्रीट नजिकै स्लीपिङ ब्यागमा बेरिएका होमलेसमाथि गोली हानिएको भिडियो सीसीटिभी क्यामेरामा कैद भएको छ । बन्दुधकारीले पहिले स्लीपिङ ब्यागमा सुतेका होमलेसलाई लात्ति हानेको थियो । त्यसपछि यताउता हेरेर बन्दुक निकाल्दै टाउकोमा ताकेर हानेको थियो ।
यसै महिना वासिंटन डिसीमा पनि यस्तै प्रकारका तीनवटा घटना भएका थिए । मार्च ३ र मार्च ८ मा वासिंटन डिसीमा २ जना होमलेसमाथि गोली हानिएको थियो । त्यसपछि अर्को होमलेस गत बुधबार गोली र चक्कुप्रहारबाट मृत अवस्थामा भेटिएका थिए । प्रहरीले न्युयोर्क र वासिंटन डिसीका घटना सम्बन्धित भए नभएकोबारे अनुसन्धान गरिरहेको छ ।






