बेलायतमा खुल्यो पहिलो ‘स्मार्ट’ जेल,कैदीहरुका लागि यतिधेरै सुविधा
प्रकाशित मिति : फाल्गुन २४, २०७८ मंगलबार
बेलायतमा पहिलो ‘स्मार्ट’ कारागार खोलिएको छ । यसको डिजाइन आधुनिक प्रविधिसहित गरिएको छ । यसबाट अपराधमा कमी आउने अपेक्षा गरिएको छ ।
मध्य इङ्गल्याण्डको नर्थह्याम्प्टनशायरको वेलिंगबरोमा रहेको हर म्याजेस्टीज प्रिजन (एचएमपी) फाइभ वेल्सका कक्षहरूलाई ‘कोठा’ भनिनेछ र पुनर्वास प्रक्रियाको भागमा रहेका कैदीहरूलाई ‘बासिन्दाहरू’ भनिनेछ।
कारागारमा कैदीबन्दीका लागि कम्प्युटर र ट्याब्लेटको व्यवस्था
कारागारमा एक हजार ७०० कैदीबन्दी राख्न सकिने छ । यहाँ उनीहरुलाई सीप सिकाउनको लागि जिम, स्नुकर टेबल, टेबल टेनिस र कम्प्युटर ट्याब्लेट पनि हुनेछ।
बेलायतको न्याय विभागले कैदीहरूलाई रिहा गरेपछि शिक्षा, तालिम र रोजगारी प्रदान गर्ने यो देशको पहिलो जेल भएको बताएको छ। उनले यस्ता उपायले अपराध न्यूनीकरण हुने र अपराधी रिहा भएपछि अपराधिक संसारमा फर्किने सम्भावना कम हुने बताए ।
यस कारागारमा २४ वटा कार्यशाला र ठूलो संख्यामा कक्षा सञ्चालन हुनेछ । कैदीहरूका लागि शिक्षाका साथै रोजगारीसम्बन्धी तालिममा हुने भएकाले सबैले भाग लिनेछन् ।
कारागारले लागुऔषध दुर्व्यसनी कैदीहरूलाई स्वच्छ जीवन बिताउन कसरी मद्दत गर्न सक्छ भन्ने कुरालाई ध्यानमा राखेर योजना बनाएको छ । २०० भन्दा बढी कैदीबन्दीहरूले १६ हप्ताको कार्यक्रममा भाग लिनेछन् जसले तिनीहरूलाई लागूपदार्थ छोड्न र स्थायी रुपमा निको हुन मद्दत गर्नेछ।






