प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्रीबीच कुराकानी,युक्रेनलाई समर्थन गरेकोबारे चासो
प्रकाशित मिति : फाल्गुन १७, २०७८ मंगलबार
प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच टेलिफोन संवाद भएको छ । केही दिनअघि नेपालले युक्रेनलाई समर्थन गरेको थियो । फोन वार्तामा रुस युक्रेनको युद्धमा नेपालले युक्रेनलाई गरेको समर्थन र एमसीसीका बिषयमा छलफल भएको विदेशमन्त्रीको सचिवालयले ट्वीटगर्दै जानकारी गराएको छ ।
Good call today with Nepal’s Prime Minister @SherBDeuba to discuss Russia’s unprovoked attack and our support for Ukraine's sovereignty and territorial integrity. We will continue to work closely together on economic development and regional challenges.
— Secretary Antony Blinken (@SecBlinken) March 1, 2022
यसैगरी नेपालस्थित अमेरिकी दुतावासले पनि अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिंकेनले प्रधानमन्त्री शेरबहादुर देउवासँग कुराकानी गरेको बताएको छ । कुराकानीका क्रममा उहाँहरूले रूसले युक्रेनमाथि गरेको अकारण र सुनियोजित हमला समेत संयुक्त राष्ट्रसंघको बडापत्रमा उल्लेख राज्यहरूको सार्वभौमिकता र अखंडताका सिद्दान्तहरूको सम्मान लगायतका बिषयमा छलफल गरेको सामाजिक सञ्जाल मार्फत जानकारी दिएको छ ।
छलफलमा क्रममा ‘विदेशमन्त्री ब्लिंकेनले नेपाल र अमेरिकाबिचको ७५ बर्ष लामो अटुट सम्बन्धका विविध पक्षहरूमाथि चर्चा गर्नुहुँदै हालसालै मिल्लेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)मा अघि बढ्न नेपालले गरेको निर्णयले बिद्युतीय प्रसारण लाइन र सडक परियोजनासँग रोजगारी सृजना, पूर्वाधार निर्माण, तथा नेपालीहरूको जीवनस्तर उन्नतिमा भूमिका खेल्ने’ कुराकानी भएको भनिएको छ । कुराकानीकै क्रममा नेताद्वयबिच कोभीड्महामारी र जलवायु परिवर्तनका असरहरूविरूद्धको लडाईंलाई अझै सशक्त बनाउने सहमति भएको जानकारी दिएको छ ।
रुसी सेनाको आक्रमण रोक्न युक्रेन विगत ६ दिनदेखि लडिरहेको छ । रुसले देशको दोस्रो ठूलो सहर खार्किवमा ठूलो हमला गरेको छ, जहाँ मानिस मारिएका छन् ।
रुसी अतिक्रमणविरुद्ध उभिएपछि देशभित्र एक नायकका रूपमा उदाएका राष्ट्रपति जेलेन्स्कीले लडाइँ रोकिए मात्रै युद्धविराम सम्बन्धी वार्ता गम्भीर हुनसक्ने सीएनएन र समाचार संस्था रोयटर्ससँग भने।






