अण्डरएजसँग यौन: अमेरिकामा ३७८ वर्षको जेल सजाय भोग्दै एक नेपाली, अर्कालाई १० बर्ष कैद
प्रकाशित मिति : फाल्गुन १५, २०७८ आईतबार
अमेरिकामा कैयन नेपालीहरु अण्डरएजसँग यौन सम्पर्क गरेको वा गर्ने प्रयास गरेका कारण फस्ने गरेका घटनाहरु नयाँ होइनन् । उनीहरुमध्ये कैयनले जेल सजाय काट्नुपरेको समेत छ भने एकजना नेपाली मस्ट वाण्टेड सुचीमा समेत रहेका छन् ।
गतबर्षको जुलाईमा ३२ बर्षका नेपाली सञ्जय लामालाई अमेरिकाको अदालतले संघीय जेलमा १० बर्षको सजाय फैसला गर्यो । जसमध्ये १० बर्ष उनले संघीय जेलमा कैद सजाय भुक्तान गर्नुपर्छ भने अर्को १० बर्ष उनलाई जीपीएस लगाएर छाडिनेछ । अमेरिकाको फ्लोरिडामा पक्राउ परेका २९ बर्षका नेपाली सञ्जय लामाले १२ बर्षकी बालिकासँग यौन सम्पर्क गर्न खोजेका थिए । सन् २०१९ को सेप्टेम्बर २५ मा पक्राउ परेका उनी २०२१ को मार्च २६ मा दोषी ठहर भएका थिए भने सन् २०२१ को जुलाईमा उनलाइै कैद सजाय सुनाइएको थियो ।
लामाले च्याटमा १२ बर्षकी बालिका ठानेर कुरा गरेका व्यक्ति अण्डरकभर एफबीआई एजेण्ट थिए । जब एजेण्टले च्याटमा आफू १२ बर्षकी बालिका भएको बताएका थिए, त्यसपछि पनि लामा उनलाई भेट्नका लागि तयार भएर गएका थिए । मोटरसाइकल चढेर बालिका भेट्न गएका लामा एफबीआईको फन्दामा परेका थिए ।
बालबालिकाबिरुद्ध यौन दुब्र्यबहार हुन नदिन अमेरिकी सरकारले २००६ देखि यसरी इन्टरनेटमा नक्कली बालबालिकाका एकाउण्ट बनाएर बालबालिकासँग यौन सम्बन्ध राख्न चाहनेहरुलाई कारवाही गर्दै आएको छ । जसमा कैयन नेपालीहरु समेत पर्दै आएका छन् ।
त्यस्तै १६ बर्षभन्दा कम उमेरकी बालिकासँग यौन सम्पर्क गरेको आरोपमा अर्का ४३ बर्षका नेपाली अविशेष सिंहलाई अमेरिकाले मस्ट वाण्टेडको सुचीमा राखेको छ । अण्डरएजलाई यौन दुब्र्यबहार, बलात्कार र मुख मैथुनको प्रयास गरेको अभियोग उनीमाथि रहेको छ ।
यस्तै उमेर नपुगेकी बालिकालाई ७०० भन्दा बढी पटक बलात्कार गरेको अभियोगमा ३७८ वर्ष जेल सजाय काटिरहेका नेपाली पनि अमेरिकी जेलमा छन्। उनी हुन्, जनकपुरका अजयकुमार देव। अजय पेशाले साक्रामेन्टोस्थित खानेपानी संस्थानका इन्जिनियर थिए।
पाँच वर्षदेखि हरेक साता तीन पटकसम्म बलात्कार गरेको र पाँच वर्षमा ७३८ पटक बलात्कार गरेको मुद्दामा सन् २००९ मा क्यालिफोर्नियाकै स्थानीय जिल्ला अदालतले उनलाई दोषी ठहर गर्दै ३७८ वर्ष जेल सजाय सुनाएको थियो । बालिका १५ बर्ष नलाग्दैदेखि अजयले बलात्कार गर्न थालेको र १९ बर्ष नपुगुन्जेलसम्म पनि बलात्कार गरेको उनीमाथि अभियोग थियो । सन् १९९९ देखि सन् २००५ सम्म बलात्कार गरेको अभियोगमा अजयलाई सन् २००९ मा सजाय सुनाइएको थियो ।
यी बाहेक अन्य कैयन नेपालीहरु पनि कम उमेरका बालिकासँग यौन सम्पर्क गर्न खोज्दा वा गर्दा अमेरिकाको जेलमा पुग्ने गरेका छन् भने कैयनले अमेरिकाबाट देश निकालाको सामना समेत गर्नुपरेको छ ।
नेपालमा शारीरिक सम्पर्कका लागि १८ बर्ष र विवाहका लागि २० बर्ष
नेपालको विद्यमान कानून अनुशार शारीरिक सम्पर्कका लागि १८ बर्ष उमेर तोकिएको छ भने विवाहका लागि २० वर्ष उमेर तोकिएको छ । अर्थात् सहमतिमा यौनसम्पर्कका लागि १८ बर्ष उमेर पुगेको हुनुपर्छ भने विवाह गर्नका लागि २० बर्ष उमेर पुगेको हुनुपर्ने प्रावधान छ ।
२० बर्ष उमेर नपुगी विवाह गर्न, गराउन नहुने र त्यस्तो विवाह स्वत बदर हुने कानूनी प्रावधान छ । र, त्यस्तो कसुर गर्नेलाई ३ बर्षसम्म कैद र ३० हजार रुपैया जरिवानाको प्रावधान रहेको छ ।
त्यस्तै कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भएपनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जवर्जस्ती करणी गरेको मानिने कानूनी प्रावधान छ । १८ वर्ष मुनिका बालविवाह भए पछि भएको यौन सम्पर्क जवर्जस्ती करणीको कसूर अन्तरगत पर्दछ र यो फौज्दारी अपराध मानिन्छ । जवर्जस्ती करणी गरेकोमा उमेरअनुसार फरक फरक सजायको व्यवस्था रहेको छ ।

१० वर्षभन्न्दा कम उमेरकी बालिका भए १६–२० वर्षसम्म कैद, १० वर्ष वा दश वर्षभन्दा बढी १४ वर्षभन्दा कम उमेरकी बालिका भए १४–१६ वर्षसम्म कैद, १४ वर्ष वा १४ वर्ष भन्दा बढी १६ वर्षभन्दाकम उमेरकी बालिका भए, १२–१४ वर्षसम्म कैद, १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दाकम उमेरकी महिला भए, १०–१२ वर्षसम्मकैद, १८ वर्ष वा १८ वर्षभन्दा बढी उमेरकी महिलाभए, ७ –१० वर्षसम्म कैदको व्यवस्था रहेको छ ।
कानूनमा शारीरिक सम्पर्कबाट शिशु जन्मेमा विवाह भएको मानिने प्रावधान छ । उमेरको प्रावधानका बाबजुत पनि कुनै पुरुषसँगको शारीरिक सम्पर्कबाट महिलाले गर्भधारण गरी शिशु जन्मिएको प्रमाणित भएमा त्यस्तो पुरुष र महिला बीच स्वतः विवाह भएको मानिने कानूनी प्रावधान रहेको छ ।
अमेरिकामा अधिकांश राज्यमा विवाहका लागि १८ बर्ष पूरा हुनुपर्ने प्रावधान
अमेरिकामा अधिकांश राज्यमा विवाहका लागि १८ बर्ष पूरा हुनुपर्ने प्रावधान रहेको छ । नेब्रास्कामा १९ र मिसिसिपीमा २१ बर्ष तोकिएको छ । सहमतिमा यौन सम्पर्कका लागि भने फरक फरक राज्यमा फरक फरक प्रावधान रहेको छ । न्युयोर्कमा १७ बर्ष उमेर पुगेपछि सहमतिमा यौन सम्पर्क गर्न सकिन्छ भने कतिपय राज्यमा १६ र १८ बर्ष तोकिएको छ । कतिपय राज्यमा उमेरको फरक थोरै भएको वा समानता भएको सन्दर्भमा केही छुटहरु दिइएको छ ।
बेलायतमा पनि अधिकांश क्षेत्रमा विवाहका लागि १८ बर्ष उमेर पुगेको हुनुपर्ने प्रावधान रहेको छ । बंगालादेशमा केटाको उमेर २१ र केटीको १८ हुनुपर्ने प्रावधान रहेको छ । त्यस्तै चीनमा केटोको उमेर २२ र केटीको उमेर २० हुनुपर्ने प्रावधान रहेको छ । युरोपका प्राय सबै देशमा स्वेच्छिक रुपमा विवाहका लागि केटाकेटीको उमेर १८ बर्ष पुगेको हुनुपर्ने प्रावधान रहेको छ । कैयन देशमा विवाहका लागि फरक र समहमतिमा यौन सम्पर्कका लागि फरक फरक उमेर तोकिएको छ ।






