अमेरिकाको राष्ट्रपतीय चुनावका लागि मताधिकार प्राप्त नेपाली २६ हजार


प्रकाशित मिति : भाद्र १३, २०७३ सोमबार

अमेरिकामा राष्ट्रपतीय चुनावका दुई मुख्य प्रतिस्पर्धीहरु हुन् हिलारी क्लिन्टन र डोनाल्ड ट्रम्प । डेमोक्रेटिक पार्टीका उम्मेदवार हिलारी र रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड यतिबेला शशक्त ढंगले चुनावी मैदानमा उत्रिएका छन् । यी उम्मेदवारहरुलाई अमेरिकामा रहेका नेपालीहरुले पनि समर्थन र विरोध गरिरहेका छन् । हिलारीको पक्षमा रहेका अमेरिकन नेपालीहरुको संख्या ट्रम्पका पक्षमा रहेका नेपालीहरुको भन्दा तुलनात्मक रुपमा धेरै देखिएको छ । तर पनि दुबै उम्मेदवारहरुलाई समर्थन गर्ने नेपाली अमेरिकनहरुको संख्या उल्लेख्य रहेको छ ।

अमेरिकाको राष्ट्रपति छान्न आगामी नोभेम्बर ८ तारिख मंगलबार चुनाव हुनेछ । ५८ औं राष्ट्रपतीय चुनावमार्फत अमेरिकी जनताले ४५ औं राष्ट्रपति छान्नेछन्  । जुन चुनावी प्रकृयामा हजारौं नेपाली अमेरिकनहरु पनि सहभागी हुनेछन् ।

अमेरिकामा रहेका नेपालीहरुले पनि यो चुनावलाई निकै उत्सुकताका साथ हेरिरहेका छन् । अमेरिकाको राष्ट्रपतीय चुनावमा मतदान गर्नका लागि १८ बर्ष उमेर पुगेको (कतिपय राज्यमा १७ बर्ष ) अमेरिकी नागरिकता प्राप्त व्यक्ति हुनुपर्छ । यो योग्यता पूरा गरेका नेपालीहरु अमेरिकामा लगभग २६ हजारको हाराहारीमा रहेको अमेरिकी सरकारको तथ्यांकले देखाएको छ । अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अनुशार अहिलेसम्म अमेरिकी नागरिकता लिने नेपालीहरु २६ हजारको हाराहारीमा रहेका छन्, जसमा अमेरिकामा नै जन्मेकाहरुको तथ्यांक समावेश छैन । चुनाव भन्नासाथ अत्याधिक चासोका साथ हेर्ने नेपालीहरु अमेरिकी राष्ट्रपतीय चुनावमा पनि सकृय रुपमा सहभागी हुँदैछन् ।

सुरुदेखि सन् २०१४ सम्मको तथ्यांक हेर्दा अमेरिकी चुनावमा मताधिकारसहित २१ हजार १ सय ७४ जना नेपालीहरुले अमेरिकी नागरिकता लिएको देखिन्छ भने त्यसपछि झण्डै ५ हजार नेपालीहरुले अमेरिकी नागरिकता लिएको युएससीआईएसले जनाएको छ । २६ हजारको हाराहारीमा रहेका नेपालीहरु र अमेरिकामा जन्मेर १८ बर्ष पुरा गरिसकेका नेपालीहरुको संख्यालाई समेत जोड्ने हो भने अमेरिकी चुनावमा मतदाताका रुपमा भाग लिन योग्य नेपाली मुलका अमेरिकनहरुको संख्या यो भन्दा पनि धेरै हुन आउँछ ।

सन् २०१५ मा अमेरिकाभरबाट ७ लाख २९ हजार ९ सय ९५ जना विश्वभरका आप्रवासीहरुले अमेरिकी नागरिकता लिएका थिए जसमध्ये नेपालीहरुको संख्या ३ हजारको हाराहारीमा रहेको थियो । चालु आर्थिक बर्ष २०१६ को अहिलेसम्म झण्डै २ हजार नेपालीहरुले अमेरिकी नागरिकता लिइसकेका छन् , जो अमेरिकी राष्ट्रपति छान्न अधिकारप्राप्त छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com