न्युयोर्क ट्रेन स्टेशनमा सुरक्षा योजना घोषणापछि ६ जनामाथि चक्कुप्रहार, योजना कार्यान्वयन आजदेखि


प्रकाशित मिति : फाल्गुन ९, २०७८ सोमबार

न्युयोर्क सिटीका मेयर एरिक आडम्सले न्युयोर्कका ट्रेन र प्लेफर्ममा बासस्थान बनाउने होमलेसहरुलाई हटाउने नयाँ सुरक्षा योजना घोषणा गरेयता न्युयोर्क सिटीका ट्रेन स्टेशनमा कम्तीमा ६ जनामाथि चक्कु प्रहार भएको छ । पहिलो आक्रमण मेयर आडम्सले शुक्रबार नयाँ सुरक्षा योजना घोषणा गरेको केही घण्टापछि बेलुका ५ बजे नै भएको थियो ।

न्युयोर्क राज्यकी गर्भनर क्याथी होचुल र न्युयोर्क सिटीका मेयर आडम्सले १७ पेज लामो सबवे सुरक्षा योजना सार्वजनिक गरेको २४ घण्टाभित्रै ५ जनामाथि चक्कु प्रहारका घटना भए । शनिबारमात्र ४ वटा चक्कु प्रहारका घटना भएका हुन् । छैठौं व्यक्तिमाथि आइतबार बेलुका क्यानल स्ट्रीट नजिक ६ नम्बर ट्रेन स्टेशनमा चक्कु प्रहार भएको हो ।

मेयरको सुरक्षा योजना सोमबारदेखि कार्यान्वयनमा आएको छ । आजैदेखि प्रहरीले भाडा छल्नेहरुलाई पनि टिकट दिन सुरु गर्नेछ । त्यस्तै प्रहरीले एउटाभन्दा धेरै सिट ओगटेर ट्रेनमा सुत्नेलाई पनि त्यसो गर्नबाट रोक्नेछन् । फोहोरको थुप्रो बोकेर ट्रेनभित्र चढ्ने होमलेसहरुलाई पनि त्यहाँबाट हटाइनेछ । होमलेसहरुलाई हटाउनका लागि थप प्रहरी र सामाजिक कार्यकर्ताहरुको समुह हुनेछ ।

न्युयोर्कका ट्रेन र प्लेटफर्ममा भएका कैयन घटनामा होमलेसहरुको संलग्नता बढेको सन्दर्भमा राज्य र स्थानीय सरकारले उनीहरुले ट्रेन र प्लेटफर्ममा बासस्थान बनाउनबाट हटाउने योजना ल्याएको हो । यात्रुमाथि आक्रमण गर्ने र ट्रेनको लिकमा धकेल्ने कैयन घटनामा होमलेसहरुको संलग्नता रहेको छ ।

हालै न्युयोर्कको टाइम्स स्क्वायरमा ४० बर्षकी महिलालाई ट्रेनको लिकमा धकेल्ने काममा होमलेसको संलग्नता रहेको थियो । उक्त व्यक्तिलाई हत्या अभियोगमा मुद्दा चलाइएको छ । उक्त घटना लगत्तै न्युयोर्कका मेयर एरिक आडम्सले समेत आफू न्युयोर्क सिटीको ट्रेन चढ्न सुरक्षित अनुभव नगर्ने बताएका थिए ।

होमलेसहरुले एउटाभन्दा बढी सिट ओगटेर बस्ने, ट्रेनमै सुत्ने, अन्य यात्रुहरुप्रति आक्रमक हुने र यात्रुहरुतिर फोहोर फ्याक्ने जस्ता गतिविधि गर्दै आएका छन् । मानसिक रुपमा समस्या समस्या भएका उनीहरुलाई अब अस्पतालमा पठाइनेछ ।

आफू वा अरुका लागि खतरा रहेका व्यक्तिहरुलाई अनिच्छुक भएको खण्डमा समेत अस्पतालहरुमा भर्नाका लागि पठाइनेछ । आफूलाई जे मन लाग्यो त्यही गर्ने दिन समाप्त भएको तथा यात्रुहरुले आफ्नो मेट्रो कार्ड प्रयोग गरेर नियमपूर्वक ट्रेन चढ्नुपर्ने र गन्तव्यमा झर्नुपर्ने मेयर एरिक आडम्सले बताएका छन् ।

सन् २०१९ को तुलनामा २०२१ मा न्युयोर्क सिटीको सबवे ट्रेन प्रणालीमा हिंश्रक अपराधका घटनामा उल्लेख्य बृद्धि भएको थियो । जघन्य अपराधका घटनामा समेत २५ प्रतिशत बृद्धि भएको छ । सन् २०२१ मा न्युयोर्कको ट्रेनको लिकमा ३० जनालाई धकेलिएको थियो । सन् २०१९ मा २० जना र सन् २०१७ मा ९ जनालाई ट्रेनको लिकमा धकेलिएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com