कतारसँग सम्बन्धविच्छेद गर्ने मुलुक ९ पुगे


प्रकाशित मिति : जेष्ठ ३१, २०७४ बुधबार

जेष्ठ ३१, २०७४- खाडी मुलुक कतारसँग कूटनीतिक सम्बन्धविच्छेद गर्ने मुलुकको संख्या ९ पुगेको छ । कतारसँग सम्बन्धविच्छेद गर्ने मुलुकमा सेनेगल र मौरिटानिया पनि थपिएका हुन् ।

यसअघि साउदी अरब, संयुक्त अरब इमिरेटस् (यूएई), बहराइन, इजिप्ट, यमन, लिबिया र माल्दिभ्सले सम्बन्धविच्छेद भएको घोषणा गरेका थिए । यस्तै, जोडर्न र जिबुटीले पनि कतारसँगको कूटनीतिक सम्बन्धलाई घटाएका छन् । कतारले आतंकवादी समूहलाई सहयोग गरेको आरोप लगाउँदै ती मुलुकले सम्बन्धविच्छेद गरेका हुन् ।

यसैबीच, रूसले साउदी अरब तथा उसका सहयोगी मुलुकहरूले कतारविरुद्ध गरेको अवरोधले सिरियाको शान्तिप्रक्रियालाई थप कठिन बनाउने चेतावनी दिएको छ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले खाडीको कूटनीतिक समस्याबारे साउदी राजा सलमानसँग टेलिफोन वार्ता गरेपछि क्रेमलिनले विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो ।

टर्कीका राष्ट्रपति रेसेप तायिप इर्दोगानले पनि खाडी संकट समाधानका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्न साउदी राजा सलमान विन अब्दुलाजिज अल साउदसँग आग्रह गरेका छन् । उनले कतारले टर्कीसँगै आतंकवादी संगठनविरुद्ध दृढ अडान राखेको पनि स्मरण गराएका छन् ।

यता साउदी राजा सलमानसँगको सोमबारको भेटमा पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले साउदीको सार्वभौमसत्ता र प्रादेशिक अखण्डताका पक्षमा पाकिस्तानी जनता र सरकारको समर्थन रहेको जनाएका छन् ।

‘कारण थाहा छैन’
कतारका विदेशमन्त्री शेख मोहम्मद विन अब्दुलरहमान अल थानीले साउदी अरब नेतृत्वमा कतारलाई आर्थिक नाकाबन्दी लगाइनुको कारण अझै थाहा नभएको बताएका छन् ।

कतारी समाचार समितिका अनुसार विदेशमन्त्री थानीले कतारले कुनै पनि प्रकारको दबाब स्वीकार नगर्ने पनि बताएका छन् । फ्रान्सको पेरिसमा बोल्दै उनले समस्या समाधानका लागि युरोपेली मध्यस्थताको कुनै योजना नभएको स्पष्ट पारेका छन् ।

अवरोध छैन : साउदी अरब
दोहा (एपी)– साउदी अरबका विदेशमन्त्री अदेल अल–जुबिरले कतारमाथि कुनै पनि प्रकारको अवरोध नभएकोमा जोड दिँदै आवश्यक परे आफ्नो देशले खाद्यान्न र औषधि आपूर्ति गर्ने बताएका छन् ।

अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनसँगको भेटवार्ताअघि बोल्दै उनले कतारका बन्दरगाह र विमानस्थलहरू खुला रहेको बताएका हुन् ।

उनले कतारले आवश्यक परेका बेला सामान आपूर्ति र निर्यात गर्न पनि सक्ने बताए । दुई देशमा रहेका परिवारलाई आवतजावत गर्न पनि साउदी अरबले स्वीकृति दिएको जुबिरले उल्लेख गरे । उनले साउदी मानवीय सहायता एजेन्सी ‘किङ सलमान सेन्टर’ मार्फत कतारलाई खाद्यान्न र औषधि आपूर्ति गर्न पनि इच्छुक रहेको बताए ।
Source : Ekantipur

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com