‘चार देश जोड्न सक्छ विराटनगरले’


प्रकाशित मिति : जेष्ठ ३०, २०७४ मंगलबार

जेष्ठ ३०, २०७४

काठमाडौंपछिको पुरानो, ठूलो सहर भएर पनि अरुभन्दा ढिलोगरी महानगर घोषणा भएकामा विराटनगर एकैपल्ट खुसी र दु:खी छ । त्यसमाथि सर्वोच्च अदालतको अन्तरिम आदेशले वरपरका गाउँपालिका र नगरपालिका समाहित गर्न रोक्दा यसलाई पहिले उपमहानगर हुँदाकै क्षेत्रफलमा महानगर चलाउनुपर्ने बाध्यता छ । झन्डै आधा दर्जन प्रधानमन्त्री अनि प्रभावशाली मन्त्रीहरु पाएको यो सहर ज्ञान, बौद्धिकताका लागि चिनिए पनि विकास पूर्वाधार रूग्ण बन्दा कुण्ठितसमेत बन्न पुगेको छ । हुलाकी मार्ग हुँदै बहस–यात्रा चलाइरहेको कान्तिपुर टिम यिनै परिप्रेक्ष्यमा त्यही मार्गले छुने सहर विराटनगरमा आइतबार बिहान पुग्यो । प्रधान सम्पादक सुधीर शर्माले यो नयाँ महानगरको वर्तमान, समस्या र अगाडिका सम्भावनाबारे राजनीतिक नेतृत्व, उद्योगी व्यवसायी, नागरिक अगुवा, बुद्धिजीवी, साहित्यकार, अधिकारकर्मी आदिसँग तीन घण्टा विमर्श गरे । प्रस्तुत छ, त्यसैको सम्पादित भाग :
‘बृहत्तर विराटनगरको कल्पना’
भेषप्रसाद धमला
एलिट क्लब, अध्यक्ष

विराटनगरले हरेक परिवर्तनको सुरुवात आफूबाट गरेको छ । पहिलो औद्योगिक जुटमिल यहीँ खुल्यो । प्रधानमन्त्री र प्रभावशाली मन्त्रीहरू पनि विराटनगरले धेरैपल्ट दिइसक्यो, तैपनि यसले आफ्नो विकासतिर उहाँहरूको ध्यान आकर्षित गर्न सकेन । हिजोको यो औद्योगिक पहिचान अन्यत्रै सर्ने देखिएको छ । महानगरको ‘साइनबोर्ड’ पाए पनि अवस्थामा अन्तर छैन । खासमा विराटनगर यसअघि नै महानगर भइसकेको हुनुपर्ने थियो, ढिलै भए पनि घोषणा भएको छ । अब बृहत् विराटनगरको परिकल्पना गरेर अघि बढ्नुपर्छ । त्यस अनुरूपका पूर्वाधारहरू विकास गर्नुपर्छ । सहरलाई ठूलो आयतनको बनाउने मात्रै होइन, त्यस अनुसारको सेवासुविधा, पूर्वाधार दिनुपर्छ । रिङरोडको कुरा वर्षौंदेखि चल्दै छ, त्यसको निर्माण गर्नुपर्छ । यहाँ पर्यटकहरूलाई तान्ने गौरव गर्नलायक कुराहरू देखिएको छैन । त्यस्ता संरचना बनाउन लाग्नुपर्छ ।

‘सफ्टवेयर दह्रो, हार्डवेयर फितलो’
प्रा. प्रमोदकुमार झा
अर्थशास्त्री

अब काम गर्न सकियो भने विराटनगर सम्भावनाले भरिएको ‘मेट्रोपोलिटन सिटी’ हुनसक्छ । चार देश जोड्छ यसले । जोगवनी–किमाथांका रुट बनेपछि विराटनगर महानगर चीन, भारत, भुटान र बंगलादेशलाई जोड्ने ‘हब’ बन्न सक्छ । अनि कोलकाता, मुम्बईजस्ता भारतका ठूला सहर जाने रुट पनि जोड्न सक्छ ।
सन् २०११ मा विश्व व्यापार संगठनको जेनेभा सम्मेलनले विराटनगरलाई आफ्नो वक्तव्यमै ‘बौद्धिक सहर’ भनी चित्रित गरेको छ । राजनीतिक संस्कार सिकाउने सहर पनि हो यो । अहिले महानगर घोषणा भए पनि यसका लागि विकास, बाटो, बिजुली, नाला, चिल्ड्रेन पार्कजस्ता पूर्वाधार छैनन् । विराटनगरको ‘सफ्टवेयर’ दह्रो छ, तर ‘हार्डवेयर’ फितलो छ । आँखा उपचारका लागि यहाँ भारतीय बिरामीमात्रै एक दिनमै दुई हजार जनाजति आउँछन्, तर भन्सारमा यसको तथ्यांक छैन । यो गरिबी, झगडा, अव्यवस्थाजस्ता समस्या भएको सहर पनि हो । अब प्रयास गरियो भने औद्योगिक क्षेत्र, सेवा क्षेत्रमा विराटनगर अनुकरणीय बन्न सक्छ, त्यसका लागि कर व्यवस्थापनजस्ता विषयमा जोड दिनुपर्छ । अहिले महानगर बन्दा–नबन्दै करले थिचिसकेको छ, तर पूर्वाधार छैन । धुवाँ, धूलो खान बाध्य छौं । व्यवस्थित विकासमा जान सकियो भने सफ्टवेयरसँगै हार्डवेयर पनि राम्रो हुनसक्छ । हामीले पहिले भन्थ्यौं– आज विराटनगर जे सोच्छ, भोलिमात्रै काठमाडौंले त्यो सोच्नेछ । आज उल्टो भएको छ । काठमाडौंले आज गरेको कुरा विराटनगरले पछि गर्ने अवस्था छ ।

०००

‘असुरक्षित मनोविज्ञानको निदान’
सीमा आभास
साहित्यकार

विराटनगरको ठूलो समस्या असुरक्षित मनोविज्ञान हो । यहाँबाट कतिपय मानिसहरू बाहिर जाने क्रम बढ्नु, अनि बाहिरकाहरू आउनुमा यो मनोविज्ञान पनि जिम्मेवार देखिन्छ । पहाडी मूलका बासिन्दाले विराटनगरलाई कर्मथलो बनाउन सुरक्षित मनोविज्ञान बढाउन जरुरी छ । हामी बीचको अन्तरघुलन महत्त्वपूर्ण र आवश्यक छ । यसका लागि कला, साहित्यले पनि जोड्न सघाउँछ । उर्दू र मैथिलीभाषी साथीहरूले हाम्रो लेखाइ नबुझेको, उहाँहरूको हामीले नबुझेको अवस्था छ । यहाँ पहाडी–मधेसीहरू एक–अर्काकहाँ खान जाने, भेट्ने राम्रै चलन छ, तर रेडियोमा आउने अन्यत्रका समाचारले रनक्क बनाउँछ । राजनीतिले आशंकाहरू बढाउन भूमिका खेलेको छ । विराटनगरमा शिक्षादीक्षा दिएका हाम्रा छोराछोरीलाई २० वर्षपछि यहीं बस्न सक्नेगरी आजैदेखि वातावरण बनाउन थाल्नुपर्छ । यहाँबाट राष्ट्रपति विद्या भण्डारी, शैलजा आचार्यजस्ता नेतृ देशका शीर्ष तहमा पुग्नुभयो । तर आज यहाँ राजनीतिक पार्टी, सञ्चार क्षेत्र लगायतमा महिलाहरू माथिसम्म आउने वातावरण बनाउन सकिएको छैन ।

०००

‘महानगरको वर्गीकरण आवश्यक’
अविनाश बोहरा
उद्योग वाणिज्य संघ केन्द्रीय सदस्य

अहिले हरेक ठाउँमा ‘स्मार्ट सिटी’ बनाउने कुरा सुनिन्छ । यो भनेर मात्रै हुँदैन, समग्र धारणा चाहिन्छ । छेउका दुहबी र इटहरी उपमहानगर भइसकेका छन् । यो महानगर भइसकेपछि त्यस अनुरूपको भौतिक विकास र पूर्वाधार चाहिन्छ । नेपाल आउने एउटा पर्यटकले औसतमा ५५ सयदेखि ६ हजार डलरसम्म खर्च गर्दोरहेछ । त्यसलाई यो क्षेत्रमा ल्याउन सकियो भने त्यसले दिने फाइदा हामीलाई आउँछ । सुविधा सम्पन्न ‘हस्पिटालिटी’, सार्वजनिक यातायातको सुविधा दिनुपर्छ । पानीको अभाव देखिन थालिसकेको छ । महानगर भएपछि सबै चिजको मूल्य बढेर गएको छ । महानगर भनिए पनि काठमाडौं र विराटनगरको क्षमता एउटै होइन । त्यसैले वर्गीकरण आवश्यक छ । जति सहर बढ्दै गयो, जीवन त्यति नै यान्त्रिक हुँदै जान्छ । त्यसलाई सम्बोधन गर्नेगरी काम गर्नुपर्छ ।

०००

‘पहिले सिटी बस त चलाऔं’
इन्दिरा प्रसाईं
राजनीतिशास्त्री

पूर्वाधार बिनाको महानगरमा प्रवेश गरेका छौं । १५ वर्षयता कर्मचारीतन्त्रले महानगर हाँक्यो । चुनाव फेरि सरेन भने हामी नयाँ नेतृत्व पाउने भाग्यमानी बन्नेछौं । घाम लाग्दा धुलाम्मे, पानी पर्दा हिलो हुनुपर्ने अवस्था छ, यहाँ । ‘मेट्रो ट्रेन’को कुरा सुनिन्छ, भोलि त्यो आउला पनि, तर तत्कालै चाहिएको सिटी बस हो । हामीकहाँ त्यति पनि छैन । ‘अन्डरग्राउन्ड वायरिङ’ नहुँदा बाहिर देखिएका तारहरूले अप्ठ्ेयारो भएको छ । सरकारले दिएको खानेपानीले विराटनगरवासीहरू जन्डिस लागेर मरिरहेका छन् । मोटर चलाएर कलको पानी खाइरहेका छौं । औद्योगिक सहर भएकाले लोडसेडिङ मुक्त हुनु पहिलो सर्त हो । लोडसेडिङको ठूलो मारमा छौं ।

०००

‘औद्योगिक क्षेत्रलाई छुट्टै रुट’
भूराज राई
विराटनगर, पूर्वउपमेयर

अव्यस्थित बसोबास र घर निर्माण भइरहेको छ । कतातिर औद्योगिक क्षेत्र, कतातिर बसोबास मिलाउने भन्नेबारे स्पष्ट नीति चाहिन्छ । खुला क्षेत्र भएन भने आवश्यक भौतिक पूर्वाधार, पार्क आदि बनाउन सकिन्न । कर छल्ने कसैले गर्नुभएन, सँगै जनतालाई दिन सकिने सुविधा पनि दिन सक्नुपर्छ । यहाँ मनोविज्ञानको कुरा पनि आयो । यी सबै समस्या र चाहना सम्बोधन गर्नेगरी २० वर्षे योजनासहित अघि बढ्नुपर्छ । नेपालका हरेक सहर राजमार्ग वरिपरि विकसित भएका छन् । विराटनगरका भित्री सडकको वहन क्षमता औद्योगिक सामग्रीको बोझ धान्न सक्ने छैन । त्यसका लागि औद्यागिक क्षेत्रलक्षित बाटाहरू चाहिन्छ । विराटनगरको फोहोरमात्रै होइन, यस आसपास समेतको फोहोर व्यवस्थापन गर्न नसकिएकाले एकीकृत कार्ययोजना बनाएर जानुपर्छ । हामीले केही विकल्पमा जान खोज्यौं, तर जनताको विरोध आयो । त्यसैले ५० या सय किमिको दूरीमा लगेर भए पनि फोहोर फाल्नुपर्छ ।

०००

‘दलीय सिन्डिकेट तोडौं’
पवन सारडा
सांसद एवं मोरङ व्यापार संघ अध्यक्ष

विराटनगर किन विकसित हुन सकेन, हामीले यथार्थमै रहेर विश्लेषण गर्नुपर्छ । यत्रा नेता जन्मायो, विराटनगरले । उहाँहरूले सक्नुभएन कि हामीले त्यो स्थिति दिन सकेनौं । यसको पनि मूल्यांकन गरौं । विराटनगर कुनै एउटा पार्टीको मात्रै वर्चस्व भएको, धर्म, जातिविशेषको प्रभुत्व भएको ठाउँ होइन । हामी सबै मिलेर विकास गर्न सकियो भने पर्याप्त सम्भावना छ । औद्योगिक करिडोर हुनुपर्‍यो, ‘सेज’ हुनुपर्‍यो भनेर २० वर्षदेखि भनिरहेका छौं । हाम्रो धेरै ठूलो आकांक्षा पनि छैन । हामीले धेरै क्षेत्रमा केन्द्रित भएरभन्दा पनि निश्चित काममा केन्द्रित हुन सकियो भने राम्रो नतिजा ल्याउन सकिन्छ । राजनीतिक नेतृत्वको ‘सिन्डिकेट’का कारण उद्योगधन्दा फस्टाउन सकेको छैन ।

०००

‘शैक्षिक हब बन्न सक्छ’
विनोद ढकाल
एमाले मोरङ, अध्यक्ष

स्थानीय चुनावको मुखमा विराटनगरसँग जोडिएका विषयमा बहस चलाएकामा कान्तिपुरलाई धन्यवाद । यो बहस चल्न थाल्नु विराटनगरको उन्नति र प्रगतिका लागि राम्रो संकेत हो । औद्योगिक र आर्थिक राजधानीको हैसियत विराटनगरले पाएको छ । यसलाई त्यही अनुरूप विकास गर्नुपर्छ । वीरगन्ज, भैरहवाको काठमाडौंसँग कम दूरी रहेको, विराटनगरको बढी देखिएकाले यो भौतिक दूरी पनि अविकासको कारक बन्न पुगेको छ । कारखानाका कच्चा माल समुद्री मार्गबाट भारत हुँदै यहाँ आउँछन् । सुख्खा बन्दरगाह बनिसक्नेबित्तिकै समुद्री बन्दरगाहबाट छोटो दूरी विराटनगरलाई पर्छ । स्थानीय तह पुन:संरचना भएकै बेला महानगर बनाइसकेको भए विराटनगरको भूगोल कहाँदेखि कहाँसम्म राख्ने भन्नेबारे सोच्न सकिन्थ्यो । कहाँनेर खेल मैदान बनाउने, कहाँनेर पार्कलगायत पूर्वाधार बनाउने भन्नेबारे पनि सोच्न हुन्थ्यो । पछि महानगर बनेको हुनाले क्षेत्र विस्तार हुन पाएन । तर अहिले पनि धेरै कुरा गर्न सकिन्छ । भारततिरका विद्यार्थीका लागि पनि विराटनगर राम्रो शैक्षिक ‘हब’ बन्न सक्छ । भएकै विराटनगरमा पनि बाइपास, ग्रिन एरिया, कोसीको नहर जोडिएको बजारमा ग्रिनरी पार्क बनाएर हेर्नलायक क्षेत्र बनाउन सकिन्छ । ६ लेनको बाटोसँगै आकाशे पुल पनि चाहिएको छ ।

०००

‘व्यवस्थित विमानस्थल आवश्यक’
मीना सेढार्इं
कानुन व्यवसायी

भारततिर घुम्न जाँदा हामी देख्छौं, केवल एउटा मन्दिर हुन्छ । त्यो मन्दिर पुग्नका लागि कहाँ–कहाँबाट मानिसहरू आउँछन् । अनि तिनीहरूलाई स्वागत, संरक्षण गर्ने थुप्रै व्यवस्थापनका काम भएका हुन्छन् । हामीले पनि पूर्वाधार विकासमा ध्यान केन्द्रित गर्नुपर्छ । विराटनगरमा अहिले सुकुम्बासी समस्या छ । उनीहरूको कसरी व्यवस्थापन गर्ने, अनि उनीहरू बस्दै आएका सरकारी जग्गाको संरक्षण कसरी गर्ने ? महानगर भइसकेपछि यसबाट द्रुतगतिमा आफूले चाहेको ठाउँमा जान व्यवस्थित विमानस्थल चाहिन्छ । अहिले अव्यवस्थित विमानस्थल छ, उडानहरू असामयिक छन् । अस्पतालमा सुविधा पर्याप्त छैन । महानगर भइसकेपछि स्वास्थ्यमा सबैको पहुँच हुनुपर्छ ।

०००

‘करबाट तर्सिनु भएन’
भक्ति माझी
लोकतान्त्रिक फोरम मोरङ, अध्यक्ष

सडक, खेलकुद रंगशालाजस्ता कुरा अति आवश्यक भइसकेका छन् । औद्योगिक अनुसन्धान गर्ने सहरका रूपमा यो महानगरलाई विकास गर्नुपर्छ । खेलकुदका लागि एउटा सहिद मैदानबाहेक अन्य ‘ग्राउन्ड’ छैन । बजार व्यवस्थापन पनि तुरुन्तै गर्नुपर्ने, धार्मिक पर्यटकीय स्थलको संरक्षण र विकास गर्नुपर्ने अवस्था छ । महानगरमा एउटा टावर चाहिन्छ, जहाँबाट सबैतिर हेर्न सकियोस् । सुुकुम्बासी समस्या सम्बोधन गरिहाल्नु पर्नेछ । ‘ग्रिन बेल्ट’ विकास गर्नुपर्छ । यी सबै गर्नका लागि पैसा चाहिन्छ, त्यो हामी आफूले पनि जुटाउने हो । त्यसैले विराटनगर अब महानगर भइसकेपछि यहाँका बासिन्दा त्यसबापत लाग्ने करबाट त्रसित हुनुभएन ।

०००

‘शिक्षाको गुणस्तर सुधारौं’
टीकाराम पुरी
शिक्षासेवी

भारतदेखि पूर्वी नेपालतिरका विद्यार्थीहरू शिक्षाका लागि भनेर विराटनगर आउने गर्छन् । त्यस अर्थमा विराटनगर शैक्षिक ‘हब’ नै हो । निजी शैक्षिक संस्थाहरूको अवस्था पनि सुधार गर्न जरुरी छ । एक्काइसौं शताब्दी सुहाउँदो शिक्षाका लागि ‘पेपरलेस एजुकेसन’ दिनुपर्छ । काठमाडौं, पोखरा विश्वविद्यालयले प्राविधिक शिक्षाका लागि पूर्वाञ्चल विश्वविद्यालयले नै गर्नुपर्ने तर्क राखेका छन्, तर त्यस अनुसार हामीले भरपर्दो र सर्वसुलभ बनाउने तयारी गर्न सकिएको छैन । शिक्षामा विराटनगरले अरूको मन जित्यो, अब गुणस्तर सुधार्ने प्रतिबद्धता गरौं ।

०००

‘आत्मसमीक्षा गरौं’
सुदनबहादुर कार्की
कांग्रेस

पूर्वाञ्चलको केन्द्र भएर पनि विराटनगर किन ओझेलमा पर्‍यो, आत्मसमीक्षा हुनुपर्छ । नेतृत्वमा इच्छाशक्ति हुनुपर्‍यो, नयाँ कुरा सिक्न सक्ने जिज्ञासु हुनुपर्‍यो । भ्रष्टाचार मुक्त हुनुपर्‍यो । विकास योजनाका २० प्रतिशत पनि काम नभइरहेको अवस्था छ । सिद्धान्तका मिठा कुरा गरेर मात्रै पार पाउन सकिँदैन । जनतालाई राहतको अनभूति दिलाउने हो भने कामबाटै आफूलाई पुष्टि गर्नुपर्छ ।

०००

‘फोहोर व्यवस्थापनको चुनौती’
सञ्जय सिंह
संघीय फोरम केन्द्रीय सदस्य

विराटनगरवासी भएकाले हामी यो दुर्दशा भोगिरहेका छौं भने सन्ततिको भविष्य के होला ? मधुमारा भन्ने ठाउँ कहाँ हो भनेर खोज्नुपर्छ । थुप्रै टोलका नाम नयाँ आएका छन् । पुराना राम्रा चिजहरू जोगाउनुपर्छ । ग्रामीण क्षेत्रका जनता स्वास्थ्य, सुरक्षा, सेवाजस्ता कुरामा अगाडि छन्, तर विराटनगरमै समस्या छ । महिला अधिकारकर्मी गाउँमा छन्, महानगरभित्र घरेलु हिंसाबाट महिला पीडित भएका धेरै उदाहरण छन् ।
फोहोर व्यवस्थापनको समस्या मुख्य छ । पानी पर्‍यो भने महेन्द्रचोकदेखि ट्राफिक चोकसम्म पनि पुग्न सकिँदैन । होटलबाट निस्केका फोहोर ब्रह्मपुरामा लगेर फाल्ने प्रवृत्ति छ, त्यहाँका बासिन्दालाई कति गाह्रो भएको होला ? क्रान्तिका प्रतीकहरू अहिले ओझेल परे । २००७ सालको क्रान्तिको ट्यांकर अहिले कहाँ गयो होला ? हुलाकी राजमार्ग विराटनगरको बीचैबाट गएको छ, तर त्यसलाई विकास गर्न सकिएको छैन ।

०००

‘सबैको प्रयास आवश्यक’
नीरा भगत
अधिकारकर्मी

एउटै बाटोमा छोटो दूरी र लामो दूरीका सवारी चलाउने हुँदा विराटनगर–धरान बाटो धेरै व्यस्त हुन्छ । त्यहाँ ठाउँ–ठाउँमा ट्राफिक व्यवस्थापन नहुँदा हिँड्नै डर लाग्छ । स्कुल कलेज, अफिस जाने बाटो र पहाड जाने बाटो एउटै हुनुभएन । थारू समुदायमा त महिला हिंसा कम हुन्छ, तर मधेसी समुदाय भएका ठाउँमा दाइजोका कारण हिंसाका घटना थपिइरहेका छन् ।
त्यसलाई न्यूनीकरण गर्न सबैले आआफ्नो ठाउँबाट प्रयास गर्नुपर्छ ।

०००

‘उद्योगीलाई समस्या भयो’
शिवशंकर अग्रवाल
उद्योग संगठन मोरङ पूर्वअध्यक्ष

नेपालको पहिलो औद्योगिक नगरी भएर पनि विराटगरसँग औद्योगिक क्षेत्र छैन । उद्योग खोल्न चाहने उद्यमीले जग्गामै करोडौं तिर्नुपर्ने हुँदा ऊ उद्योग खोल्न सक्ने अवस्थामा छैन । सरकारले उद्योगीलाई जग्गाका लागि अतिरिक्त पैसा लगाउन नपर्ने अवस्था बनाइदेओस् । विराटनगरमा अध्यागमन कार्यालय खुलाउनसके फाइदा हुने थियो, तर सरकारले गर्न सकेन । कम्पनी रजिस्ट्रार कार्यालय महेश बस्नेत उद्योगमन्त्री भएका बेला खुल्यो, तर त्यही उद्घाटनको दिनमात्रै । विराटनगरमा विशेष आर्थिक क्षेत्र हुनुपर्छ । हामीले यो बारम्बार माग गरेका छौं । आगामी चुनाव जित्ने जनप्रतिनिधिले यसतिर ध्यान दिनुहोला भनेर हामी आशा गर्छौं । एकीकृत जाँच चौकी (आईसीपी) को यथाशक्य छिटो निर्माण गर्न सकियो भने सजिलो हुनेछ । ‘फ्लाइओभर’ बनाउनुपर्ने खाँचो छ, नत्र किमाथांकासम्म जाने ‘सर्भिस रुट’ आन्तरिक यातायात चापका कारण हरदम जाम हुन्छ ।

०००

‘महानगर बन्यो, अब प्रदेश राजधानी’
गोपी अछामी
माओवादी केन्द्र मोरङ संयोजक

हिजो विराटनगरले बोल्दा राष्ट्रिय राजनीतिमा तरंग पैदा हुन्थ्यो । अहिले हामी विराटनगरलाई समृद्ध बनाउन साझा संकल्प गरिरहेका छौं । राजनीतिक परिवर्तनको ‘कोर्स’ पूरा गरेपछि आर्थिक समृद्धि हासिल गर्न सक्छौं । स्थानीय तहको चुनाव तयारीमा हामी छौं । ५–६ प्रधानमन्त्री पाउँदा पनि विराटनगरले विकास गर्न नसक्नुमा राजनीतिक परिस्थिति कारक छ कि छैन ? छ, त्यसैले स्थायित्व चाहिन्छ । एउटा राजनीतिक निर्णयका आधारमा विराटनगर महानगर भयो । यो महत्त्वपूर्ण उपलब्धि हो । अब यसलाई प्रदेश नम्बर १ को राजधानी बनाउन आवश्यक छ । त्यसको प्रक्रिया अघि बढिसकेको पनि छ । जोगवनी–किमाथांका रोड, अनि रिङरोड बनाउन आवश्यक छ ।

०००

‘चुनावको पक्षमै छौं, तर…’
भोगेन्द्र यादव
राजपा, केन्द्रीय सदस्य

विराट राजाको दरबार भएको ठाउँ यही विराटनगर हो । यसलाई विकास गर्ने हो भने यातायात, सडकको विस्तारसँगै अन्तर्राष्ट्रिय विमानस्थल हुनुपर्छ । दर्जनौं पुराना उद्योग धराशायी भएका छन् । नेता, मन्त्रीको मिलेमतोमा बनेका संरचनासमेत भत्काएर बिक्री गरिएको छ । यत्रा नेता भएर पनि विकास भएन, तर अझै केही बिग्रेको छैन । विराटनगरको बारेमा भनांै भन्दै थिएँ, यहाँ चुनावको पनि कुरा आइहाल्यो । हामी सबैले हक–अधिकार पाउनुपर्छ भनेर आन्दोलनमा छौं । हामी पनि यही देशका नागरिक हौं, अरूले जस्तै हामीले पनि समान नेपाली हौं भन्ने अनुभूति र अधिकार पाउनुपर्छ । तपाईंहरू सञ्चारकर्मी हुनुहुन्छ, सबैलाई समानताको मुद्दामा गम्भीर हुन आग्रह गर्नुहोस् । हामी भारत, चीनबाट आएका होइनौं, नेपालकै विकासको मनसाय राख्ने नेपाली हौं भनेर मधेसको मुद्दा हल गर्न सहयोग गर्नुहोस् । सरकार ६–६ महिनामा परिवर्तन हुन्छ, यो अस्थिरता पनि हुनुभएन । हामी चुनावको पक्षमा छौं, सरकारले वातावरण बनाइदेओस् ।

०००

‘लोडसेडिङ समस्या’
जस्मिन मण्डल
लोकतान्त्रिक फोरम नेत्री

राजनीतिक नीति निर्णयमा मधेसी महिलाको सहभागिता अझै पनि चुनौतीपूर्ण कुरा नै हो । महानगर बनाउने निर्णय, स्थानीय तहमा महिलालाई सहभागिता बढाउने सरकारको निर्णय स्वागतयोग्य छ । महिलाले भर्खरै तसहभागिताको अवसर पाइरहेका छन् । महिलाको नेतृत्व विकास गराउने हो भने सबै जातजातिका महिलाहरू अगाडि आउनुपर्छ । कुनै पनि दलले मेयर पदमा महिलालाई प्राथमिकता नदिनु राम्रो कुरा होइन । ‘लोडसेडिङ’ हटाउने सुलभ तरिका वैकल्पिक ऊर्जा हो । महानगरमा त्यो ल्याएपछि जनतालाई सुविधा हुन्छ । नत्र यहाँ लोडसेडिङको ठूलो समस्या छ ।

०००

‘रिङरोड अझै बनेन’
मोहन भण्डारी
सञ्चारकर्मी

हामी महानगरवासी भएका छौं, तर व्यवस्थित पूर्वाधार नहुँदा समस्या छ । त्यसका लागि सडक, नाला र पेटीको काम हुनुपर्छ । २० वर्षअघि थालेको रिङरोड निर्माण अझै बन्ने क्रममै छ । ३१२ बिघाको विशेष आर्थिक क्षेत्र बनाउने खालको प्रस्ताव पनि यहाँ छ । विराटनगर औद्योगिक करिडोर बन्न सक्यो भने यसबाट चार देश जोड्न सकिन्छ । यी सम्भावना पुरूा गर्नसके विराटनगर पक्कै राम्रो नगर हुनेछ ।

०००

‘भौतिक संरचनासँगै मानवीय विकास’
खेम नेपाली
संस्कृतिकर्मी

विराटनगरलाई उपयोग गर्ने कि माया गर्ने ? यी दुइटा मनोविज्ञान यहाँ पाइयो । विकास भौतिक संरचनामात्रै होइन, तर यहाँको मानवीय विकासतर्फ न राज्यले ध्यान दिएको छ, न त जनस्तरबाटै उल्लेख्य पहल भएको छ । यहाँ भाषा, कला, साहित्य आदिको विकास चाहिएको छ । विराटनगर मात्रै होइन, सिंगै देशमा चरम विभेद छ । विभेदपूर्ण समाज विभाजित हुन्छ । विभेदरहित समाज निर्माणतर्फ हाम्रो प्रयत्न हुनुपर्छ । राजनीतिलाई परिमार्जित गर्ने भनेको कला–साहित्यले हो, नत्र नीरस राजनीतिक परिवर्तनको अर्थ छैन । सांस्कृतिक रूपान्तरण र सामाजिक–सांस्कृतिक अन्तरघुलन आवश्यक छ ।

०००

‘इटहरीबाट सिकौं’
भारती उपाध्याय
पत्रकार

राजनीतिक दलहरूले कसको पालामा यो महानगर बन्यो भन्ने खालका दाबी र प्रतिदाबी गरेको पनि देखियो । महानगरले केही गरेन, सरकारले गरेन भन्ने कुरा निकै आयो । नजिकै इटहरीलाई हेरौं, त्यहाँका जनता कति जागरुक छन् । हामी उनीहरूजस्तो बन्न किन सकेनौं ? यसका लागि हामीले नै थाल्नुपर्ने प्रयासहरू छन् । यहाँको ठूलो समस्या स्वस्थ वातावरणको हो । रोगी विद्यार्थीले कसरी शिक्षा हासिल गर्न सक्छ ? तिनलाई सुविधा चाहिएको छ । सरकारी क्षेत्रमा बजेट पर्याप्त आएको छ, त्यसको सदुपयोग हुन सक्नुपर्‍यो ।

०००

‘मुसहर समुदायलाई हेरौं’
उमेश विश्वकर्मा
अधिकारकर्मी

हामी विकासलाई भौतिक निर्माणसँग मात्रै जोडेर हेर्छाैं, तर मानसिक विकाससँग जोडेर यसलाई बुझ्न सकिएन भने हामीले चाहेको समुन्नत समाज निर्माण हुन सक्दैन । साढे तीन सय मुसहर विराटनगरको वडा नम्बर १३ मा बस्छन् । त्यहाँ कांग्रेसका अमृत अर्याल, एमालेका लालबाबु पण्डित, गुरु बरालजस्ता नेताहरू छन् । तर कुनै दलको संगठन पुगेको छैन, त्यहाँ । दलहरूले आधारभूत तहका जनतालाई प्रशिक्षित गर्न लाग्नुपर्छ । सार्वजनिक शौचालय अभाव हुँदा ठूलो समस्या परेको छ । ‘कल्भर्ट’, धारा आदिको पनि समस्या छ । समावेशिता देखावटी छ, निर्णय प्रक्रियामा तल्लो वर्ग छैन । दलहरूले आफ्नो पार्टीको घोषणापत्रअनुसार काम गर्नुपर्छ ।

०००

‘निजी अस्पताललाई समुदायमैत्री बनाऔं’
डा. बालकृष्ण साह
चिकित्सक

विराटनगरभित्र सात अस्पताल र दुई मेडिकल कलेज छन् । तर समस्या छैन भन्न मिल्दैन । हामी सेवाको विविधता खोजिरहेका छौं । कोसी अञ्चल अस्पतालको ट्रमा सेन्टर पिछडिएको छ । गाउँ र सहरको अवस्था फरक छ, तर सरकारले गाउँ र सहरलाई हेर्ने नीति उस्तै देखियो । जस्तो खोप लगाउन गाउँमा सजिलो, तर सहरमा कहाँ गएर लगाउने ? अनि जागरणका कुरा महानगरका घर–घरमा पुर्‍याउन कठिन हुँदोरहेछ । विराटनगरमा निजी अस्पताल नहुने हो भने सहरवासीले पर्याप्त उपचार नपाउने अवस्था छ । तर तिनलाई कसरी समुदायमैत्री बनाउने ? यो चुनौती छ ।

०००

‘विराटनगर छेउछाउ टाउन प्लानिङ’
राजेन्द्र राउत
उवासं, प्रदेश उपाध्यक्ष

सय करोड बराबरको बजेट महानगरमा आउँदै छ । त्यसैले खर्च कसरी गर्ने ? संयन्त्र बनाउनुपर्छ । सहरी योजना चाहिन्छ । विराटनगरभन्दा बाहिर गएर ‘टाउन प्लानिङ’ गर्नुपर्‍यो । देशका ठूला उद्योगपति पनि यहाँबाटै गएका छन् । शिक्षा, स्वास्थ्य र पर्यटन विकास अब यहाँको एजेन्डा हुनुपर्छ । औद्योगिक विकास र लगानीबारे निजी क्षेत्र र महानगरवासीले सोच्नुपर्छ । यहाँ औद्योगिक क्षेत्र बनाउनका लागि चाहिने पूर्वाधार चाहिएको छ । कम्तीमा तीन वर्ष कर छुट लगायत सुविधा दिनुपर्‍यो । उद्योग खोल्नुपर्‍यो भने जग्गाका लागि सहुलियत चाहिन्छ । बिजुली आपूर्ति पुगेको छैन, त्यो पनि बढाउनुपर्‍यो ।

०००

‘दुव्र्यसन चुनौती’
सविता गौतम
रसायनशास्त्री

यहाँ लोडसेडिङ भइरहनु आफैंमा समस्या हो, तर बत्ती आएका बेला पनि लो भोल्टेजले गर्दा पंखा, बत्ती केही चल्दैन । यसले सहरभित्रको दैनिक जीवन कष्टकर छ । युवापुस्तामा ‘ड्रग एडिक्सन’को समस्या पहिलेभन्दा अझै बढेर जानु चुनौती हो । म किशोर उमेरका विद्यार्थीहरूलाई कलेजमा पढाउँछु । पहिले एकदमै ठिक केटो अहिले दुव्यर्सनीले बिग्रेको छ । कान्तिपुरले दुव्र्यसन हटाउने अभियानलाई लेख, समाचारलगायत सामग्री छापेर सहयोग गरिदेओस् । किनकि नयाँ पुस्ता यसरी बिग्रनुमा खुला सिमाना पनि कारक छ । अहिले नै विचार गर्न सकिएन भने यो सहर एकदिन दुव्र्यसनले पूर्णत: ग्रसित हुनेछ ।

०००

‘राजस्वको हिस्सा महानगरमा’
सुवास आचार्य
उद्यमी

महानगरमा कर बढी नै भयो । हामी सबैलाई थाहा छ, यातायात क्षेत्रले देशमा राजस्वको ठूलो हिस्सा बुझाउँछ । भारतमा ४ लाख पर्ने गाडीलाई यहाँ २५ लाख तिर्नुपर्छ भने नेपालमा कति बढी पैसा तिर्नुपर्छ, त्यो प्रस्टै छ । यहाँ त्यसरी उठ्ने राजस्वको १० प्रतिशतमात्रै विकास पूर्वाधारमा खर्च गर्ने हो भने महानगर विकसित हुन्छ ।

०००

‘महिलाले खोलेका उद्योगलाई प्रोत्साहन’
लीला रिजाल, उद्यमी

उद्योगमा महिला सहभागिताबारे अहिलेसम्म खासै कुरा आएको छैन । उद्योग लगायत आर्थिक क्षेत्रमा महिलालाई अघि नबढाउँदासम्म प्रगति हुँदैन । महिलाले खोलेका उद्योगलाई राज्यले करमुक्त गर्नुपर्छ । तर यहाँ वातावरण नबन्दा उद्योगबाट संन्यास लिनुपर्ने अवस्था पनि छ । घुसखोरी उत्तिकै छ । ‘अडिट’ गर्नेका लागि १० हजार रुपियाँ छुट्याउनैपर्छ । महिला उद्योगीका सामुन्ने थुप्रै समस्या छन्, कान्तिपुरले यी कुरा सरकारसमक्ष पुर्‍याइदिनुपर्‍यो ।

०००

‘दलभन्दा माथि उठौं’
लक्ष्मी शर्मा
राजनीतिकर्मी

दलका नेताको हानथापले विराटनगरको विकास हुनसकेन । विकास गर्ने हो भने दलीय सोचभन्दा माथि उठ्नुपर्छ । अहिलेसम्म हामी पछि परेको दलीय सोचकै कारणले हो ।

०००

‘महानगरको क्षेत्र बढाइयोस्’
शुभलक्ष्मी लम्साल
साहित्यकार

विराटनगर महानगरको क्षेत्र बढाउनुपर्छ । छेउका गाउँपालिकामा टन्नै सरकारी जग्गा छन् । महानगरले तिनलाई उपयोग गर्न सक्छ ।

०००

‘युवा उद्यमीलाई गाह्रो’
ओम शर्मा
युवा व्यवसायी

उद्योग क्षेत्रमा युवा उद्योगीहरू आउन चाहन्छन्, तर जग्गा किन्नै गाह्रो भएपछि उदासीनता बढेको छ । बैंकिङ क्षेत्रमा अझै पनि काठमाडौंबाटै निर्णय हुँदोरहेछ, त्यसले उद्यम गर्न चाहनेलाई यहाँबाटै काम अघि बढाउन सहज छैन । प्रधानमन्त्री लगानी कोषको कृषि आधुनिकीकरण योजना किसानसम्म पुगेको छैन । अशिक्षित मजदुर बाहिर पलायन भइरहेका छन् । यहाँ तत्काल एउटा प्रदर्शनी स्थल बन्नुपर्छ । आईटी पनि यो सहरका लागि एउटा ‘भर्जिन’ क्षेत्र हो ।

Source : Ekantipur

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com