अमेरिकाको विद्यार्थी भिसा सहज बनाउन कन्सुलर अधिकारीहरुलाई आन्तरिक निर्देशिका


प्रकाशित मिति : माघ ४, २०७८ मंगलबार

अमेरिकाको विद्यार्थी भिसा प्राप्त गर्न विगतको तुलनामा सहज बनेको छ । पहिलोपटक विद्यार्थी भिसा लिने वा विद्यार्थी भिसाको स्टीकर दूतावासमा नविकरण गर्नेहरुका लागि पछिल्लो चरणमा सहज बनाइएको हो ।

अमेरिकी सरकारको विदेश मन्त्रालयले ट्रम्पकालिन विदेश मामिला म्यानुअलमा अपडेट गर्दै डोनाल्ड ट्रम्पको भन्दा अगाडि कै भिसा नीतिलाई कायम गरेको हो । जसका कारण भिसा आवेदकलाई सोधिने गैर आप्रवासी आशय पुष्टी गर्ने प्रश्नहरु सहज बनाइएको छ ।

अपडेट गरिएको म्यानुअल अनुशार विद्यार्थी भिसा आवेदकले ट्रम्पकालमा जस्तो अमेरिकामा आप्रवासीका रुपमा बसाइसराइ गर्ने आशय नभएको पुष्टी गर्नु पर्दैन । बरु भिसा आवेदक अमेरिका गैर आप्रवासीका रुपमा रहने कुरामात्र पुष्टी गरे पुग्छ । जुन विगतको तुलनामा सहज हो ।

नयाँ निर्देशिकाले कन्सुलर अधिकारीहरुलाई पनि कस्ता आवेदकलाई गैरआप्रवासी अभिप्रायको प्रश्नमा सहजता प्रदान गर्ने भन्नेबारे स्पष्ट मार्गदर्शन गरेको छ । विद्यार्थी भिसाका सन्दर्भमा विदेशमा बसोबासको आवश्यकताको सन्दर्भमा भिजिटर भिसा वा अन्य भिसाका सन्दर्भमा स्वभाविक रुपमा फरक हुने निर्देशिकामा प्रष्ट पारिएको छ ।

अमेरिकी दूतावास काठमाडौं

विद्यार्थी हुनुको प्राकृतिक परिस्थिति र शर्तहरुले आवेदकलाई विद्यार्थी भिसा प्राप्त गर्न अयोग्य नठहराउने प्रावधान रहेको स्पष्ट पारिएको छ । विद्यार्थी भिसाका आवेदकसँग भिजिटर भिसाका आवेदकको जस्तो सम्पत्ति, रोजगारी र जीवनको निरन्तरताको सम्बन्ध नहुनु प्राकृतिक रहेको कन्सुलर अधिकारीहरुलाई स्पष्ट पारिएको छ ।

विद्यार्थीहरु अविवाहित, वेरोजगार तथा सम्पत्ति नभएका हुने एवं भविश्यको लागि आफ्नो योजनाहरु निर्णय गर्ने र विकाश गर्ने जीवनको चरणमा हुने भएकाले सम्पत्ति, रोजगारीको जस्ता सम्बन्धहरु विद्यार्थी भिसा आवेदकहरुको कमजोर हुने निर्देशिकामा स्पष्ट पारिएको छ ।

यस्तो अवस्थामा अमेरिकामा लामो समय अध्ययन गरिसकेपछि भविश्यमा के हुन्छ भन्ने आधारमा नभई विद्यार्थी भिसा आवेदकको आशय वर्तमान अवस्थामा के छ भन्ने आधारमा भिसाबारे निर्णय गर्न कन्सुलर अधिकारीहरुलाई निर्देशन दिइएको छ । त्यसैले विद्यार्थी आवेदकका लागि विदेशमा बसोबासको आवश्यकतालाई विद्यार्थीसँग हुने सामान्य सिमित सम्बन्ध र उनीहरुको तत्कालको अभिप्रायको सम्बन्धमा विचार गरिनुपर्ने निर्देशिकामा उल्लेख छ ।

निर्देशिकामा गरिएको पुनरावलोकनसँगै बाइडेन प्रशासनले अमेरिकामा विद्यार्थीहरुलाई स्वागतका लागि धेरै खुलापन देखाएको छ ।

दूतवासहरुले नोभेम्बरदेखि नै विगतमा कुनै पनि प्रकारको भिसा लिएका एफ, जे र एम भिसा आवेदकलाई विना अन्तरवार्ता भिसा उपलब्ध गराइरहेका छन् ।

काठमाडौंमा रहेको अमेरिकी दूतावासमा एफ, एम र जे भिसामा अन्तरवार्ता छुट पाउनका लागि नेपालको नागरिक हुनुपर्ने वा विगत ६ महिनादेखि नेपालमा बसोबास गरेको हुनुपर्ने, विगतमा कुनै पनि प्रकारको अमेरिकाको भिसा जारी भएको हुनुपर्ने, अन्तिमपटक कुनै पनि प्रकारको भिसाका लागि दिएको आवेदन अस्वीकृत नभएको हुनुपर्ने, पछिल्लो भिसा खारेज भएको, चोरी भएको वा हराएको हुन नहुने लगायतका मापदण्ड तोकिएको छ ।

त्यस्तै विगतमा भिसा लिंदाको नाम, जन्ममिति, जन्मस्थान, राष्ट्रियता परिवर्तन भएको हुनुहुदैन भने परिवर्तन भएको खण्डमा उचित कारण पेश गर्नुपर्ने, विगतको अमेरिका भ्रमणका क्रममा अमेरिकाका अध्यागमन कानूनको पालना गरेको हुनुपर्ने मापदण्ड रहेको छ । विगतमा जारी भएको भिसा विद्यार्थी भिसा नै हुन जरुरी छैन, कुनै पनि प्रकारको गैर आप्रवासी भिसा जारी भएकाहरुले विना अन्तरवार्ता विद्यार्थी भिसा पाउन सक्ने प्रावधान ल्याइएको छ ।

विना अन्तरवार्ता भिसा प्राप्त गर्न आवेदकले सुरुमा अनलाइन प्रोफाइल बनाउनुपर्छ । त्यसपछि आवेदन प्रकृयामा लैजानुपर्छ । दुईप्रति अन्तरवार्ता छुट कन्फर्मेशन पत्र प्रिन्ट गरेर ६ वटामध्र्ये एउटा कागजात डेलिभरी सेन्टरमा आफ्ना कागजातहरु बुझाउनुपर्छ । पासपोर्टसहित सबै कागजातहरु डेलिभरी सेन्टरमा बुझाएपछि भिसा प्राप्त गर्न सकिन्छ । दूतावासमा कुनै अप्वाइन्टमेन्ट लिन आवश्यक पर्दैन ।

कागजात बुझाउँदा अनलाइनबाट प्रिन्ट गरेको अन्तरवार्ता छुटको पत्र, कम्तीमा ६ महिना अवधि भएको पासपोर्ट, पछिल्लो अमेरिकाको भिसा भएको पासपोर्ट, डीएस १६० भरेको कन्फर्मेशन पेज, शुल्क तिरेको रिसिप्ट, ६ महिनाभित्र खिचेको फोटो, आई २० को प्रतिलिपी र ओरिजिनल ट्रान्सक्रिप्ट, जे भिसाका लागि ओरिजिनल डीएस २०१९ लगायतका कागजातहरु पेश गर्नुपर्छ । फोटो विगतको भिसामा प्रयोग भएको भन्दा फरक हुनुपर्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com