टाढा टाढा हुँदै गरेको मेरो देश
प्रकाशित मिति : माघ १, २०७८ शनिबार

– पुरुषोत्तम ढकाल
समयको चक्र
एक तमाश घुमिरहेकोछ
गति ढिलो, छिट्टो हुन सक्छ
तर म हिडिरहेको छु
फर्केर हेर्दा
मेरो पैतालाको डोब भेटिन्न
सायद
तादि खोलाको बालुवा भोज भतेरमा सकिएर होला ।
निस्किएर हिंडेको पनि जुग बित्यो
हेक्का छ, फर्किएर त्यो दिन आउदैन
बोलिएका अन्तर्मनका आवाजहरु
आफैले सुन्न धौ
कत्ति छिट्टो परिवर्तन भएछ
तादी र त्रिशुलीको बेग
उभिएर किनारा
म प्यासी
दुई अन्जुली जल पिउन पनि सोध्नु पर्ने
जन्मिएको धर्ति टेक्न पनि
राजनीतिको रंग खोज्नु पर्ने ।
कुमालेको चक्र झैं
कुदेको समयलाई
रोक्न खोज्नेहरुको बिगबिगी देख्दा
परिवर्तन होकी जस्तो भ्रम
रुपहरु बदलिएको होकी-होकी जस्तो
मेरो दुनिया, ठुला-ठुला बस्तिहरुमा पनि एक्लै उभिएको
चेतनाको जड
यत्र तत्र अस्विकार र अभिमान उर्लिरहेको ।
त्रिशुली र तादिको दोभान
तर बालुवा र गिट्टी सकिएको
गैरी खेतका गराहरु
पहेलपुर तोरी फुल्नु पर्ने
झन्डा बोकेर दलबाहादुरहरु
फित्ताले कित्ता काट गर्दै
भोकलाई भोजन नष्ट गरेको दृश्य
कस्तो, कस्तो, सौन्दर्य सकिएको
नगरबधु जस्तै
उभिएर हेर्ने सकेन यो आँखाले
हेर्दा हेर्दै सक्किनेभो, मेरो धर्तिको एउटा रामकहानी ।
बन्धु र सखा खुसीमा झुमे जस्तो
एक्लै भेट्यो दुखी, दुखी
तरुण तन्नेरी रगतको प्यासी
बिजयको लालशा मात्रै भेट्छु
अबिर जात्रा छ ठडिएका महलहरुमा
र उन्माद चढेको छ बस्तीको मन भित्र
दल पिच्छेका बगरेहरुको एक चिर्कटो आस्वासनमा ।
हतारमा जोडिएका सम्बन्धहरु
क्षण, क्षण टुटेको छ
घर भित्रै घर भत्किएको दृश्य
जन्मदै जोडिएका मनहरु हाँडी फुटे जस्तै
मेरा मान्छेहरुको रात कसरि बित्दो हो
कहाली लाग्छ परदेशमा अचेल
सम्झेर ल्याउदा आंगनै सिरिङ्ग, सिरिङ्ग हुने
परिवर्तनको आगोमा जलेका मेरा मान्छेहरुको स्वदेश ।
हो अचेल
मैले छोडेको देश
धेरै पर पुगेछ
क्षितिजको पल्लो पार
कल्पदै सिन्दुरे जात्रा
रोमान्चित गोरु जुधाउने माघ
स्वादिलो गड्खारको आप
सलबलाउने सहर र असला
र मग मगाउने समुन्द्राफिनी
उस्तै चुल्होमा बसाउदा
धुवाँले छिमेकमा आँखा रसाउदैनथ्यो
तर फेरिएको यो युगमा
समयले टाढा टाढा हुँदै गरेको मेरो देशलाई
र मुस्कुराउन बिर्सिएका प्यासी मान्छेहरुलाई
एक तमाश हेरिरहेको छु
प्रशान्त महासागरको सिरेटोमा
धमिलो, धमिलो स्मृतिमा
फिका, फिका बन्दै गरेको
मानवियता मरे पछिको कुरुप तस्बिर ।।
लस-एन्जल्स, संयुक्तराज्य अमेरिका ।