यस्तो छ आधुनिक शिक्षासँगै गोन्पा


प्रकाशित मिति : असार १०, २०७४ शनिबार

– दीपेन्द्र ढुंगाना (तस्विर सहित)

कपाल मुन्डन गरेर पहेलो रङको भोटो र रातो रङको कछाडमा देखिने गुम्बामा पढ्ने विद्यार्थीहरु देख्दा कतिपयलाई उनीहरुले पढ्ने पाठ्यक्रमबारे जिज्ञासा लाग्नसक्छ । उनीहरु बौद्ध शिक्षा अर्थान् गोन्पा शिक्षाका विद्यार्थीहरु हुन्, जुन शिक्षा सामान्य स्कुलहरुमा पढाई हुँदैन । तर नेपाल सरकारले बिभिन्न गुम्बाहरुमा हुने यो शिक्षाका लागि आधुनिक शिक्षा मिसाएर विशेष पाठ्यक्रम तयार पारेको छ । आधुनिक शिक्षा लिएर आधुनिक समाजसँग घुलमिल हुन र बौद्ध शिक्षा लिएर आध्यात्मिक विषयमा ज्ञान हासिल गर्नका लागि गोन्पा शिक्षा महत्वपूर्ण रहेको भनाई छ लोपेन छोइङ राङदिलको । गोन्पा शिक्षा आध्यामिक शिक्षा हो भने आधुनिक शिक्षा बौद्धिक शिक्षा हो । दुईवटै शिक्षा एकै साथ लैजान सके बौद्ध शिक्षाको प्रभाब बढ्दै जाने लोपेनको विश्वास छ ।

नेपालमा परम्परागत रूपमा चल्दै आएका गोन्पा (गुम्बा), गुरुकुल र मद्रसा जस्ता शिक्षा प्रणाली मूलतः सम्बन्धित शिक्षा प्रणालीकै आफ्नो निजी प्रयासमा सञ्चालन हुँदै आएका छन् । नेपालमा प्राचीन कालदेखि गोन्पा (गुम्बा) शिक्षा प्रणाली आफ्नै साधन, स्रोत एवम् आफ्नै विशिष्ट शैक्षिक प्रक्रियाका आधारमा सञ्चालन हुँदै आएको छ । यो शिक्षा पद्धतिले मूलतः बौद्ध दर्शनमा आधारित ज्ञान, सिप र अभिवृत्तिको विकासमा महत्वपूर्ण योगदान प्रदान गर्दै आएको छ । यस शिक्षामा धार्मिक अनुष्ठानका अतिरिक्त मानिसको जीवनमा अति आवश्यक पर्ने औषधोपचार विधि, खगोल शास्त्र सम्बन्धी ज्ञान, विभिन्न चित्रकला र मूर्तिकलाका साथै मानव मस्तिष्कलाई सांसारिक विषय वस्तुबाट क्रमशः हटाई आध्यात्मिक विकासमा जोड दिइन्छ ।

परापूर्व कालदेखि गोन्पाहरूमा परम्परागत रूपमा लेखिने पौभा, चित्रकलामा विशेषगरी बौद्ध धर्म दर्शनलाई दृश्यात्मक प्रविधिद्वारा साकार चित्रहरूमा व्यक्त गरी सामान्य जनजीवनमा समेत स्पष्ट रूपमा बुझाउने गरिएको पाइन्छ । यसरी बुद्ध धर्म दर्शनमा आधारित गोन्पा शिक्षाले धर्म अनुशासनलाई अक्षुण्ण राख्दै बुद्ध धर्मका ग्रन्थरत्नहरूको अध्ययन अध्यापनका माध्यमबाट शैक्षिक क्षेत्रमा महत्त्व पूर्ण योगदान पु¥याउँदै आएको छ । गोन्पा शिक्षाको महत्वलाई मध्यनजर गर्दै नेपाल सरकारले आधुनिक शिक्षालाई मिसाएर कोर्श तयार पारेको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com