उखान पछ्याउँदै जाँदा दुई शताब्दीपछि भेटियो ‘हङरायो’


प्रकाशित मिति : पुस १६, २०७८ शुक्रबार

झापा/ ‘हाङ्ग्रोले पाङ्ग्रो निल्छ’ भन्ने उखान पूर्वी पहाडमा निकै चर्चित छ । यही उखानको सहाराले चरा खोजकर्ता देवेन्द्र खरेललाई दुर्लभ पक्षी रुफ्स नेक्ड हर्नबिल ९नेपाली नाम–हङरायो०को कीर्तिमानी तस्वीर खिच्न सफलता मिलेको छ ।

पहाडमा पाइने पाङ्ग्रो एक प्रकारको लहरे वनस्पतिको फल हो । जो ज्यादै कडा र चराले खान नसक्ने आकारको हुन्छ । उखानअनुसार एउटा चरा छ, जसले पाङ्ग्रो देख्नेबित्तिकै हतार–हतार खान्छ । मानिसहरूले हतारमा कुनै वस्तु खाँदा ‘हाङ्ग्रोले पाङ्ग्रो’ निलेकोझैँ भनेर उखान जोड्ने चलन छ ।

चरा खोजकर्ता खरेलले इलामको सूर्योदय नगरपालिका–१ सीमधापमा यही पुस ६ गते एक जोडी ‘हङरायो’को तस्वीर खिच्नुभएको हो । लोप भएको ठानिएको यो चरा नेपालमा १९२ वर्षपछि उहाँले खिचेको हुँदा यसलाई ठूलो उपलब्धिका रूपमा लिइएको छ ।

नेपालमा चराका विषयमा खोज गरेका ब्राइन हड्सन नामका विदेशी विज्ञले सन् १८२९ मा नेपालमा ‘हङरायो’ भेटिएको उल्लेख गरेका थिए । त्यसयता नेपालमा यो पक्षीको अस्तित्व कसैले पुष्टि गर्न सकेको थिएन । विज्ञहरुले विभिन्न दस्तावेजमार्फत यो चरा नेपालमा लोप भइसकेको जानकारी दिने गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चरा खोजीमा रुचि राख्दै आउनुभएका मेचीनगर नगरपालिका–६ काँकडभिट्टा निवासी वाइल्ड लाइफ फोटोग्राफर खरेललाई चराविद् कमल मादेनले ‘हाङ्ग्रोले पाङ्ग्रो निल्छ’ भन्ने उखान सुनाउँदै नेपालमा हङरायोको अस्तित्व हुनसक्ने बताउने गर्नुभएको थियो । मादेनले दिएको प्रेरणाका आधारमा नै उखान पछ्याउँदै जाँदा हङरायोको अस्तित्व पुष्टि गर्ने अवस्थासम्म पु¥याएको खरेलले बताउनुभयो ।

“मादेन सरले मलाई हङरायो खोज्न प्रेरित गर्नुभयो, मैले पनि सानैदेखि ‘हाङ्ग्रोले पाङ्ग्रो निल्छ’ भन्ने उखान सुन्दै आएको थिएँ”, उहाँले भन्नुभयो, “त्यही हङरायोलाई गाउँतिर पाङ्ग्रो निल्ने हाङ्ग्रो भन्दा रहेछन् ।” पत्रकार सम्मेलन गरी उहाँले आफूले खिचेका हङरायोका तस्वीर सार्वजनिक गराउनुका साथै नेपालमा भएका चराहरूको संरक्षण जरुरी भएको बताउनुभयो ।

‘हङरायो’ चरा अस्तित्वमा रहेको पुष्टि गरिदिएपछि चरासम्बन्धी खरेलको खोजको प्रशंसा भइरहेको छ । साथै पाङ्रा निल्ने दुर्लभ चरा पूर्वी नेपालमा डुलिरहेको छ भन्ने सत्य सावित भएको छ । “चराको खोजीका लागि इलामको जङ्गलमा डुलिरहेका बेला अचानक अनौठो चराको जोडी पखेटा फट्फटाउँदै एउटा रुखबाट अर्को रुखमा उडेर गएको देखेँ”, खरेलले चरा भेट्टाउँदाको क्षण सम्झिँदै भन्नुभयो, “हत्तपत्त क्यामेरा निकालेर ४५ सट तस्वीर खिचेर हेर्दा नेपालमा लोप भइसकेको घोषणा गरिएको हङरायो पो रहेछ भन्ने थाहा भयो ।”

धनेष चराको जस्तो मोटो चुच्चो र टाउकामा सिङजस्तो देखिने कडा भाग भएको ‘हङरायो’ निकै लामो र ठूलो हुने खरेलले बताउनुभयो । झापाको मेचीनगरमा अरु तीन प्रकारका ‘हङरायो’को प्रजाति फेला पारिसकेको भए पनि रुफ्स नेक्ड हर्नबिल प्रजातिको चरा फेला पार्नु आफ्नो वाइल्ड लाइफ फोटोग्राफी जीवनका लागि अभूतपूर्व उपलब्धि बनेको उहाँले सुनाउनुभयो ।

वाइल्ड लाइफ फोटोग्राफीमा रुचि राख्ने खरेलले विगत पाँच वर्षदेखि निजी खर्चमा चराको खोज अनुसन्धान र संरक्षण गर्ने अभियान सञ्चालन गरिरहनुभएको छ । उहाँले नेपालमा पाइने ८८७ मध्ये ४०० भन्दा बढी प्रजातिका चराको तस्वीर आफ्नै क्यामेराले कैद गरिसक्नुभएको छ ।

झापाको मेचीनगर नगरपालिकालाई नेपालकै सबैभन्दा बढी चरा पाइने पालिकाका रूपमा चित्रण गर्दै आउनुभएका उहाँले मेचीनगरमा मात्र ३०० भन्दा बढी प्रजातिको चराको तस्वीर खिचिसकेको दाबी गर्नुभएको छ । “संरक्षित क्षेत्रबाहेक नेपालमा सबैभन्दा बढी चरा पाइने ठाउँ मेचीनगर नै हो”, उहाँ भन्नुहुन्छ, “यहाँ खोला चरामात्रै पनि २० प्रजातिका छन् भने दुर्लभ मानिएको तीन प्रजातिका हङरायो भेटिएको रेकर्ड मसँग छ ।”

चराविद् मादेनले नेपालमा लोप भइसकेको घोषणा गरिएको रुफ्स नेक्ड हर्नबिलको पुनः खोजी गर्ने र पहिलो तस्वीर खिच्ने व्यक्ति झापाका खरेल नै भएको बताउनुभएको छ । उहाँले एउटा लेखमा भारत, भूटान, चीन, म्यान्मार र थाइल्याण्डमा थोरै सङ्ख्यामा पाइने यो चरा नेपालमा लोप भएको भनेर केही विज्ञले झुटो दाबी गरेको भए तापनि आफूले ‘हङरायोले पाङरो निल्छ’ भन्ने प्रचलित उखानका आधारमा पूर्वी पहाडमा यसको अस्तित्व रहेको अनुमान सार्वजनिकरूपमै गर्दै आएको जिकिर गर्नुभएको छ ।

क्यारोल इन्स्किप र टी इन्स्किपले संयुक्तरूपमा सन् १९८५ मा प्रकाशित गरेको ‘अ गाइड टु दी बर्डस् अफ नेपाल’ नामक पुस्तकमा यो चरा नेपालबाट सम्भवतः लोप भइसकेको भनेर उल्लेख गरेका थिए । विदेशी विज्ञहरुले पर्याप्त खोज नै नगरी ‘हङरायो’ लोप भयो भनी गरेको घोषणालाई चरा खोजकर्ता खरेलले गलत सावित गरिदिएकामा खुशी लागेको मादेनले उल्लेख गर्नुभएको छ ।

खरेलले नै मेचीनगर–३ बेँसीबजारमा ग्रेट हर्नबिल, मेचीनगर–११ को बाँसबारी वनमा ओरियन्टल हर्नबिल र मेचीनगर–६ काँकडभिट्टामा इन्डियन ग्रे हर्नबिलको तस्वीर खिचेको जानकारी दिनुभयो । स्थानीय लोकतन्त्र पोष्ट दैनिकमा फोटो पत्रकारितासमेत गर्दै आउनुभएका खरेलले चराहरूको खोज तथा अनुसन्धानमा हालसम्म रु सात लाख निजी खर्च गरिसकेको र कुनै निकायबाट आर्थिक सहयोग नपाएको बताउनुभयो । पुरानो भइसकेको क्यामेरा र लेन्सबाट चरा खोज गर्न असजिलो हुँदै गएको समस्या सुनाउँदै उहाँले अत्याधुनिक प्रविधियुक्त क्यामेरा किन्न सामथ्र्य नरहेको जानकारी दिनुभयो ।

तीन सयभन्दा बढी प्रजातिका चरा पाइने मेचीनगरलाई चरा संरक्षित क्षेत्र घोषणा गरेर चरा मार्न निषेध गरिनुपर्ने उहाँले माग गर्नुभएको छ । यही क्षेत्रमा उहाँले गत वर्ष विश्वमै दुर्लभ मानिएको हरित परेवाका तस्वीर खिच्नुभएको थियो । इलामको रोङमा खिचेको रातोढाडे पुष्पकोकिल नामक चराको तस्वीर खिच्ने पनि उहाँ नेपालको पहिलो व्यक्ति भएको बताइएको छ ।

नेपालमा चरा पर्यटनको प्रचुर सम्भावना रहेको जनाउँदै उहाँले स्थानीय सरकारले यस विषयमा चासो नदेखाएकामा दुःख व्यक्त गर्नुभयो । सीमसार मासिने, जङ्गल क्षेत्रमा मानव अतिक्रमण बढ्ने र खोलाहरुमा ट्र्याक्टर र टिपरको बढ्दो कर्कश आवाजले चराको बासस्थान नासिने क्रम बढेको उहाँको धारणा छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com