रोजगारीका निम्ति विश्वका ७६ देश पुगेका नेपालीको समस्यालाई सरकारले प्राथमिकताका साथ उठाउँदै आएको छ’


प्रकाशित मिति : पुस १४, २०७८ बुधबार

परराष्ट्रमन्त्री डा.नारायण खड्काले वैधानिकरुपमा वैदेशिक रोजगारीका निम्ति विश्वका ७६ देशमा पुगेका नेपालीको हकहितको रक्षा गर्दै सुरक्षित आप्रवासनका मुद्दालाई द्विपक्षीय एवं बहुपक्षीय मञ्चहरूमा सरकारले प्राथमिकताका साथ उठाउँदै आएको बताउनुभएको छ ।

‘कान्तिपुर आइएमई माइग्रेशन एण्ड रिमिट समिट’लाई आज यहाँ सम्बोधन गर्दै उहाँले आफ्नो भाग्य चम्काउन अन्तर्राष्ट्रिय श्रम बजारमा पुगेका नेपालीका समस्या समाधान गर्न परराष्ट्र र श्रम मन्त्रालयले समन्वयात्मक ढङ्गले काम गरिरहेको बताउनुभयो ।

‘फ्रि भिजा, फ्रि टिकेट’ प्रणालीलाई व्यवस्थित गर्न दुवै मन्त्रालयत्रबीच घनीभूत छलफल एवं नीतिगत सहकार्य हुनुपर्नेमा जोड दिँदै उहाँले विप्रेषणको मूल्य नेपालीले विदेशमा ज्यान गुमाएर चुकाएकाले त्यसलाई बेवास्ता गर्न नसकिने बताउनुभयो । “अनुगमन र मूल्याङ्कनको अभावमा पाइला–पाइलामा नेपाली युवायुवती ठगिएका छन्”, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै नेपालीले चुनौतीको सामना गर्नुपरेका कटु यथार्थ सुनाउँदै उहाँले भन्नुभयो ।

सत्ताइस करोड ५० लाख मानिस आफ्नो देश बाहिर रहेका तथ्याङ्क प्रस्तुत गर्दै मन्त्री खड्काले सीपयुक्त दक्ष जनशक्तिलाई रोजगारी दिन विभिन्न देशले नेपाल सरकारसँग आग्रह गरेका, नेपालीको इमान्दारी एवं परिश्रमको कदरसमेत गरेका बताउदै भन्नुभयो, “पाकिस्तानी र बङ्गलादेशीभन्दा नेपालीलाई रोजगारदाता राष्ट्रले रुचाएका छन् ।” विश्वको श्रम बजारमा ६० वर्षभन्दा माथिका पुस्ताको सङ्ख्या अधिक भएको र श्रमिकको आवश्यकता बढिरहेको सन्दर्भमा दक्ष जनशक्ति विदेश गएमा आम्दानी पनि बढ्ने उहाँले बताउनुभयो । श्रम बजारमा नेपालीको माग बढिरहेको वास्तविकतातर्फ सङ्केत गर्दै उहाँले नेपालीको माग बढेको बताउनुभएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

वैदेशिक रोजगारीका समग्र पक्ष, मुलुकको कूल गार्हस्थ्य उत्पादनमा विप्रेषणको योगदान, अनुत्पादक क्षेत्रमा त्यसको उपयोग, खाडी देश र मलेसियामा अधिकतर नेपालीले झेल्नुपरेका समस्या, अतिरिक्त समय श्रम गरेबापत पाउनुपर्ने पारिश्रमिक उपलब्ध नगराउने रोजगारदाताका अन्यायपूर्ण व्यवहार, श्रमिक महिलाका पीडा, गैरकानुनीरुपमा विदेश पुगेर आपराधिक मुद्दा लागेकादेखि लिएर मातृभूमिमा परिवारमा आएका सामाजिक विखण्डनलगायत राष्ट्रले बेहोर्नुपरेका चुनौतीलाई पार लगाउँदै वैदेशिक रोजगारीलाई मर्यादित एवं व्यवस्थित बनाउन समाजका हरेक वर्गको सहयोगको अपेक्षा सरकारले गरेको परराष्ट्रमन्त्रीले बताउनुभयो ।

विप्रेषण आप्रवाहले अर्थतन्त्रलाई चलायमान बनाउँदा देशबाट गरिबी क्रमशः कम हुँदै गएको तथा निरपेक्ष गरिबीको रेखामुनि अहिले पनि १८ प्रतिशत नेपाली रहेका बताउँदै उहाँले सन् २०३० सम्ममा गरिबीलाई एकल अङ्कमा झार्ने सरकारी लक्ष्य सुनाउनुभयो । “देशका ५६ प्रतिशत घरबाट एकजना वैदेशिक रोजगारीमा गएका छन्, उनीहरूले पठाएको पैसाबाट टेलिभिजन र मोबाइलसेट खरिद गर्नेदेखि विवाह खर्च गर्नेसम्मका अनुत्पादक क्षेत्रमा खर्च भइरहेको छ”, विप्रेषणलाई लाहुुरे अर्थतन्त्रका रुपमा चित्रित गर्दै परराष्ट्रमन्त्रीले भन्नुभयो ।

कोभिडको महामारीले शिथिल पारेको अर्थतन्त्रलाई टेवा दिइरहेको विप्रेषणले शिक्षा, स्वास्थ्य र केही उत्पादन क्षेत्रमा पनि योगदान गरिरहेकाले अर्थतन्त्रको महत्वपूर्ण पक्ष विप्रेषणको व्यवस्थापनमा पनि गम्भीर ध्यान पुग्नु अपरिहार्य भएको बताउनुभयो । वार्षिक रु ४४ अर्ब बराबरको चामल आयात विप्रेषणबाट प्राप्त रकमबाट हुनु चिन्ताको विषय भएको उहाँको कथन थियो ।

महामारीका बेला विदेश जाने नेपालीले क्वारेन्टिनलगायत स्वास्थ्यसम्बन्धी अनिवार्य प्रावधानको परिपालनाले श्रमिकमा जटिलता बढाएको बताउँदै उहाँले त्यस्ता समस्या समाधानमा पनि स्वास्थ्य तथा जनसङ्ख्या, श्रम र परराष्ट्र मन्त्रालयले सहकार्यका साथ आवश्यक काम गरिरहेका बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com