पुस्तासँगै फेरिए चुनावी एजेन्डा


प्रकाशित मिति : जेष्ठ २६, २०७४ शुक्रबार

जेष्ठ २६, २०७४- बाजुरामा पुस्ता मात्रै फेरिएको छैन एजेन्डासमेत बदलिएका छन्। दुई दशकअघि स्थानीय निर्वाचनमा यहाँका उम्मेदवार अधिकार प्राप्ति र गाउँघरमा नुन–चामल पुर्‍याउने एजेन्डा लिएर मतदातासमक्ष पुगेका थिए। अहिलेका उम्मेदवार विकास र समृद्धिका नारा लगाइरहेका छन्।

२०५४ को स्थानीय निर्वाचनमा कोल्टीबाट गाविस अध्यक्षको उम्मेदवार रहेका ताराचन्द्र रेग्मीको मुख्य एजेन्डा कोल्टी क्षेत्रका बासिन्दालाई नुन–चामलको सहज आपूर्ति र सबै गाउँमा सहज घोडेटो पुर्‍याउने थियो। २० वर्षपछि उनै ताराचन्द्रकी छोरी २४ वर्षीया सृष्टि सोही क्षेत्रको बुढीनन्दा नगरबाट उपमेयरको टिकट लिएर चुनावी मैदानमा छिन्। इन्जिनियरिङ भ्याएर भर्खर गाउँ फर्केकी उनका चुनावी एजेन्डा अहिले बिल्कुल भिन्न छन्। आफ्ना बुबाका पालाको जस्तो नुन–चामलका एजेन्डा छैनन्, उनका। ‘पूर्वाधार विकाससँगै नगरमा आर्थिक समृद्धि मेरो मुख्य प्राथमिकता हो,’ एमालेकी उम्मेदवार सृष्टिले भनिन्। सबै गाउँमा सडक सञ्जालको पहँुच पुर्‍याउने वाचा उनले गरिन्।

‘लामो समयपछि निर्वाचन भएकाले पुस्ता हस्तान्तरण भएको देखियो,’ २०५४ को निर्वाचनमा कांग्रेसबाट जिविस सदस्य निर्वाचित पदमबहादुर शाहीले भने। बाजुरामा मुख्य दल एमाले, कांग्रेस र माओवादी केन्द्रले सबै स्थानीय तहका लागि उम्मेदवार टुंगो लगाइसकेका छन्। अहिलेको निर्वाचनमा एमालेले तय गरेका उम्मेदवार अजबहादुर मल्ल र कालीबहादुर शाहीबाहेक अरू सबै दोस्रो पुस्ताबाट मैदानमा छन्।

नौवटा तह रहेको जिल्लामा कांग्रेसले रामसिंह रावल र देवबहादुर रोकायाबाहेक सबैतिर युवापुस्तालाई नै अघि सारेको छ। माओवादी केन्द्र र राप्रपा पनि पहिलोपटक स्थानीय चुनावमा जान लागेकाले सबै नयाँ अनुहार छन्। दुवैतर्फका अधिकांश उम्मेदवार २०५४ मा बाल्यावस्थामै रहेकाहरू छन्।

चुनावमा युवापुस्ताको आगमन मात्रै भएको छैन। चुनावी एजेन्डासमेत फेरिएका छन्। भर्खरै प्रजातन्त्र आएकाले त्यतिबेलाका उम्मेदवार अधिकार प्राप्तिका मुद्दा लिएर चुनावी मैदानमा होमिएका थिए। अहिलेको चुनावमा अधिकार प्राप्तिको सवाल गौण देखिन्छ। त्यतिबेला दुर्गम गाउँमा सडक यातायात कल्पनै थिएन। अहिलेका उम्मेदवार सडक यातायातलाई मुख्य मुद्दाका रूपमा अघि सार्दै छन्। त्यतिबेला स्थानीय निकायले अधिकार पाउनुपर्नेमा दलहरूको जोड हुन्थ्यो। अहिले आफ्नो तहको समृद्धिको रेखा आफंैले कोर्ने सम्भावनासहित उम्मेदवार अघि बढेका छन्। जातीय विभेदविरुद्धका नारा पनि अहिले ओझेलमा परेका छन्।

बैतडीको दोगाडाकेदार–५ वनकाँडाका महेश कार्की भारतमा रोजगारी गर्छन्। निर्वाचनका बेला पहिलोपटक गाउँमा रहेका कार्कीलाई नेता, कार्यकर्ताका आश्वासन सुन्दा पत्याउन गाह्रो भएको छ। प्रचारमा आउने उम्मेदवार र कार्यकर्ताले दिने आश्वासन उनले पत्याउन नसकेका हुन्। वनकाँडा गाउँमा खानेपानीको चर्को समस्या छ। ‘चुनावी प्रचारप्रसार पहिलोपटक देखेको हँु, सजिलै पूरा गर्न सकिनेभन्दा असजिला वाचा गर्दारहेछन्,’ उनले भने, ‘खानेपानी लाइन मर्मत गरिदिन्छौं भने त पत्याउँथ्यौं, खोलाबाटै तान्छौं भनेको कसरी विश्वास गर्नु?’

६० घर रहेको उक्त गाउँमा धर्मघरबाट चडेपानी हुँदै आएको लाइनमा ८/१० दिन बिराएर पानी आउँछ। यहाँका स्थानीय दोलीबाट १ घण्टा उकालो पानी बोक्दै आएका छन्। भोट माग्न आएका उम्मेदवारले २ घण्टा तलको ढिकगाड खोलाबाट पानी तानेर गाउँमा ल्याउने आश्वासन दिएका छन्। कसैले आकाशे पानी संकलन गरेर रोपाइँ गर्न सकिने योजना सुनाएका छन्। पानी बोक्न दैनिक ४ घण्टा हिँड्नुपरेको स्थानीय बताउँछन्। दोलीको धारामा पालो बस्न र आउजाउमा ४ घण्टा बित्दा महिलालाई बढी समस्या भएको स्थानीयले बताए।

खानेपानी, सिँचाइ र यातायातको समस्या भोग्दै आएका स्थानीयलाई उम्मेदवारले सबै पूरा गर्ने आश्वासन दिन थालेका छन्। ‘घरैपिच्छे धारा र सिँचाइ सुविधा दिने भन्छन्, पानी नभएको डाँडामा सिँचाइ कसरी पूरा होला,’ गोविन्द महरले भने, ‘अघिल्ला चुनावमा पनि पानीकै माग गरेका थियौं, समस्या उस्तै छ।’

कांग्रेस, एमाले र माओवादी केन्द्रका उम्मेदवार घरघर पुग्न थालेका छन्। ‘अहिलेसम्म राजनीतिक दलकै कार्यकर्ता मिलेर सरकारी बजेट र विकास योजना उपभोग गरे, कहिल्यै पानीको समस्याबारे बोलेनन्,’ स्थानीय नन्दराम महरले भने, ‘यसपालि केही गर्न सक्ने र योजनामा रकम नखाने उम्मेदवारलाई भोट दिने सोचमा छौं।’

महिला वञ्चित 
अछाममा स्थानीय तहका प्रमुख पदमा महिला उम्मेदवार बनाउन दलहरूले कञ्जुस्याइँ गरेका छन्। यस्तोमा रामारोशनकी अनुराधा स्वाँर अपवादझैं भएकी छन्। उनी प्रमुख पदकी जिल्लाकै एकमात्र महिला उम्मेदवार बनेकी हुन्। उनलाई कांग्रेसले रामारोशन गाउँपालिका अध्यक्षको उम्मेदवार बनाएको छ।

‘अरू कुनै पार्टीले महिलालाई प्रमुख पद दिएनन्,’ कांग्रेसका जिल्ला प्रवक्ता वेदप्रकाश तिमिल्सेनाले भने, ‘नेतृत्वमा महिला पनि त्यत्तिकै सक्षम छन्, त्यसैले अनुराधाजीलाई अध्यक्षमा लडाएका हौं।’ उक्त क्षेत्रमा पार्टीको बलियो नेता नै उनी भएकाले पनि स्वाँरले सजिलै टिकट पाएको तिमिल्सिनाले बताए। जिल्लामा १० स्थानीय तह छन्।

छनोट नहुँदा अन्योल
कञ्चनपुरमा कांग्रेसले अझै उम्मेदवार छनोट नगर्दा नेता कार्यकर्ता अन्योलमा छन्। एमाले र माओवादी केन्द्रले एक/डेढ महिनाअघि नै उम्मेदवार छनोट गरेर प्रचार तीव्र पारिसक्दा पनि कांग्रेस नेता कार्यकर्ता उम्मेदवारबिना नै घरदैलोमा लागेका छन्।

केही वडाबाहेक सबै तहमा उम्मेदवार छनोट बाँकी रहेकाले आकांक्षी खुलेर प्रचार गर्न सकिरहेका छैनन्। नेता कार्यकर्ता घरदैलोमा जुटे पनि उम्मेदवारबिना नै प्रचार गर्न समस्या भइरहेको छ। ‘उम्मेदवारी टुंगो लाग्न नसक्दा आफ्नै लागि पनि मत माग्न गाह्रो भएको छ,’ वडाध्यक्षका एक आकांक्षीले भने, ‘पार्टीका नेता कार्यकर्ता पनि उम्मेदवार देखाउनेभन्दा पार्टीका लागि मत मागिरहेका छन्।’

कांग्रेस कञ्चनपुरका निवर्तमान सचिव भोजराज बोहराका अनुसार एक/दुई दिनभित्रै सबै उम्मेदवारको टुंगो लाग्ने देखिन्छ। ‘२५ गतेभित्रै उम्मेदवार छनोट गर्ने तयारी हो,’ उनले भने, ‘एक/दुई दिनमै टुंगो लाग्छ।’ उनका अनुसार मोटामोटी रूपमा उम्मेदवार छनोट भइसके पनि सार्वजनिक गर्न मात्रै बाँकी छ। यस्तै कञ्चनपुरमा बिहीबारदेखि मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि तालिम सुरु भएको छ। ४ दिनसम्म चल्ने तालिममा दुवै समूहका गरी ६ सय १० जनाभन्दा बढी सहभागी रहेको मुख्य निर्वाचन अधिकृत प्रकाश ढुंगानाले बताए।

जिल्लामा २ सय ९३ मतदान केन्द्रका लागि मतदान अधिकृत र सहायक मतदान अधिकृत छनोटपछि छुट्टाछुट्टै तालिम सुरु गरिएको हो। यसैगरी मतदान केन्द्रमा सहायक कर्मचारीका रूपमा खटिने कर्मचारीको नामावली संकलन भइसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। उनीहरूको खटनपटन भने अहिले भइसकेको छैन। ९ वटै तहमा खटिएका निर्वाचन अधिकृतहरू पनि स्थानीयस्तरमा छलफल र समन्वयसँगै मतदान केन्द्रको निरीक्षणमा लागेको मुख्य निर्वाचन अधिकृत ढुंगानाले बताए।

‘एकपटक जिल्ला सुरक्षा समितिले अनुगमन गरिसकेको थियो, अहिले निर्वाचन अधिकृतहरू फेरि अनुगमन गरिरहेका छन्,’ उनले भने, ‘सम्बन्धित स्थानीय तहमै खटिएर निर्वाचनको आवश्यक तयारी गरिरहेका छन्।’

Source : Ekantipur

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com