अब न्युयोर्क सिटीमा ग्रिनकार्ड र वर्क परमिट हुनेलाई पनि मताधिकार, बिल बहुमतले पारित


प्रकाशित मिति : मंसिर २३, २०७८ बिहीबार

न्युयोर्क सिटीमा अब गैर नागरिकलाई पनि मताधिकार प्रदान गरिएको छ । न्युयोर्क सिटी काउन्सिलमा ग्रिनकार्ड र वर्क परिमट हुनेहरुलाई समेत मताधिकार दिने बिल आज बहुमतले पारित भएको हो ।

३३ जना काउन्सिल सदस्यहरुले बिलका पक्षमा मतदान गरेका छन् । दुईजना अनुपस्थीत रहेको र बिलका विपक्षमा १४ मत खसेको छ । न्युयोर्क सिटीमा कम्तीमा ३० दिन बसोबास गरेका ग्रिनकार्डवाहक, वर्क परमिट हुनेहरु र डाकाले समेटिएकाहरुले मताधिकार पाउने प्रावधान बिलमा रहेको छ ।

मतदान अगाडि बिल पारित गराउन दवाव दिदै दर्जनौं समर्थकहरुले सिटी हलबाहिर प्रदर्शन गरेका थिए । मेयरले हस्ताक्षर गरेपछि यो बिल आगामी जनवरी १ बाट कार्यान्वयनमा आउनेछ ।

पदावधि सकिदै गरेका वर्तमान मेयर बिल ब्लाजिओले बिलमा भिटो नलगाउने संकेत गरेका छन् । उनले सिटी काउन्सिलको निर्णयको सम्मान गर्ने बताएपनि केही कानूनी प्रश्नहरु रहेको भन्दै मिश्रित भनाई सार्वजनिक गरेका छन् । मेयरको कार्यभार सम्हाल्ने तयारीमा रहेका एरिक आडम्सले पनि बिलको अवधारणामा सहमति जनाएपनि योग्य ग्रिनकार्डवाहकलाई नागरिक बन्न प्रोत्साहन गर्नुपर्ने उल्लेख गर्दै केही प्रश्नहरु उठाएका छन् ।

अब न्युयोर्क सिटीमा बस्ने झण्डै ६ लाख ५० हजार ग्रिनकार्डवाहकसहित ८ लाख गैर नागरिकहरुलाई समेत स्थानीय चुनावमा मत दिन योग्य भएका छन् । न्युयोर्क सिटीमा मेयर, सिटी काउन्सिल सदस्य लगायतका पदहरुमा उनीहरुले मतदान गर्न पाउनेछन् । तर राज्य र संघीय स्तरका चुनावमा भने मतदान गर्न पाउनेछैनन् ।

न्युयोर्क सिटीभित्र बस्ने ठूलो संख्यामा नेपाली ग्रिनकार्डवाहकसमेत मताधिकारका लागि योग्य भएका छन् । नेपाली भाषी समुदाय न्युयोर्कमा उदयमान अल्पसंख्यक भएपनि झण्डै ५० हजार न्युयोर्क बासी नेपालीहरुमध्ये झण्डै ५ प्रतिशतमा मात्र मताधिकार रहेको छ । अब बहुसंख्यक नेपालीहरु प्रजातान्त्रिक प्रकृयामा सहभागी हुन योग्य भएका छन् ।

न्युयोर्क सिटीमा गैर नागरिकलाई समेत मताधिकार प्राप्त हुनुपर्ने विषयमा लामोसमयदेखि वकालत हुँदै आएको थियो । सिटी काउन्सिलम्यान यदानिस रोड्रिगेजले यो बिलको स्पोन्सर गरेका थिए । रोड्रिगेज डोमेनिक रिपब्लिकबाट अमेरिका आएका आप्रवासी हुन् ।

रोड्रिगेज आफै सन् १९८३ मा ग्रिनकार्डसहित अमेरिका आएका थिए भने सन् २००० मा अमेरिकी नागरिकता लिएका थिए । यो बीचमा उनले डिसवासरदेखि ट्याक्सी चालकसम्मको काम गरेर सिटीलाई ट्याक्स तिरेका थिए तर चुनावी प्रकृयामा सहभागी हुन पाएका थिएनन् ।

यसप्रकारको विधेयक सिटी काउन्सिलमा ल्याइएको यो नै पहिलोपटक भने होइन । सन् २००९ र सन् २०१३ मा पनि यो बिल प्रस्ताव गरिएको थियो । तर बिल पारित भएन । अब भने सन् २०२२ मा हुने स्थानीय निर्वाचनमा ग्रिनकार्ड वाहक र वर्क परमिट हुनेहरुले पनि मतदान गर्न पाउने भएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com