अमेरिका आएको दुईमहिनामै बाकसमा नेपाल फिर्ता भइन् बर्खा खड्का प्रसाई


प्रकाशित मिति : मंसिर १६, २०७८ बिहीबार

अमेरिका आएको झण्डै दुईमहिनामै बाकसमा नेपाल फिर्ता भएकी छिन् बर्खा खड्का प्रसाई । केहीदिन अगाडि अमेरिकाको मेरिल्याण्डमा गाडीको ठक्करबाट ज्यान गुमाएकी खड्काको शव आज अमेरिकाको वासिंटन डिसीबाट नेपाल पठाइएको हो ।

मेरिल्याण्ड राज्य संसदमा सांसद एचबी भण्डारीले परिवारको सदस्यहरुको चाहना अनुशार खड्काको पार्थिव शरीर सरोकारवाला निकायहरुसँगको समन्वयमा सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरी आज पूर्वी समय बेलुका ७ बजे वाशिंगटन डीसीबाट नेपाल पठाइएको जानकारी दिए । यो दुखद समयमा सहयोग गर्ने नेपाल दूतावास वाशिंगटन डिसी, आइओएम, एयरलाइन्स लगाएत भण्डारीले धन्यवाद दिएका छन् ।

अमेरिकाको मेरिल्याण्डको प्रिन्स जर्ज काउन्टीमा गाडीको ठक्करबाट ४० बर्षीया बर्खा खड्का प्रसाईको निधन भएको थियो । सपर्स वे मा मेडिकल सेन्टर ड्राइभ पार गर्न लाग्दा प्रसाईलाई गाडीले ठक्कर दिएको थियो । नोभेम्बरको तेश्रो साता भएको थियो ।

तत्कालै नजिकको अस्पतालमा लगिएपनि अस्पतालले उनलाई मृत घोषणा गरेको थियो । नेपालमा झापाको बुद्धशान्ती गाउँपालिका स्थायी घर भएकी प्रसाई अमेरिकाको मेरिल्याण्डमा नै बस्दै आएकी थिइन् ।

इन्टरनेशल अर्गनाइजेशन फर माइग्रेशन आईओएममा कार्यरत प्रसाई दुईमहिना अगाडिमात्र आईओएम अन्तरगत अमेरिकामा काम गर्नका लागि आएकी थिइन् । सुरुमा अफगानिस्तानबाट आएका शरणार्थीहरुको कामका लागि भर्जिनियाको फोर्टलीमा रहेको आर्मी क्याम्पमा खटाइएको थियो ।

आफ्ना श्रीमान मदन प्रसाईका साथमा बर्खा खड्का प्रसाई

उनको अवधि थप गरेर मार्चसम्मका लागि वासिंटन डिसीमा रहेको आईओएम मुख्यालयमा खटाइएको थियो । मृत्यु हुनु एकसाता अगाडिदेखि वासिंटन डिसीको मुख्यालयमा काम गर्न थालेको पारिवारिक श्रोतले जनाएको छ । प्रसाईलाई मेरिल्याण्डमा आफन्तकोमा बसेर घर फर्कने क्रममा ट्रेनबाट निस्केर बाटो क्रस गर्नलाग्दा गाडीले ठक्कर दिएको हो ।

अन्तर्राष्ट्रिय संघसंस्थामा कार्यरत कर्मचारीहरुलाई प्रदान गरिने जी भिसामा अमेरिकी आएकी बर्खा खड्का प्रसाईका श्रीमान मदन प्रसाई नेपालमै रहेका छन् । आफ्नो कान्छो भाईको श्रीमतीको दुर्घटनामा दुखद निधन भएको खबरले आफूहरु स्तब्ध भएको न्युयोर्क निवासी मुकेश प्रसाईले खसोखासलाई बताए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com