झण्डै ४ सय प्रकारका अमेरिकी ग्रिनकार्ड, कोड हेरेर थाहा पाउनुहोस् ग्रिनकार्डको श्रेणी


प्रकाशित मिति : मंसिर १४, २०७८ मंगलबार

सामान्यतया अमेरिकी ग्रिनकार्ड भन्नासाथ अमेरिकामा स्थायी बसोबासका लागि दिइएको अनुमतिपत्रमात्र बुझिन्छ । तर यसका प्रकारबारे भने धेरैले याद नगरेका हुनसक्छन् । तर अमेरिकी ग्रिनकार्डका झण्डै ४ सय प्रकारका श्रेणीहरु रहेका छन् ।

व्यक्तिले कसरी ग्रिनकार्ड प्राप्त गरेको हो भन्ने श्रेणी उसको ग्रिनकार्डमा नै उल्लेख गरिएको हुन्छ । उक्त श्रेणी कोड भाषामा मात्र ग्रिनकार्डमा उल्लेख गरिएको हुन्छ । अध्यागमनबारे जानकारी भएका व्यक्ति वा अधिकारीहरुले कुन श्रेणीको ग्रिनकार्ड हो भन्ने कुरा कोड हेरेर तुरुन्तै थाहा पाउन सक्छन् ।

तपाईको ग्रिनकार्डमा तपाईले क्याटेगोरी भन्ने शब्द देख्नुभएको होला, त्यसैमा उल्लेखित कोडले तपाईले कसरी ग्रिनकार्ड प्राप्त गर्नुभयो भन्ने जनाउँछ । यदि तपाईको अमेरिकाबाहिरबाटै रोजगारमा आधारित एक्स्ट्राअर्डिनरी ग्रिनकार्ड स्वीकृत भएको छ भने त्यसमा ई११ लेखिएको हुन्छ तर तपाईले अमेरिकामा कुनै भिसामा आएर एक्स्ट्राअर्डिनरी ग्रिनकार्ड प्राप्त गर्नुभएको छ भने त्यसमा ई १६ लेखिएको हुन्छ ।

तपाईले अतिदक्ष प्रोफेसर वा शोधकर्ताका रुपमा अमेरिकाबाहिरबाटै ग्रिनकार्ड स्वीकृत गराउनुभएको छ भने तपाईको ग्रिनकार्डको क्याटेगोरी ई १२ हो, तर अरु भिसामा आएर अतिदक्ष प्रोफेसर वा शोधकर्ताका रुपमा ग्रिनकार्ड पाउनुभएको छ भने तपाईको ग्रिनकार्डको क्याटेगोरी ई १७ हो । यसरी ग्रिनकार्ड प्राप्त गर्नेका दम्पत्ति वा छोराछोरीका लागि फरकफरक क्याटेगोरी उल्लेख गरिएको हुन्छ ।

डिभी लोटरीमा आउनेको क्याटेगोरी डिभी १ उल्लेख गरिएको हुन्छ तर अमेरिकामा नै डिभी परेर ग्रिनकार्ड पाउनेको भने डिभी ६ उल्लेख गरिएको हुन्छ । तपाईले ग्रिनकार्डवाहकसँग विवाह गर्नुभएको छ भने तपाईको ग्रिनकार्डको क्याटेगोरी एफ २१ वा एफ २६ हो तर तपाईले अमेरिकी नागरिकसँग विवाह गर्नुभएको छ भने तपाईको कण्डिसनल ग्रिनकार्डको क्याटेगोरी सीआर १ वा सीआर ६ हो तर १० बर्षे ग्रिनकार्डको क्याटेगोरी आई आर १ वा आईआर ६ हो ।

यदि तपाईले एसाइलम गरेर ग्रिनकार्ड लिनुभएको हो भने तपाईको ग्रिनकार्डमा एएस ६ लेखिएको हुन्छ र तपाईको दम्पत्तिको ग्रिनकार्डमा र्ए एस ७ लेखिएको हुन्छ ।

कुन श्रेणीको ग्रिनकार्डमा के कोड लेखिएको हुन्छ ? यहाँ पढ्न सक्नुहुनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com