विवाह पञ्चमी नजिकिँदै गर्दा जनकपुुरवासीमा बढ्दो फोहरको चिन्ता,एक सातादेखि फोहर उठेन


प्रकाशित मिति : मंसिर १२, २०७८ आईतबार

धार्मिक आस्थासँग जोडिएको ऐतिहासिक सीताराम विवाह पञ्चमी महोत्सव भव्यपूर्वक मनाउन तयारीमा जुटेका जनकपुरवासी बढ्दो फोहरको डङ्गुरले चिन्तित बनेका छन् । जनकपुर उपमहानगरपालिकाका कर्मचारीको आन्दोलनका कारण विगत एक सातादेखि फोहर नउठ्दा नगरक्षेत्रका सडकमा फोहरको डङ्गुर बढेर दुर्गन्ध फैलिन थालेकाले जनकपुरवासी चिन्तित बनेका हुन् ।

यहाँका मुख्य सडक तथा गल्लीसँगै धार्मिकस्थलमा समेत फोहरको डङ्गुर लागेपछि महामारी फैलिने त्राससमेत बढेको स्थानीयवासीले बताए । फोहर थुपिँ्रदै गएपछि यहाँका सडक सुङ्गुर खेल्ने र रमाउनेस्थलका रुपमा परिणत हुन थालेको जनकपुर उपमहानगरपालिका– २ कदम चोकका श्याम साहले चिन्ता व्यक्त गर्नुभयो ।

“उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीबीचको विवादले विगत एक सातादेखि नगरक्षेत्रको फोहर उठ्न सकेको छैन”, उहाँले भन्नुभयो, “जनकपुरका सबै सडक र गल्लीमा फोहर थुप्रिएर दुर्गन्ध फैलिन थालेको छ भने लामखुट्टेको प्रकोप पनि बढ्दै गएको छ । यस्तै रहे जनकपुरमा हैजा नफैलिएला भन्न सकिन्न ।”

भगवान् राम सीताको विवाहसँग जोडिएको विवाह पञ्चमी महोत्सव यस वर्ष पनि जनकपुरमा साताव्यापीरुपमा मनाउने तयारी गरिएको छ । मङ्सिर १७ देखि २३ गतेसम्म विविध कार्यक्रम गरी धुमधामका साथ मनाउने तयारी भइरहेका बेला जनकपुरका सडकमा थुप्रिएको फोहरले सबैलाई निराश बनाएको प्रदेशसभा सदस्य रामअशिष यादवले बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सिङ्गो हिन्दू समुदायको धार्मिक आस्थासँग जोडिएको विवाह पञ्चमी महोत्सव सुरु हुन एक साताभन्दा पनि कम समय बाँकी रहँदासमेत उपमहानगरपालिकाले फोहर उठाउन चासो नदिँदा जनकपुरवासीमा चिन्ता बढेको उहाँको भनाइ थियो ।

“जनकपुर उपमहानगरपालिकाले फोहर सङ्कलनमा गम्भीर नभएकाले नगरक्षेत्र दुर्गन्धित भएको हो”, प्रदेशसभा सदस्य यादवले भन्नुभयो, “जनप्रतिनिधि र कर्मचारीको विवादका कारण सिङ्गो जनकपुर नै फोहर थुप्रेर कुरुप बन्न पुगेको छ। यो कदापि उचित होइन तसर्थ छिटोभन्दा छिटो फोहर उठाएर नगर क्षेत्रलाई सफा बनाउनुपर्छ ।”
“विवाह पञ्चमीका समयमा नेपाल तथा छिमेकी मुलुक भारतबाट लाखाँैको सङ्ख्यामा श्रद्धालु भक्तजन जनकपुर आउने गर्छन्”, उहाँले बताउनुभयो, “यस्तै अवस्था रहे जनकपुर महामारीको चपेटामा पर्ने र यहाँको पहिचान नै सङ्कटमा पर्नसक्ने खतरा छ ।”

त्यसैले आन्तरिक घरझगडाका कारण सिङ्गो जनकपुरवासीलाई फोहरको चपेटामा पार्न नहुने प्रदेशसभा सदस्य यादवको भनाइ थियो । नगरक्षेत्रको चारैतिरका सडक, गल्ली र धार्मिकस्थलमा फोहरको डङ्गुर बढ्दै गएकाले नजिकिँदै गरेकोे विवाह पञ्चमी महोत्सवमै असर पार्ने चिन्ता बढेको जानकी मन्दिरका महन्थ रामरोशन दास श्रीवैष्णवले बताउनुभयो ।

“हामीले विवाह पञ्चमीका दिन भारतको अयोध्याबाट आउने जन्तीको स्वागत गर्नेदेखि श्रद्धालुको सुविधाका लागि पण्डाल तथा स्वागतद्वार निर्माणलगायत तयारीमा जुटेका छौँ”, उहाँले भन्नुभयो, “तर नगरक्षेत्रमा बढ्दो फोहरले गर्दा समस्यामा परेका छौँ ।” नगरक्षेत्रको फोहर उठाएर विवाह पञ्चमीमा आउने श्रद्धालुका लागि सरसफाइ र खानेपानीको व्यवस्था मिलाइदिन उपनगरप्रमुखसँग आग्रह गरे पनि कुनै प्रगति नभएको उहाँको गुनासो थियो ।

वडा नं ४ का वडाध्यक्ष सुदर्शन सिंह र वडा सदस्य पङ्कज मण्डलले कुटपिट गरेको भन्दै कर्मचारी विगत एक सातादेखि सरसफाइलगायत सम्पूर्ण कामकाज ठप्प पारेर आन्दोलनमा उत्रेका छन् । गत मङ्गलबार वडा ३, ४ र ७ का वडाध्यक्ष तथा वडा सदस्यले नगरको सरसफाइका विषयलाई लिएर उपमहानगरपालिका कार्यालयमा नाराबाजी गर्नाका साथै उपमहानगरप्रमुख लालकिशोर साहको कार्यकक्षमा तालाबन्दीसमेत गरेका थिए । जनप्रतिनिधि र कर्मचारीबीचको विवाद साता बित्न लाग्दासमेत समाधान गर्नेतर्फ कुनै पहल नभएको स्थानीयवासीको गुनासो थियो ।

एकातिर विवादकै कारण लामो समयदेखि फोहर उठ्न नसक्दा जनकपुर दुर्गन्धित बनेको छ भने अर्कोतिर दैनिकरुपमा उत्पादन हुने फोहरको व्यवस्थापन कहाँ गर्ने भन्ने चुनौती थपिएको छ । बढ्दो शहरीकरण र जनसङ्ख्याका कारण नगर क्षेत्रमा दैनिक फोहर बढ्दै गएको छ । “प्रदेश २ को अस्थायी राजधानी हुनुपूर्व अर्थात् केही वर्षअघिसम्म उपमहानगरपालिका क्षेत्रमा दैनिक छ÷सात मेट्रिकमात्र फोहर उत्पादन हुन्थ्यो”, उपमहानगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत मेघीलाल यादवले भन्नुभयो, “अहिले जनकपुरमा दैनिक १० मेट्रिकटन फोहर उत्पादन भइरहेको छ तर फोहर फाल्ने डम्पिङसाइट बनाउन सकिएको छैन । जसका कारण फोहर फ्याल्नै गाह्रो भइरहेको छ । ”

नगरक्षेत्रमा फोहर उठन नसकेको भन्दै चौतर्फी गुनासो उठ्न थालेपछि आफूले फोहर व्यवस्था गर्न पहल गरे पनि उपमहानगरपालिकाबाट सहयोग नपाएकाले सफल नभएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताउनुभयो ।

“फोहरले नगर नै दुर्गन्धित भयो भनेर धेरैतिरबाट गुनासो आएपछि म आफैँले नगर प्रमुखलाई फोन गरेर विवाद समाधान गरी फोहर व्यवस्थापन गर्न आग्रह गरँे तर नगरप्रमुखज्यूले म किन वडाध्यक्षसँग कुरा गर्नु भन्दै पन्छिनुभयो”, प्रजिअ बास्तोलाले भन्नुभयो, “त्यसपछि सुरक्षाकर्मी र अन्य सरोकारवाला निकायको सहयोगमा फोहर उठाउने प्रयास गरेँ तर नगरक्षेत्रमा फोहोर फ्याल्ने डम्पिङसाइट नभएकाले समस्या भएको छ ।” फोहरले ठूलो समस्या निम्त्याउन सक्ने भएकाले समयमै यसको व्यवस्थापन गर्नेतर्फ उपमहानगरपालिका चनाखो हुनुपर्ने र त्यसका लागि सरोकारवालाले पनि पहल गर्नुपर्ने उहाँको भनाइ थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com