को हुन् देउवा ? (बायोग्राफी)


प्रकाशित मिति : जेष्ठ २३, २०७४ मंगलबार

पारिवारिक पृष्ठभूमि

देउवा २००३ साल जेठ ३१ गते डडेल्धुराको अशिग्राम–५ रुवाखोलामा जन्मिएका हुन् । देउवाका बाबु श्रीप्रसाद सिंह, आमा दौपद्री हुन् ।
डोटी राज्यकालमा चर्चित बनेका क्षेत्रीय राजपुत (ठकुरी) देउवाहरु यसै कुलका पूर्वजहरु थिए । प्रशाद सिंह देउवा रजवारका दुई श्रीमती (डडेल्धुरा गणेशपुर मैरोड़ाका मल्लकुलकी छोरी धनादेबी (मल्ल) देउवा र डोटी बोगटानका ठकुरी बम कुलकी छोरी द्रोपती (बम) देउवा) बाट ३÷३ छोराहरु गरेर ६ छोराहरु जन्मिए । यीमध्ये शेरबहादुर देउवा जेठा हुन् । देउवाका भाइहरुमा लोकबहादुर देउवा, गणेश बहादुर देउवा, प्रेम बहादुर देउवा, ललित बहादुर देउवा र बल बहादुर देउवा छन् । ६ भाइ मध्ये जेठा शेरबहादुर मात्र राजनीतिमा आए । उनै देउवाका श्रीमती आरजु पनि कांग्रेस सांसद छिन् । देउवाका एकमात्र छोरा जयबिर देउवा बेलायतमा अध्ययनरत छन् ।

राजनीतिक जीवन

२०२० सालदेखि कांग्रेसको राजनीतिमा होमिएका देउवा २०२८ सालमा नेविसंघको सभापति बने । २०४८ सालमा डडेल्धुराबाट सांसद जिते । सोही आमचुनावबाट २०४८ सालमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारमा गृहमन्त्री बनेका देउवा २०५२, २०५८ र २०६१ सालमा प्रधानमन्त्री बने । तीन कार्यकालमा गरी देउवा तीन वर्ष दुई महिना प्रधानमन्त्री बने । देउवा एकपटक मन्त्री र चारपटक प्रधानमन्त्री बन्न सफल भएका छन् ।
देउवाले २०५१, २०५६ डडेल्धुराबाट निर्वाचन जिते । २०६४ सालको संविधानसभा निर्वाचनमा देउवा डडेल्धुरा र कञ्चनपुर ४ बाट विजयी भए । २०७० सालको दोस्रो संविधानसभामा डडेल्धुरा र कैलाली ६ बाट निर्वाचित भए ।

शैक्षिक योग्यता

देउवाले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर, कानुनमा स्नातक गरेका छन् । देउवा बेलायत लण्डनको स्कूल अफ इकोनोमिक्स (राजनीतिशास्त्र)मा सन् १९८९ मा।

तीनै पटक प्रधानमन्त्रीत्व उतारचढावपूर्ण

देउवा २७ भदौ २०५२ सालमा पहिलोपटक प्रधानमन्त्री बने । पहिलोपटक प्रधानमन्त्री बनेको ६ वर्षपछि २०५८ साउन ११ मा देउवा दोस्रोपटक प्रधानमन्त्री बने । दोस्रो पटक प्रधानमन्त्री बनेपछि भने देउवाको जीवनमा धेरै उतारचढाव आयो ।
माओवादी जनयुद्ध उत्कर्षमा पुगेका बेला संकटकाल लम्ब्याउने विषयमा निर्णय गरेको भन्दै कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले २०५९ जेठ १९ मा प्रधानमन्त्री भएकै बेला देउवालाई साधारण सदस्यताबाटसमेत निकालिदिए ।

त्यसपछि २०५९ साल ४ असोजमा देउवाले आफ्नै नेतृत्वमा नेपाली कांग्रेस प्रजातान्त्रिक गठन गरे । अलग कांग्रेस गठन गरेको १५ दिनपछि नै देउवा तत्कालीन राजा ज्ञानेन्द्रको सिकार भए । निर्वाचन गराउन नसकेको भन्दै ज्ञानेन्द्रले देउवालाई अक्षम घोषणा गरेका थिए । त्यसपछि प्रतिगामी शासन हावी भएको भन्दै कांग्रेस, एमाले, मालेसहितका दल आन्दोलनमा उत्रिए ।
दलहरुले निरन्तर आन्दोलन गरेपछि २०६१ साल जेठ २९ मा राजाले पुनः देउवालाई प्रधानमन्त्री बनाए । तर, तेस्रोपटकको प्रधानमन्त्रीकाल ८ महिनाभन्दा अघि बढ्न सकेन । २०६१ साल १९ माघमा ज्ञानेन्द्रले देउवालाई पुनः हटाउँदै आफ्नै नेतृत्वमा शासन सुरु गरे ।

साभार : नयाँपत्रिका

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com