यसरी अमेरिका झिकाएर विवाह गर्न सकिन्छ मंगेतरलाई, विवाहदेखि ग्रिनकार्डसम्मको प्रकृया यस्तो


प्रकाशित मिति : मंसिर ४, २०७८ शनिबार

यदि तपाई अमेरिकी नागरिकताप्राप्त व्यक्ति हुनुहुन्छ भने तपाईले आफ्नो विदेशमा रहेको मंगेतरलाई अमेरिकामा बोलाएर विवाह गर्न सक्नुहुनेछ । के वान नामको यो भिसाले तपाईको मंगेतरलाई अमेरिकामा आउनमा अनुमति प्रदान गर्छ तर यसरी आउने व्यक्तिले अमेरिकामा रहेको आफ्नो मंगेतरसँग ९० दिनभित्र विवाह गरिसक्नुपर्छ ।

सामान्यतया मंगेतरका रुपमा अमेरिका आउने व्यक्ति र झिकाउने व्यक्तिबीच विगत २ बर्षभित्र भौतिक रुपमा नै भेट भएको हुनुपर्छ । तर विवाह अगाडि नै भेट्ने संस्कार नहुनेहरुको सन्दर्भमा भने अमेरिकी सरकारले उक्त कठिनायीको आधारमा भिसा स्वीकृत गर्नसक्छ ।

यो भिसामा मंगेतरलाई अमेरिकामा ल्याउनका लागि अमेरिकी सरकारको युएससीआईएसमा फर्म आई १२९ एफ भरेर आवेदन दिनुपर्छ । यो फर्म अमेरिकी दूतावास, कन्सुलेट वा युएससीआईएसका विदेशमा रहेका कार्यालयमा भर्न मिल्दैन ।

फर्म उचित शुल्क र कागजातसहित यो ठेगानामा पठाउनुपर्छ ।

यो आवेदन दिएपछि जब युएससीआईएसले तपाईको आवेदन स्वीकृत गर्छ, त्यसपछि केसलाई नेशनल भिसा सेन्टर समक्ष पठाउँछ । नेशनल भिसा सेन्टरले तपाईलाई केस नम्बर उपलब्ध गराउनुका साथै आवेदनलाई सम्बन्धित देशको दूतावासमा पठाउँछ ।

नेशनल भिसा सेन्टरबाट अन्तरवार्ताको तयारीका लागि पत्र आइसकेपछि डीएस १६० फर्म भर्नुपर्छ । त्यसपछि अन्तरवार्तामा जाँदा डीएस १६० भरेर अनलाइनमार्फत पेश गरेको कन्फर्मेशन, अद्यावधिक पासपोर्ट, जन्मदर्ता प्रमाणपत्र, पुलिस रिपोर्ट, स्वास्थ्य परिक्षण, फर्म आई १३४ भरेको स्पोन्सर, २ वटा तस्वीर, अमेरिकी नागरिक मंगेतरसँगको सम्बन्धको प्रमाण र तोकिएको शुल्क लिएर दूतावास वा कन्सुलेटमा जानुपर्छ । कागजातहरु अँग्रेजी भाषामा वा अँग्रेजीमा अनुवाद गरेर नोटरी गरिएको हुनुपर्छ ।

भिसा स्वीकृत भइसकेपछि कन्सुलर अफिस वा अमेरिकी दूतावासले भिसाका साथमा एउटा बन्द गरिएको प्याकेट समेत दिन्छ । यो प्याकेट नखोलीकनै अमेरिका आउने क्रममा अमेरिकाको विमानस्थलमा आइसकेपछि अध्यागमन अधिकारीहरुलाई बुझाउनुपर्छ । सामान्यतया मंगेतर भिसा ६ महिनाको हुने भएकाले ६ महिनाभित्र अमेरिका प्रवेश गरिसकेको हुनुपर्छ ।

अमेरिका आइसकेपछि अमेरिकी सरकारले तोकेको निकायमा कानुनी विधिपूर्वक विवाह गर्नुपर्छ । विवाह गरिसकेपछि अमेरिकी नागरिकता हुने दम्पत्तिले ग्रिनकार्ड आवेदन आई ४८५ आवेदन फाइल गर्नुपर्छ । तयसपछि उक्त आवेदन स्वीकृत भइसकेपछि ग्रिनकार्ड प्राप्त हुन्छ ।

यी टिप्सहरु सामान्य जानकारीका लागिमात्र हुन् । आफ्नो प्रकृया सुरु गर्नका लागि लाइसेन्सप्राप्त कानुन व्यवसायी वा अमेरिकाको सम्बन्धित सरकारी निकायमा सम्पर्क गर्नुहोला ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com