अमेरिका आउँदाको ऋण तिर्न नपाउँदै न्युयोर्क आगलागीमा ज्यान गुमाए ३० बर्षका तामाङ


प्रकाशित मिति : कार्तिक २६, २०७८ शुक्रबार

न्युयोर्कको डचेस काउन्टीमा भएको आगलागीमा पूरै घर ध्वस्त हुँदा ज्यान गुमाउने व्यक्ति ३० बर्षका नेपाली युवा वाङदी तामाङ भएको पुष्टी भएको छ । तामाङ सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका स्थायी बासिन्दा भएको सिन्धु युएसए वेलफेयर सोसाइटीले जनाएको छ ।

शनिबार विहान ८ बजे भएको आगलगीपछि पूरै घर ध्वस्त हुँदा तामाङको सुतेकै अवस्थामा मृत्यु भएको जनाइएको छ । उक्त घरमा ७ जना व्यक्ति बस्दै आएपनि आगलागी भएको बेलामा २ जना भने घरमा थिएनन् । तीनजना भने आगलागीपछि अग्नीनियन्त्रक आउनु अगाडि नै घरबाहिर निस्कन सफल भएका थिए ।

आगलागीमा २४ बर्षकी जेनी याङको पनि मृत्यु भएको छ । जेनीकी आमा ५१ बर्षकी एमी याङ आगलागीपछि घरबाट बाहिर निस्कन सफल भएकी थिइन् । तर उनी घाइते भएकाले कनेक्टिकटको अस्पतालमा उपचारका लागि लगिएको थियो । उनी खतरामुक्त रहेको जनाइएको छ । गोल्डेन ओक रेष्टुरेण्टकी संचालिका एमीका पतिको ७ बर्ष अगाडि अचानक निधन भएको थियो ।

आगलागी के कारणले भएको हो भन्नेबारे केही खुलेको छैन । आगलागीबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । वाङदी तामाङको अमेरिका आउँदा लागेको ऋण समेत तिर्न बाँकी रहेको र मृत्युपछिको धार्मिक पूजाका लागि समेत रकम आवश्यक भएको भन्दै सिन्धु युएसए वेलफेयर सोसाइटीले सहयोगको आव्हान गरेको छ ।

सहयोगका लागि सिन्धु युएसए वेलफेयर सोसाइटीको फेसबुक पेजमा गएर डोनेशन फर वाङदी लेखेर वा जेलमार्फत पनि गर्न सकिनेछ । जेलमार्फत गर्नका लागि Sindhuusa2010@gmail इमेल ठेगाना प्रयोग गर्न सकिनेछ । थप जानकारीका लागि छिरिङ तेन्जिङ लामालाई ३४७ ९९३ ६६७४ मा सम्पर्क गर्न सकिनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com