अमेरिकाको बाल्टिमोरका पब्लिक स्कुलमा अब तिहारमा विदा दिइने


प्रकाशित मिति : कार्तिक २५, २०७८ बिहीबार

अमेरिकाको मेरिल्याण्ड राज्यको वाल्टिमोर काउन्टीको पब्लिक स्कुल सिष्टिमले हिन्दूहरुको महान चाड तिहारको अवसरमा विद्यार्थीलाई विदा दिने निर्णय गरेको छ । मंगलबार बसकेको स्कुल कमिटिको वैठकले उक्त निर्णय गरेको मेरिल्याण्डका डेलिगेट ह्यारी भण्डारीले जनाएका छन् । ्

यसको लागि आफू र आफ्नो अफिसले वोर्डलाई अनुरोध गर्दे आएको तथा मंगलवार भएको सुनुवाईमा यसको आवश्यकताको वारेमा वोर्डका सदस्यहरुलाई जानकारी गराएको भण्डारीले सामाजिक सञ्जालमार्फत जनाएका छन् । वोर्डको वैठकले सर्वसम्मत रुपमा उक्त प्रस्तावको अनुमोदन गरिदिएकोमा वोर्ड र बोर्डका सम्पूर्ण सदस्यहरुलाई भण्डारीले धन्यवाद दिएका छन् ।

मेरिल्याण्ड राज्यका सांसद ह्यारी भण्डारी ।

वाल्टिमोर काउन्टी पव्लिक स्कूल सिष्टमको आगामी वर्ष सन् २०२२ को लागि २ अर्व ३१ करोड डलर वजेट विनियोजन भएको छ । यो अमेरिका भरकै ठूला विद्यालय स्कूल सिष्टममध्ये एक हो । आगामी वर्षको क्यालेण्डरमा समावेश गरेर दिईने विदाले वाल्टिमोर काउन्टीको विद्यालयमा अध्ययनरत यो पर्व मनाउने सबै विद्यार्थी वालवालिकाहरुले तिहार पर्वलाई गौरव र सम्मानका साथ उल्लासपूर्वक मनाउन पाउने भएका छन् ।

यस अगाडि मेरिल्याण्ड राज्यको संसदको तल्लो सदन हाउस अफ डेलिगेट्सका सदस्य नेपाली मुलका ह्यारी एचबी भण्डारीले राज्यमा दशैंलाई चाडको मान्यता दिलाउनका लागि औपचारिक रुपमा सदनमा बिल दर्ता गराएका थिए । उक्त बिल राष्ट्रपति क्लिन्टन प्रशासनमा अमेरिकी राजदूतको रूपमा काम गरेका सिनेटर जिम रोजापेपेले माथिल्लो सदन सिनेटमा पनि दर्ता गराएका थिए ।

प्रत्येक बर्ष अक्टोबर १४ लाई गभर्नरले दशैं स्मारक दिवसका रुपमा घोषणा गर्नुपर्ने प्रावधानका लागि उक्त बिल संसदमा दर्ता गराइएको हो ।
बिल दर्ता गराउँदै भण्डारीले ती हलहरुमा हिंडेका थोमस जेफर्सन र जर्ज वासिंटनहरुको याद आएको, लोकतन्त्र र विविधताको शक्ति सम्झेको तथा नेपाल र सगरमाथाको याद आएको बताएका थिए । दशैं धार्मिकमात्र नभई भाइचारा सम्बन्ध र सांस्कृतिक महत्वको चाड भएकाले राज्यमा औपचारिक रुपमा मान्यता दिलाउनका लागि यो बिलका लागि पहल गरेको भण्डारीले बताए ।

बिभिन्न कमिटिमा छलफल र दुबै सदनबाट पारित भइसकेपछिमात्र बिल कार्यान्वयनमा आउनेछ । झण्डै एकदर्जन प्रकृया पूरा भएपछि बिल गभर्नर समक्ष जाने र गभर्नरले हस्ताक्षर गरेपछि कार्यान्वयनमा आउनेछ । तर बिलमा दुईतिहाई बहुमतबाट पारित भएमा गभर्नरले हस्ताक्षर नगरेपनि बिल कार्यान्यनमा आउने प्रावधान छ ।

हिन्दु नेपालीहरुले मनाउने दशैं अमेरिकामा रहेका नेपालीहरुले पनि हर्षोल्लासका साथ मनाउँदै आएका छन् । तर दशैंलाई सरकारी स्तरबाट मान्यता प्राप्त नभएका कारण धेरै अमेरिकनहरुलाई यो पर्वबारे जानकारी छैन । त्यसैले अमेरिकामा रहेका नेपालीहरु दशैंको टिका लगाएर बाहिर निस्कन भने हिचकिचाउँछन् ।

भण्डारीले आफ्नो पदको सपथग्रहणमा समेत बेदलाई साक्षी राखेर गरेका थिए । उनले आफ्नो कार्यालयमा नेपालको झण्डा र नक्सा समेत राखेका छन् । आफ्नो कार्यालयमा रहेको नेपालको नक्साले आफू कहाँबाट आएको हो भन्ने कुरा आफूलाई सधै स्मरण गराइरहने भण्डारी बताउँछन् ।

सन् २०१८ को निर्वाचनमा विजयी भएका भण्डारीले राज्य सांसदका रुपमा सन् २०१९ को जनवरीदेखि काम गरिरहेका छन् । नेपालको पर्वत जिल्लामा सरकारी स्कुलमा पढेका भण्डारी सन् २००५ मा अमेरिका आएका हुन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com