न्युयोर्क राज्य संसदमा नेपाली मूलकी सराहना श्रेष्ठको उम्मेदबारी, न्युयोर्कको इतिहासमै पहिलो


प्रकाशित मिति : कार्तिक २३, २०७८ मंगलबार

न्युयोर्क राज्य संसदमा नेपाली मूलकी सराहना श्रेष्ठले उम्मेदबारी घोषणा गरेकी छिन् । न्युयोर्क राज्यको संसदमा उम्मेदबारीको घोषणा गर्ने उनी नेपाली मूलकी पहिलो अमेरिकन हुन् । श्रेष्ठले न्युयोर्क राज्य संसदको तल्लो सदनमा डिस्ट्रिक्ट १०३ बाट उम्मेदबारीको घोषणा गरेकी हुन् ।

श्रेष्ठको चुनावी अभियानमा सहयोग गर्नका लागि यहाँ क्लीक गर्नुहोला ।

जलवायु संकट र आर्थिक तथा सामाजिक न्यायका विषयमा आवज उठाउदै आएकी उनले न्युयोर्क अल्स्टर र डचेज काउन्टीको प्रतिनिधित्व गर्ने क्षेत्रबाट उम्मेदबारीको घोषणा गरेकी हुन् । श्रेष्ठलाई डेमोक्रेटिक सोसलिष्टको हडसन भ्याली च्याप्टरले इन्डोर्स गरेकाले यो क्षेत्रबाट प्रतिनिधित्व गर्दै आएका डेमोक्रेटिक नेता केभिन काहिलले यसपटकको डेमोक्रेटिक प्राइमरीमा श्रेष्ठको सामना गर्नुपर्नेछ ।

डिस्ट्रिक्ट १०३

सन् २०२२ को जुनमा हुने प्राइमरीका लागि श्रेष्ठले चुनावी अभियान सुरु गरिसकेकी छिन् । श्रेष्ठले न्युयोर्क हेल्थ एक्ट, गुड कज इभिक्सन र ग्रिन न्यु डिलजस्ता बामपन्थी एजेण्डाहरुको समर्थन गरेकी छिन् । डेमोक्रेटिक सोसलिष्टको हडसन भ्याली च्याप्टर र फर द मेनी नामको समुहले सोमबार संयुक्त वक्तव्य जारी गरेर श्रेष्ठको उम्मेदबारीको समर्थन गरेका हुन् ।

आगामी जुनमा हुने प्राइमरी चुनावमा जितेको खण्डमा उनले नोभेम्बरमा हुने अन्तिम चुनावमा जित्ने लगभग निश्चित रहनेछ । श्रेष्ठ अमेरिकामा डेमोक्रेटिक सोसलिष्टकी सदस्य समेत हुन् भने उनी डेमोक्रेटिक सोसलिष्टको मिड हड्सन भ्याली च्याप्टरका लागि अल्स्टर काउन्टी सह अध्यक्ष समेत हुन् । त्यस्तै उनी स्वच्छ, नवीकरणीय, किफायती र पहुचयोग्य विद्युत आपूर्तिको प्रवद्र्धनका क्षेत्रमा काम गर्ने गठबन्धन पब्लिक पावर न्युयोर्ककी नेता समेत हुन् ।

न्युयोर्क राज्यको तल्लो सदनमा हरेक सांसदले झण्डै १ लाख ३० हजार बासिन्दाको प्रतिनिधित्व गर्दै आएका छन् । न्युयोर्क राज्य संसदको तल्लो सदनमा प्रतिनिधित्व गर्ने सांसदको कार्यकाल २ बर्षको हुने गर्छ । सन् २०२० को डेमोक्रेटिक प्राइमरी रद्द गरिएको थियो भने चुनावमा केभिन काहिलले ५१ हजार २ सय ३४ मत ल्याएर विजय भएका थिए ।

केभिनले डिस्ट्रिक्ट १०३ बाट सन् २०१२ देखिका चुनावमा लगातार जित्दै आएका छन् । त्योभन्दा अगाडि उनले डिस्ट्रिक्ट १०१ बाट सन् १९९८ देखि २०१० सम्म जित्दै आएका थिए । त्योभन्दा अगाडि उनले सन् १९९२ बाट पनि उक्त क्षेत्रबाट न्युयोर्क राज्य संसदको तल्लो सदनमा चुनाव जितेका थिए । तर यसपटक उनले नेपाली अमेरिकन उम्मेदबार सराहना श्रेष्ठसँग डेमोक्रेटिक प्राइमरीको सामना गर्नुपर्नेछ ।

 

सन् २००१ मा अध्ययनका लागि न्युयोर्क आएकी श्रेष्ठ ग्राफिक डिजाइनरका रुपमा काम गर्दा गर्दै नेपालमा लोकतन्त्रका पक्षमा समेत वकालत गरेकी थिइन् । उनले संचालन गरेको अनलाइन साहित्य जर्नलमा प्रकाशित राजनीतिक लेखका कारण तत्कालिन राजतन्त्रले उनको अनलाइनमाथि नेपालमा प्रतिबन्ध समेत लगाएको थियो । श्रेष्ठले सन् २०१९ मा अमेरिकन नागरिकता प्राप्त गरेकी थिइन् ।

पछिल्लो समयमा अमेरिकन मुलधारको राजनीतिमा नेपाली अमेरिकनहरुको सहभागिता बढ्दै गएको छ । जननिर्वाचित सबैभन्दा उच्च पदमा पुग्न सफल नेपाली अमेरिकन मेरिल्याण्ड राज्यका सांसद ह्यारी भण्डारी हुन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com