न्युयोर्कमा नेपाली अमेरिकन मतदाता झण्डै ८ हजार, भोलि मेयरका लागि मतदान


प्रकाशित मिति : कार्तिक १५, २०७८ सोमबार

न्युयोर्क सिटीमा मेयरका लागि भोलि नोभेम्बर २ मा अन्तिम चुनाव हुने भएको छ । न्युयोर्कका मतदाताहरुले भोलि मेयर, पब्लिक एड्भोकेट, कम्पट्रोलर, बोरो प्रेसिडेण्ट र सिटी काउन्सिल सदस्यका लागि मतदान गर्दैछन् । विश्वको ब्यापारिक राजधानीका रुपमा परिचित तथा सबै महादेशका आप्रवासीहरुले खचिखचाउ ८० लाखभन्दा बढी जनसंख्या रहेको न्युयोर्क सिटीको मेयरको चुनावलाई विशेष चासोका साथ हेर्ने गरिन्छ ।

न्युयोर्क सिटीको चुनावमा मतदान गर्न योग्य नेपाली अमेरिकन मतदाता झण्डै ८ हजार रहेको विभिन्न तथ्यांकले देखाएको छ । खसोखासले डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीबाट प्राप्त तथ्यांक जोड्दा न्युयोर्क सिटीमा अमेरिकन नागरिकता लिने नेपालीमूलका व्यक्तिको संख्या ८ हजारको हाराहारीमा रहेको छ ।

नेपाली मूलका रजिस्टर्ड डेमोक्र्याट्स वा रजिस्टर्ड रिपब्लिकनहरुको संख्या न्युयोर्कमा कति रहेको छ भन्ने यकिन छैन । तर ठूलो संख्यामा नेपालीहरुले यसरी आफूलाई डेमोक्र्याट्स वा रिपब्लिकनका रुपमा रजिष्टर्ड गराएका छैनन् । उनीहरुले प्राइमरीमा मतदान नगरेपनि भोलिको चुनावमा भने मतदानका लागि योग्य रहेका छन् ।

अहिलेसम्म  अमेरिकी नागरिकता लिने नेपालीहरुको संख्या झण्डै ५५ हजार पुगेको अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ । जसमध्ये झण्डै १५ प्रतिशत न्युयोर्क निवासी रहेका छन् । कोरोना महामारीका बाबजुत आर्थिक बर्ष सन् २०२० मा ४ हजार ८ सय ६ जना नेपालीहरुले अमेरिकन नागरिकता प्राप्त गरेका छन् ।

आर्थिक बर्ष सन् २०२० को पहिलो तीनमहिनामा १६ सय ४४ जना नेपालीहरुले अमेरिकी नागरिकता प्राप्त गरेका थिए भने दोश्रो तीनमहिनामा १३ सय ५४ जना नेपालीहरुले अमेरिकी नागरिकता प्राप्त गरे । तेश्रो तीनमहिनामा ६४६ जना नेपालीहरुले अमेरिकी नागरिकता पाउन सफल भए भने चौथो तीनमहिनामा ११ सय ६२ जना नेपालीहरुले अमेरिकी नागरिकता पाए ।

आर्थिक बर्ष सन् २०१९ मा अमेरिकी नागरिकता लिने नेपालीहरुको संख्या ७ हजार ४ सय ९ रहेको थियो । जसमा ३ हजार ५ सय ७७ जना महिला र ३ हजार ८ सय ३२ जना पुरुष रहेका थिए । उनीहरुमध्ये ८१० जना न्युयोर्क निवासी, १२०४ जना टेक्सास निवासी र ६०१ जना क्यालिफोर्निया निवासी रहेका थिए ।

सन् २०१८ मा अमेरिकाभर ५३५२ जना नेपालीहरुले अमेरिकाको नागरिकता लिए  । त्यतीबेला सबैभन्दा धेरै न्युयोर्क निवासी ७१८ जना नेपालीहरुले अमेरिकन नागरिकता लिए भने दोश्रोमा टेक्सास निवासी ५७० र तेश्रोमा क्यालिफोर्निया निवासी ५३४ जना रहेका थिए ।

त्यस्तै सन् २०१७ मा भने अमेरिकी नागरिकता लिने नेपालीहरुको संख्या ४५ सय ९ रहेको थियो । त्यतीबेला न्युयोर्क निवासी ५६० र क्यालिफोर्निया निवासी ५२० जना रहेका थिए । सन् २०१६ मा ५ हजार ४ जना नेपालीहरुले अमेरिकाको नागरिकता लिए । जसमध्ये न्युयोर्क निवासी ६२९ जना रहेका थिए भने उक्त बर्ष सबैभन्दा धेरै टेक्सास निवासी ६५५ जना नेपालीहरुले अमेरिकन नागरिकता लिए ।

२०१४ सम्म कति नेपालीले लिए अमेरिकन नागरिकता ?

अमेरिकी सरकारको आप्रवास तथ्यांक कार्यालयका अनुसार सन् १९९० सम्ममा अमेरिकी नागरिकता पाउन सफल नेपालीहरुको संख्या जम्मा २६१६ मात्र रहेको थियो । त्यतीबेला सन् १९९० कै वर्षमा जम्मा ३७ जना नेपालीले अमेरिकन नागरिकता लिएका थिए ।

त्यो भन्दा अगाडि सन् १९८९ मा ३५ जना नेपालीले अमेरिकन नागरिकता लिएका थिए । त्यसैगरी सन् १९८८ मा जम्मा ३१ जनाले र सन् १९८७ मा २२ जनाले अमेरिकन नागरिकता लिएका थिए ।

सन् १९९१ मा अमेरिकन पाउने नेपालीको संख्या थोरै बढेर ५६ पुगेको थियो । सन् १९९२ मा ४४ जना नेपालीहरुले अमेरिकन नागरिकता पाए । सन् १९९३ मा ४६ जनाले , सन् १९९४ मा ७० जनाले, सन् १९९५ मा ६० जनाले , सन् १९९६ मा ११९ जनाले, सन् १९९७ मा ७८ जनाले र सन् १९९८ मा ८२ जना नेपालीले अमेरिकन नागरिकता पाए ।

सन् १९९९ मा १४३ जनाले, सन् २००१ मा २०५ जनाले, सन् २००२ मा २४७ जनाले,सन् २००३ मा ३१८ जनाले , सन् २००४ मा ४०८ जनाले अमेरिकन नागरिकता पाए । त्यस्तै सन् २००५ मा ४१७ जनाले, २००६ मा ५७५ जनाले, सन् २००७ मा ६३८ जनाले, सन् २००८ मा ९५३ जनाले, सन् २००९ मा १६३२ जनाले, सन् २०१० मा २१८५ जनाले र सन् २०११ मा २२३५ जनाले अमेरिकन नागरिकता लिएका थिए ।

त्यस्तै सन् २०१२ मा २४४८ जना नेपालीहरुले अमेरिकन नागरिकता लिएका थिए । सन् २०१३ मा अमेरिकन नागरिकता लिने नेपालीहरुको संख्या २७११ रहेको थियो । सन् २०१४ मा २८८८ नेपालीले अमेरिकी नागरिकता लिए भने सन् २०१५ मा ४२२५ जना नेपालीले अमेरिकन नागरिकता लिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com