अमेरिकाको मासाचुसेट्समा नेपाली स्टोर संचालकको गोली हानी हत्या, २ घण्टापछिमात्र प्रहरी घटनास्थलमा


प्रकाशित मिति : कार्तिक २, २०७८ मंगलबार

अमेरिकाको मासाचुसेट्समा नेपाली स्टोर संचालकको गोली हानी हत्या भएको छ । फल रिभरमा ५४ बर्षीय नेपाली लालकिशोर महासेठमाथि गोली प्रहार भएको त्यहाँबाट शिव पौडेलले खसोखासलाई जानकारी दिए ।

उनी स्टोरमा नै काम गरिरहेको बखत गोली प्रहार भएको जनाइएको छ । नेपालमा धनुषा जिल्लाको महेन्द्रनगर सखुका महासेठ झण्डै १५ बर्ष अगाडि अमेरिका आएका थिए ।

मासाचुसेट्को फल रिभरमा परिवारका साथ बस्दै आएका उनीमाथि गोली प्रहार भएपछि अस्पताल लगिएको थियो  । अस्पतालले उनलाई मृत घोषणा गरेको हो । सोमबार राती ९ बजेतिर उनीमाथि गोली प्रहार भएको जनाइएको छ ।

अहिले महासेठको शव अहिले क्यापकर्डमा पोष्टमार्टमका लागि लगिएको छ । घटना किन भएको भन्नेबारे केही खुलेको छैन । तर उक्त स्टोरमा पहिलेपनि चोरीका प्रयासहरु हुने गरेको र त्यस्ता व्यक्तिलाई लखेट्ने गरिएको जनाइएको छ । अहिलेपनि चोरको प्रतिकार गर्न खोज्दा र रकम दिन नखोज्दा उक्त घटना भएको अनुमान गरिएको छ ।

स्टोर संचालन भइरहेको स्थानमा सुरक्षा स्थीति नराम्रो भएको र लुटपाट हुनसक्ने भएकाले उक्त स्टोर बेलुका साढे ७ बजेपछि भित्रबाट बन्द गर्ने र कसैले घण्टी बजाएपछिमात्र चिनेको व्यक्तिलाई भित्रबाट खोलिदिने गरिन्थ्यो । महासेठमाथि गोली हान्ने व्यक्ति पनि नौलो मान्छे नभएको अनुमान गरिएको छ । महासेठले उक्त व्यक्तिलाई चिनेकाले भित्रबाट पसल खोलिदिएको हुनसक्ने र भित्र प्रवेश गरेपछि उक्त व्यक्तिले लुटपाट गर्नुका साथै गोली हानेको हुनसक्ने अनुमान गरिएको छ ।

पसल भित्रबाटमात्र लक भएकाले साढे ८ बजे गोली हानिएपनि प्रहरीले त्यसको झण्डै दुईघण्टापछिमात्र थाहा पाएको थियो । भित्रबाट लकभएकाले त्यो बीचमा कोहीपनि ग्राहक पसलभित्र जान पाएनन् । तर पसलमा खुला रहेको र घण्टी बजाउँदापनि भित्रबाट नखुलेपछि कुनै अप्रिय घटना भएको हुनसक्ने संकेत पाएका कसैले साढे १० बजेतिर प्रहरीलाई खबर गरेको थियो । त्यसपछिमात्र प्रहरी घटनास्थल पुगेको थियो ।

महासेठका तीनवटा स्टोरहरु रहेकोमा उक्त स्टोर झण्डै १० बर्षदेखि संचालन गर्दै आएका थिए । एउटा स्टोर उनको आफ्नै घरमा रहेको थियो भने अर्को स्टोर केही समय पहिले बेचेका थिए ।

एउटा स्टोरमा काम गर्ने मान्छे राखेपनि एउटामा भने महासेठ आफैले का मगर्दै आएका थिए । घटना भएको स्टोर घरबाट झण्डै एकमाइलको दुरीमा रहेको छ ।

झण्डै १०  नेपाली परिवारहरु बस्दै आएको फल रिभरमा महासेठ नेपाली समुदायमाझ लोकप्रिय रहेका थिए । महासेठ सामाजिक कार्यमा सकृय रहेको र एकदमै मिलनसार समेत रहेको केही समय पहिले उनकै स्टोरमा समेत काम गरेका फल रिभर निवासी शिव पौडेलले बताए । फल रिभर समुदायले एकजना असल व्यक्ति गुमाएको भन्दै पौडेलले घटनाबाट आफू स्तब्ध भएको बताए ।

लालकिशोर महासेठ मधेसी एसोसिएसन इन अमेरिकाका संस्थापक सदस्य तथा न्यु ईग्लल्याण्ड च्याप्टरका पूर्व अध्यक्ष रहेका थिए । उनी मधेसी एसोसिएसन इन अमेरिकाका केन्द्रीय सल्लाहकार समितिका सदस्य समेत रहेको भन्दै संस्थाले उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।उनी श्रीमति सुनिता साह, २४ बर्ष र १८ बर्षका दुई छोरा अभिषेक र आयुस तथा २२ बर्षकी छोरी अन्जलीका साथ बस्दै आएका थिए ।

घटनामा संलग्न व्यक्ति अझै फरार रहेको प्रहरीले जनाएको छ । प्रहरीले कालो पोशाक लगाएको संदीग्ध व्यक्तिको एउटा तस्वीर सार्वजनिक गर्दै घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

अमेरिकामा हुने गोलीकाण्डका घटनामा नेपालीहरुको उल्लेख्य संख्यामा मृत्यु हुने गरेको छ ।

अमेरिकामा पछिल्ला बर्षमा बन्दुक हिंशाका घटनामा उल्लेख्य बृद्धि भएको छ । हालै एफबीआईले बार्षिक अपराध रिपोर्ट सार्वजनिक गर्दै अघिल्लो बर्षको तुलनामा सन् २०२० मा अमेरिकामा नरसंहारमा २९ दशमलव ४ प्रतिशतले बृद्धि भएको जनाएको थियो  । सन् १९६० को दशकदेखि एफबीआईले अपराध रेकर्ड राख्न थालेयता नै अघिल्लोबषएको तुलनामा यति धेरै अपराधमा बृद्धि भएको पहिलोपटक भएको जनाइएको छ ।

सन् २०२० मा अमेरिकाभर २१ हजार ५ सय ७० नरसंहारका घटना भएको रिपोर्टमा उल्लेख छ । त्यस्तै अमेरिकामा सन् २०२० मा १३ लाख हिंशात्मक अपराधका घटनाहरु भएका छन् । जुन सन् २०१९ को तुलनामा ५ प्रतिशतले बढी हो । गतबर्ष २१ हजार ५ सयभन्दा धेरै हत्याका घटनाहरु भएका छन् । एकबर्षमा यति धेरै नससंहारका घटनाहरु सन् १९९० को मध्ययता पहिलोपटक रेकर्ड गरिएको हो ।

सन् १९८० र सन् १९९० को दशकमा भने अमेरिकामा नरसंहारका घटना सबैभन्दा बढी देखिएका थिए । त्यतीबेलाको तुलनामा भने हत्यादर ४० प्रतिशतले कम रहेको छ । रिपोर्ट अनुशार सन् २०२० मा नरसंहारका घटनाहरु जुन र जुलाईमा उच्च देखिएका थिए । त्यसपछिका महिनाहरुमा बढ्दै गएको देखिएको छ ।

एफबीआईएले हरेकबर्ष अपराधबारेको तथ्यांक रिपोर्ट तयार गर्नका लागि कानून कार्यान्वायन एजेन्सीहरुबाट अपराधबारेका तथ्यांकहरु संकलन गर्दै आएको छ । झण्डै १८ हजार त्यस्ता एजेन्सीहरुमध्ये सन् २०२० मा १५ हजार ८ सय ७५ ले अपराधका तथ्यांकहरु एफबीआईएलाई दिएका थिए । एजेन्सीहरुले तथ्यांक बुझाएको दर ८५ प्रतिशत रहेको थियो । त्यसैले यो रिपोर्ट केही अपूरो रहेको छ । यद्यपी यसले अमेरिकामा अपराधको परिदृश्यलाई भने झल्काएको छ ।

तर एफबीआईएले अपराधबारे भएका विभिन्न सर्वेक्षणमा पनि नजर राख्दै आएको छ । अपराध न्याय र कोभिड १९ का लागि राष्ट्रिय आयोगले गरेको एउटा सर्वेक्षणमा पनि अमेरिकामा नरसंहारका घटनामा ३० प्रतिशतले नै बृद्धि भएको देखाइएको छ । नरसंहारका घटनाहरु बन्दुक हिंशाका घटनासँग जोडिएका छन् । सन् २०१९ मा बन्दुक हिंशाका घटनामा ३९ हजार ५ सय ३८ जनाको मृत्यु भएको थियो भने सन् २०२० मा ४३ हजार ५५९ जनाको मृत्यु भएको थियो । जुन अघिल्लो बर्षको तुलनामा झण्डै ४ हजारले बढी हो ।

यूसीआरको रिपोर्ट अनुशार अमेरिकामा सन् २०२० मा भएका ७७ प्रतिशत हत्याका घटनामा बन्दुकको प्रयोग भएको थियो । सन् २०१९ मा भने ७४ प्रतिशत हत्याका घटनामा बन्दुकको प्रयोग भएको थियो । बन्दुक बिक्रिबारे कुनै तथ्यांक नभएपनि कोरोना महामारीमा अमेरिकामा बन्दुकको बिक्रिमा उल्लेख्य बिक्रि भएको स्वतन्त्र सर्वेक्षणहरुले देखाएका छन् ।

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com