डिभी विजेताले डीएस २६० फर्म भर्दा ध्यान नदिए ग्रिनकार्ड हराउने र सोसल सेक्युरिटी नम्बर ढिलो


प्रकाशित मिति : आश्विन २८, २०७८ बिहीबार

डिभी विजेताहरुले भिसा प्रकृया अगाडि बढाउन डीएस २६० फर्म भर्नुपर्छ । डिभीका लागि लागि छनौट भएका सबैले अनलाइनमा रहेको डीएस २६० फर्म यथाशीघ्र भर्नुपर्छ । यो फर्म आवेदक आफैले अनलाइनमा निशुल्क भर्न सक्छन् । यसको लागि कुनै भिसा कन्सल्टेन्सीको सहयोग जरूरत पर्दैन ।

डिभी विजेताले डीएस २६० फर्म निशुल्क भर्नका लागि यहाँ क्लीक गर्नुहोला । तपाईले आफ्नो केस नम्बर हालेर डीएस २६० फर्म भर्न सक्नुहुनेछ ।

डीएस २६० फर्म भर्नुभन्दा अगाडि उक्त फर्मको नमुना र भर्नुपर्ने विवरणहरु समेत हेर्न सकिनेछ । सुरुमा केस नम्बर हालिसकेपछि तपाईले नेशनल भिसा सेन्टरबाट प्राप्त गरेको इन्भोइस नम्बर हाल्नुपर्छ । त्यसपछि तपाईले आफू आवेदक भएको विकल्प छनौट गर्नुपर्छ । आवेदकबाहेक अन्यले वकिल, याचिकाकर्ता वा तेश्रो पार्टी एजेण्ट भएको विकल्प छनौट गर्न सक्नेछन् ।

त्यसपछि तपाईले आफ्नो आप्रवासी भिसा आवेदन भर्ने स्थान देख्नुहुनेछ । त्यहाँ क्लीक गरेर तपाईले आफ्ना विवरणहरु भर्दै जानुपर्नेछ ।

आवेदन कसरी भर्ने ? यसबारेमा आवेदनको नमुना यहाँ हेर्नुहोला ।

डीएस २६० फर्म भर्दा तपाईले अमेरिकामा कुन ठेगानामा ग्रिनकार्ड प्राप्त गर्ने हो उक्त ठेगाना समेत उल्लेख गर्नुपर्छ । तपाईले यो ठेगाना उपलब्ध गराउँदा ठेगाना पूर्ण भए नभएको चेक गर्नुपर्छ । यो ठेगानामा अपार्टमेन्ट नम्बर वा फ्लोर नम्बर भए नभएको राम्रोसँग चेक गर्न आवश्यक छ । ठेगाना पूर्ण नभएका कारण वा अपार्टमेन्ट नम्बर छुटेका कारण अमेरिका आइसकेपछि ग्रिनकार्ड फिर्ता भएर जाने तथा हराउने समस्या देखिएको छ । त्यसपछि ग्रिनकार्ड पुन प्राप्त गर्न लामो समय लाग्ने र झमेला हुने समेत गरेको छ ।

साथै तपाईले आफूलाई सोसल सेक्युरिटी कार्ड आवश्यक भएको र त्यसका लागि डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीलाई सोसल सेक्युरिटी कार्ड जारी गर्नका लागि सुचनाहरु सम्बन्धित एजेन्सीलाई उपलब्ध गराउनका लागि स्वीकृति प्रदान गर्नुपर्छ ।

यदि तपाईले सोसल सेक्युरिटी कार्ड आवश्यक छ ? भन्ने प्रश्नमा छैनमा टिक लगाउनुभयो र डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीलाई सोसल सेक्युरिटी कार्ड जारी गर्नका लागि सुचनाहरु सम्बन्धित एजेन्सीलाई उपलब्ध गराउनका लागि स्वीकृति प्रदान गर्नुहुन्छ ? भन्नेमा गर्दिन भन्नेमा टिक लगाउनुभयो भने तपाईले सोसल सेक्युरिटी कार्ड स्वत प्राप्त गर्नुहुनेछैन । अमेरिका आइसकेपछि तपाईले सोसल सेक्युरिटी अफिसमा गएर पुन आवेदन दिनुपर्ने हुन्छ ।

 

अमेरिकामा बैंक खाता खोल्नदेखि राज्यका आईडी कार्ड जारी गर्न लगायत ट्याक्स तिर्न र अन्य महत्वपूर्ण कामहरुका लागि सोसल सेक्युरिटी नम्बरको आवश्यकता पर्छ । कैयन आवेदकले डीएस २६० फर्म भर्दा सोसल सेक्युरिटी नम्बर आवश्यक नभएको उल्लेख गर्दा वा डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीलाई सोसल सेक्युरिटी कार्ड जारी गर्नका लागि सुचनाहरु सम्बन्धित एजेन्सीलाई उपलब्ध गराउनका लागि स्वीकृति प्रदान नगर्दा अमेरिका आइसकेपछि झमेला भोग्ने गरेका छन् ।

अमेरिकी कङ्ग्रेसको कार्यादेश प्राप्त डाइभर्सिटी आप्रवासी भिसा कार्यक्रम अमेरिकी विदेश मन्त्रालयले वार्षिक रूपमा सञ्चालन गर्ने गर्दछ । आप्रवासन तथा राष्ट्रियतासम्बन्धी ऐनको दफा २०३(सी) ले ऐतिहासिक रूपमा कम दरमा संयुक्त राज्य अमेरिका आप्रवासन गर्ने देशका व्यक्तिहरूलाई “डाइभर्सिटी आप्रवासी” का रूपमा एक वर्गको हैसियत प्रदान गर्ने व्यवस्था गरेको छ ।

आर्थिक वर्ष सन् २०२२ का लागि ५०,००० डाइभर्सिटी भिसा (डिभी) उपलब्ध गराइनेछ ।

डिभी लोटरी परे नपरेको थाहा पाउनका लागि यहाँ क्लिक गरेर आफ्नो कन्फर्मेशन नम्बर, थर र जन्मेको बर्ष हाल्नुहोला । 

चिठ्ठा पर्ने आवेदकहरू (“विजेताहरू”) ले डिभी कार्यक्रमका लागि योग्य हुनका निम्ति सरल तर कडा योग्यताका मापदण्डहरू पूरा गर्नुपर्छ ।  भिसाहरू छ भौगोलिक क्षेत्रमा वितरण गरिन्छ र हरेक क्षेत्रमा कुनै पनि एक देशले कुनै पनि एक वर्षमा उपलब्ध हुने डिभीको सात प्रतिशत सङ्ख्याभन्दा बढी भिसा प्राप्त गर्ने छैन ।

डिभी लोटरी परे नपरेको थाहा पाउनका लागि https://dvprogram.state.gov/ मा गई “एन्ट्रेन्ट स्टेटस चेक” (Entrant Status Check) मा क्लिक गरी आफ्नो युनिक कन्फर्मेशन नम्बर र व्यक्तिगत जानकारी हाल्नुहोस्। तपाईँंले आफू डिभी–२०२२  का लागि छनोट भए नभएको पत्ता लगाउन र आफ्नो आप्रवासी भिसा अन्तर्वार्ता अपोइन्टमेन्ट मिति चेक गर्नका लागि एन्ट्रेन्ट स्टेटस चेक प्रयोग गर्नु पर्दछ ।

अमेरिकी सरकारले तपाईँलाई प्रत्यक्ष रूपमा सूचित गर्दैन । एन्ट्रेन्ट स्टेटस चेक आफ्नो आवेदनको प्रक्रिया कसरी अगाडि बढाउने भन्ने निर्देशनहरूको एक मात्र स्रोत हो । डिभी २०२२  को एन्ट्रेन्ट स्टेटस चेक ई– डिभीको वेबसाइटमा  सन् सेप्टेम्बर ३०, २०२२ सम्म उपलब्ध हुनेछ ।

सन् २०२२ का डिभी विजेताहरुले आगामी अक्टोबर १ बाट भिसा पाउन सुरु गरेका छन् । योग्यताका मापदण्ड पुगेका छनोट भएकाहरू तथा उनीहरूका योग्य पारिवारिक सदस्यहरूको आवेदनउपरको सम्पूर्ण कार्यवाही र डिभी भिसा जारी २०२२ सेप्टेम्बर ३० भित्र गरिसक्नुपर्दछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com