‘युएससीआईएसका फर्म भर्दा निलो, रातो वा अन्य रंगको मसी प्रयोग नगर्नुहोला’


प्रकाशित मिति : श्रावण १३, २०८० शनिबार

अमेरिकी नागरिकता लगायतका युएससीआईएसका कैयन फर्महरु अनलाइनमा उपलब्ध छन् । अनलाइनमा फर्म भरेर अनलाइनबाटै शुल्क समेत तिर्न सकिन्छ । तर तपाईले कागजी फर्म भरेर पनि युएससीआईएसका कैयन आवेदनहरु हुलाकबाट पठाउन सक्नुहुन्छ ।

कागजी फर्म भर्दा पनि कम्प्युटरमा टाइप गरेर भर्न सकिन्छ । त्यसपछि प्रिन्ट गरेर हस्ताक्षर गरेर पठाउन सकिन्छ । तर तपाईले हातैले फर्म भर्न चाहनुहुन्छ भने जहिले पनि कालो मसीभएको कलम प्रयोग गर्नुपर्छ ।

फर्मभर्दा निलो, रातो वा अन्य रंगको मसी भएको कलम प्रयोग नगर्न युएससीआईएसले सुझाव दिएको छ । त्यस्तै सफा तरिकाले लेख्न र तोकिएको ठाउँभित्र जवाफ लेख्न समेत सुझाव दिइएको छ ।

फर्म भरिसकेपछि हस्ताक्षर गर्न अनिवार्य छ । हस्ताक्षर नगरिएका फर्महरु युएससीआईएसले अस्वीकृत गर्दै आएको छ । कागजी फर्म भर्दा फर्मको पछिल्लो भर्सन प्रयोग गर्नुपर्छ । पुरानो भर्सन प्रयोग गरिएको खण्डमा समेत त्यस्तो आवेदन अस्वीकृत हुनसक्छ ।

हाइलाइटर वा टिपेक्सको प्रयोग गर्नुहुँदैन । युएससीआईएसले प्रयोग गर्ने स्क्यानरले ग्रेआउट गरिएको, हाइलाइट गरिएको वा टिपेक्स लगाइएको विवरण राम्रोसँग पढ्न नसक्ने जनाइएको छ । फर्म भर्दा कुनै गल्ती भएमा नयाँ फर्म प्रयोग गर्न युएससीआईएसले सुझाव दिएको छ ।

आवेदन कागजको एकातर्फमात्र प्रिन्ट गर्न युएससीआईएसले सुझाव दिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com