अमेरिकाको कुन कुन भिसाका लागि कोरोनाबिरुद्धको भ्याक्सिन अनिवार्य छ ?


प्रकाशित मिति : आश्विन १९, २०७८ मंगलबार

अमेरिकाले सबै आप्रवासीभिसा र केही गैर आप्रवासी भिसाका लागि समेत कोरोनाबिरुद्धको भ्याक्सिन अनिवार्य बनाएको छ । अक्टोबर १ देखि लागु हुनेगरी भ्याक्सिन अनिवार्य गरिएको हो ।

अक्टोबर १ पछि मेडिकल रिपोर्ट पेश गर्नुपर्नेहरुका लागि भ्याक्सिन अनिवार्य भएपनि त्योभन्दा अगाडि नै मेडिकल रिपोर्ट पेश गरिसकेकाहरु वा भिसा पाइसकेकाहरुलाई यो नियमले प्रभाव नपर्ने जनाएएको छ । अमेरिकी विदेश मन्त्रालयले जारी गरेको सुचना अनुशार परिवारमा आधारित, रोजगारमा आधारित, डिभीमा आधारित लगायत सबै आप्रवासी भिसाका लागि अब कोरोनाबिरुद्धको भ्याक्सिन लगाएको हुनुपर्नेछ ।

त्यस्तै गैरआप्रवासी भिसाका सन्दर्भमा सबै मंगेतर भिसाका के का लागि पनि कोरोनाबिरुद्धको भ्याक्सिन अनिवार्य गरिएको छ । अमेरिकी नागरिकले आफ्नो मंगेतरलाई अमेरिकामा विवाह गर्नका लागि यो भिसामा अमेरिका बोलाउनसक्ने प्रावधान रहेको छ । यो भिसामा अमेरिका गइसकेपछि निश्चित अवधिभित्र विवाह गरिसक्नुपर्छ ।

त्यस्तै केही गैर आप्रवासी भिसाका लागि समेत कोरोनाबिरुद्धको भ्याक्सिन अनिवार्य गरिएको छ । तर कुन कुन गैरआप्रवासी भिसाका लागि भ्याक्सिन अनिवार्य गरिएको छ भन्नेबारे केही बताइएको छैन । भिसा जारी हुनुभन्दा अगाडि मेडिकल प्रमाण पेश गर्न भनिएका गैरआप्रवासी भिसाहरुका सन्दर्भमा यो नियम लागु हुनेछ । अर्थात् कन्सुलर अधिकारीले केही गैरआप्रवासी भिसा आवेदकलाई समेत कोरोनाबिरुद्धको भ्याक्सिन लगाएको प्रमाणसहितको मेडिकल रिपोर्ट माग्न सक्नेछन् ।

विश्व स्वास्थ्य संगठन वा अमेरिकाको एफडीएबाट स्वीकृत प्राप्त भ्याक्सिन लगाएकाहरुलाई मान्यता दिइनेछ । अमेरिकामा फाइजर, मोडेर्ना र जोन्सन एण्ड जोन्सन भ्याक्सिनलाई मान्यता दिइएको छ भने विश्व स्वास्थ्य संगठनले mाइजर, मोडेर्ना र जोन्सन एण्ड जोन्सनका अतिरिक्त आष्ट्राजेनेका, कोभिशिल्ड, भेरोसेल, कोरोनाभ्याक लगायतलाई पनि मान्यता दिएको छ ।

अमेरिकामा नै हुने ग्रिनकार्ड आवेदकहरुले पनि ग्रिनकार्ड प्राप्त गर्नका लागि अनिवार्य रुपमा कोरोनाबिरुद्धको भ्याक्सिन लगाउनुपर्ने युएससीआईएसले स्पष्ट पारिसकेको छ ।   सीडीसीले मेडिकल रिपोर्ट बनाउने सिभिल सर्जनहरुलाई प्राविधिक निर्देशन अपडेट गरे लगत्तै युएससीआईएसले पनि सुचना जारी गरेको यसबारे थप स्पष्ट पारेको थियो ।

सीडीसीकै निर्देशन अनुरुप युएससीआईएसले नीति निर्देशिका अपडेट गरेको हो । युएससीआईएसले मेडिकल रिपोर्ट फर्म आई ६९९ मा पनि अपडेट गरेको छ । आवेदकले मेडिकल परीक्षण अगाडि भ्याक्सिन अनुशार एउटा वा दुईवटा डोज पूरा गरेको हुनुपर्ने र त्यसको कागजात सिभिल सर्जनलाई उपलब्ध गराउनुपर्ने युएससीआईएसले स्पष्ट पारेको छ ।

भ्याक्सिन लगाउनका लागि उमेरले योग्य भएकाहरु र कोरोनाबिरुद्धको भ्याक्सिन प्राप्त गर्न स्वास्थ्यका हिसाबले पनि उपयुक्त रहेकाहरुका सन्दर्भमामात्र यो नियम लागु हुन्छ ।

अमेरिकाको अध्यागमन कानूनको १२१ ए १ अनुशार स्वास्थ्यबारेको प्रवेश निषेध आधारसँग समन्धित रहेर अध्यागमन मेडिकल जाँच हुने गरेको छ । अमेरिकी सरकारकाबाट आपतकालिन प्रयोगको अनुमति पाएका वा विश्व स्वास्थ्य संगठनबाट मान्यताप्राप्त भ्याक्सिनहरु लगाएको प्रमाण मेडिकल रिपोर्टमा पेश गर्नुपर्छ । विना प्रमाण स्वघोषित भ्याक्सिन लगाएको बताउँदैमा त्यसलाई मान्यता दिइने छैन ।

यदि आवेदकले पूर्णरुपमा भ्याक्सिन लगाएको छैन भने मेडिकल रिपोर्ट तयार गर्ने सिभिल सर्जन वा चिकित्सकलाई आवेदकको सहमतिमा कोरोनाबिरुद्धको भ्याक्सिन लगाउन पाउने अधिकार समेत दिइएको छ । यद्यपी मेडिकल परीक्षण अगाडि नै आवेदकले कोरोनाबिरुद्धको भ्याक्सिनको पूर्ण डोज लगाउनुपर्ने र भ्याक्सिन नलगाइकनै मेडिकल परीक्षणमा जानेको आवेदन प्रकृयामा ढिलाई हुने चेतावनी दिइएको छ ।

यदि आवेदक भ्याक्सिन लगाउन स्वीकृत गरिएभन्दा कम उमेरको भएको खण्डमा स्वत भ्याक्सिन नलगाए हुने छुट प्रदान गरिनेछ । तर यदि कोही व्यक्तिले धार्मिक वा नैतिक आधारमा भ्याक्सिन नलगाउने भएमा त्यस्ता आवेदकले युएससीआईएस समक्ष छुटका लागि आवेदन दिनुपर्नेछ । उक्त छुटका लागि गरिएको आग्रह स्वीकार गर्ने वा नगर्ने अधिकार युएससीआईएसमा रहनेछ ।

ग्रिनकार्डका लागि मेडिकल रिपोर्ट पेश गर्दा कोरोनाबिरुद्धको प्रतिरोधात्मक क्षमताको भने परीक्षण गर्नुनपर्ने सीडीसीको सुझाव रहेको छ । प्रतिरोधात्मक क्षमताको प्रमाण भएपनि वा विगतमा कोरोना संक्रमण भएको भएतापनि आवेदकले भ्याक्सिन लगाएको प्रमाण पेश गर्नुपर्नेछ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com