पर्यटकलाई मनाङ प्रवेश गर्न अब खोप र होटल बुकको प्रमाण


प्रकाशित मिति : आश्विन १३, २०७८ बुधबार

कोभिड–१९ को सङ्क्रमणका कारण लामो समयपछि मनाङमा विदेशी पर्यटकले प्रवेश पाउने भएका छन् । पर्यटकलाई प्रवेश दिइने भए पनि मापदण्ड भने पूरा गर्नुपर्नेछ । कोभिड–१९को सङ्क्रमण पूर्णरूपमा निर्मूल नहुँदै पर्यटकलाई प्रवेश दिइने भए पनि उनीहरुले मापदण्ड पूर्णरूपमा पालना गर्नुपर्ने प्रमख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार मनाङ प्रवेशका लागि स्वास्थ्य सुरक्षाको मापदण्ड तयार पारिएको र पर्यटकले पूर्ण पालना गर्नुपर्छ । सुरक्षा व्यवस्था पनि कडा गरी प्रवेश दिइने उहाँले बताउनुभयो । “कोभिड पूर्णरूपमा नियन्त्रणमा आएको छैन, सङ्क्रमण कम भएको हो, पूर्णरूपमा निर्मूल भएको होइन, सुरक्षाको मापदण्ड भने पालना गर्नुपर्छ र पर्यटन व्यवसायलाई पनि चलायमान बनाउनुपर्छ”, प्रजिअ लामिछानेले भन्नुभयो ।

सङ्क्रमणका बाबजुद पनि थलिएको पर्यटन व्यवसाय चलायमान बनाउने प्रयासमा रहेको उहाँ बताउनुहुन्छ । “मनाङ प्रवेश नाकाबाट नै सुरक्षाको मापदण्ड पालना, कोभिडविरुद्धको खोप पूर्ण मात्रा लगाएको छ वा छैन जाँच गरी प्रवेश गराउनेछौँ, यहाँ आउने विदेशी पर्यटकले होटल बुक गरेको छ वा छैन भनेर जाँचसहित प्रवेश दिनेछौँ”, उहाँले भन्नुभयो, “जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समिति र जिल्ला प्रशासन कार्यालयको बैठकबाट निर्णय पारित गरी विदेशी पर्यटकलाई प्रवेश दिने तयारी गरिएको छ ।”

पर्यटकले कोभिडविरुद्धको खोपको मात्रा पूरा गरेको प्रमाण, यहाँका होटलमा बुक गरेको प्रमाण र भ्रमणमा रहेका सबै पर्यटकले कोभिडको लक्षण देखिएमा तुरुन्तै परीक्षण गर्नुपर्नेछ । कोभिड परीक्षणको नतिजा सकारात्मक भएमा आइसोलेशनमा बस्नुपर्नेछ । नयाँ भेरियन्टसहितको कोभिडको सम्बन्धमा ट्राभल वा टे«किङ एजेन्सीमार्फत जिल्लामा आउने पर्यटकलाई यसबमोजिमको शर्तको पालना गर्ने/गराउने दायित्व सम्बन्धित एजेन्सीको हुनेछ ।

सरकारद्वारा जारी गरिएको स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा नगरिएको पाइएमा जिल्ला प्रवेश गर्न दिइनेछैन । सेप्टेम्बरदेखि नोभेम्बरसम्म पर्यटक आउने उपयुक्त समय हो । प्रशासनको स्वीकृति लिएर जिल्लामा पर्यटक प्रवेश गराउने भएपछि अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) र जिल्लाका होटल तथा पर्यटन व्यवसायीले विदेशी पर्यटकलाई जिल्लामा स्वागतसमेत गर्न थालिसकेका छन् ।

विदेशी पर्यटक नेपाल आउँदा के गर्ने ?

विदेशी पर्यटक नेपाल आउँदा कोभिडबिरुद्धको खोपको मात्रा पूरा गरेको भएमा अन अनराइभल भिसा प्राप्त गर्न सक्छन् । तर कोभिडबिरुद्धको खोप नलगाएको भएमा भने उनीहरुले  दूतावास वा कन्सुलेटबाटै भिसा लिएर आउनुपर्छ ।

कोभिडबिरुद्धको खोप लगाएका विदेशी पर्यटकले अध्यागमन प्रवेशबिन्दुमा भिसाका लागि आवेदन गर्दा भिसाका लागि आवश्यक अन्य कागजपत्रका अतिरिक्त थप कागजात समेत पेश गर्नुपर्नेछ । उनीहरुले कोभिड खोपको पूर्ण मात्रा पूरा गरेको १४ दिन पूरा भएको प्रमाण, विमान चढ्न चेकइन हुँदाको अवधिले ७२ घण्टाभित्रको कोभिड परीक्षणको नेगेटिभ रिपोर्ट, पर्वतारोहण र पदयात्रामा आउनेहरुले सो सम्बन्धी अनुमतिको प्रतिलिपि, नेपालमा होटल बुक गरेको प्रमाण पेश गर्नुपर्नेछ । पर्वतारोहण र पदयात्रामा नआएका अन्य पर्यटकका लागि अनुमतिको प्रतिलिपि आवश्यक पर्दैन । त्यस्तै सीसीएमसीमा अनलाइन लगइन गरेर नेपाल आगमन फारम पनि भरेर त्यसको प्रिन्ट प्रति पनि बुझाउनुपर्नेछ ।

कोभिडविरुद्धको खोप नलगाएका वा मात्रा पूरा नगरेकाहरुले नेपाली नियोगमार्फत भिसा लिएर र एजेन्सीमार्फत नेपाल भ्रमणमा आउन सक्छन् । उनीहरुले पनि विमान चढ्न चेकइन हुँदाको अवधिले ७२ घण्टाभित्रको कोभिड परीक्षणको नेगेटिभ रिपोर्ट, नेपालमा होटल बुक गरेको प्रमाण र सीसीएमसी फारम भरेर पेश गर्नुपर्छ । यसरी प्रवेश गर्नेहरु १० दिन आफ्नै खर्चमा होटल क्वारेन्टीनमा बसेपछि ११ औं दिनमा कोरोना परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएपछिमात्र उद्देश्य बमोजिमको काममा संलग्न हुन पाउँछन् ।

एनआरएन वा उनीहरुका परिवार, नेपालीसँग विवाह गरेका विदेशी नागरिकलाई पनि खोप लगाएको प्रमाण, कोरोना नेगेटिभ प्रमाण र सीसीएमसी फारम भरेर बुझाएपछि अन अराइभल भिसा दिइन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com