अब नेपालमै कोरोनाको अनुवांशिक अध्ययन, परीक्षण गरिएका नमुना प्राय सबैमा डेल्टा भेरियन्ट


प्रकाशित मिति : आश्विन १२, २०७८ मंगलबार

कोरोना भाइरस सङ्क्रमणको जीन सिक्वेन्सिङ अध्ययन गर्दा नेपालमा प्राय सबै नमुनामा कोरोना भाइरसको डेल्टा भेरियन्ट भेटिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र त्रिभुवन विश्वविद्यालय जैविक प्रविधि केन्द्रीय विभागमा गरिएको अनुवांशिक अध्ययनमा सबैमा कोरोनाको डेल्टा भेरियन्ट भेटिएको हो ।

प्रयोगशालाका निर्देशक डा रुणा झाले ४२ नमूनाको अनुवांशिक अध्ययन गरिएकोमा ४१ वटामा डेल्टा भेरियन्ट र एक वटामा ‘क’ जीन नेगेटिभ भएको अल्फा भेरियन्ट देखिएको बताउनुभयो । प्रयोगशालामा २६ र केन्द्रीय विभागमा १६ अनुवांशिक अध्ययन गरिएको थियो। एकचालिस नमूना भदौ र असोज तथा एउटा वैशाखमा सङ्कलन गरिएको थियो ।

राष्ट्रिय प्रयोगशालालाई विश्व स्वास्थ्य सङ्गठनले र केन्द्रीय विभागलाई वाशिङ्टन विश्वविद्यालयले प्राविधिक सहयोग गरेको थियो । निर्देशक डाक्टर झाले अब नेपालमै सङ्क्रमणको अनुवांशिक अध्ययन गर्न सकिने बताउनुभयो ।

डेल्टा भेरियन्टका लक्षणहरु विगतका भेरियन्टको तुलनामा पहिचान गर्न कठिन

कोरोनाको डेल्टा भेरियन्टका लक्षणहरु विगतका भेरियन्टको तुलनामा पहिचान गर्न कठिन हुने खालका रहेको स्वास्थ्यविदहरुले बताएका छन् । कतिपय लक्षणहरुका कारण व्यक्तिले एलर्जी वा अन्य प्रकारको रोग भएको अनुमान गर्ने अवस्था आउने गरेको उनीहरुको भनाई छ ।

अमेरिकाको लुजियानाका स्वास्थ्य अधिकारी जो कान्टरका अनुशार डेल्टा भेरियन्टको संक्रमण भएमा खोकी लाग्ने, ज्वरो आउने, स्वास फेर्न गाह्रो हुने जस्ता विगतका भेरियन्टका जस्ता लक्षण पनि देखिने बताए । तर साइनस, नाक बुझिने, घाँटी दुख्ने जस्ता लक्षण भएका व्यक्तिमा पनि डेल्टा भेरियन्टको संक्रमण भएको पाइएको छ ।

नेपालमा कोरोना संक्रमितलाई अस्पतालभित्र लगिदै

सामान्यमात्र लक्षण देखिएका र सिकिस्त नभएका कैयन व्यक्तिमा लक्षणका कारण डेल्टा भेरियन्टको परीक्षणविना पहिचान गर्न मुस्किल हुने गरेको हो । घाँटीमात्र दुख्ने, नाक बुझिने वा साइनसमात्रको लक्षण भएपनि कोरोना परीक्षण गराउन र अन्य व्यक्तिसँगको संसर्ग सिमित बनाउन स्वास्थ्यविदहरुले सुझाव दिएका छन् । जो कोभिड लक्षण अध्ययनका शोधकर्ताहरुका अनुसार लगातार हाछ्युमात्र गर्ने पनि डेल्टा भेरियन्ट संक्रमणको लक्षण हुनसक्छ ।

विज्ञहरुले कपडाको मास्क लगाउँदा केएन ९५ मास्कजति प्रभावकारी नहुने भएकाले डेल्टा भेरियन्टबिरुद्धको लडाईमा केएन ९५ मास्क लगाउन सुझाव दिएका छन् । विश्वमा पछिल्लो चरणमा संक्रमित अधिकांशहरुमा डेल्टा भेरियन्ट देखिएको छ ।

जोन्सन एण्ड जोन्सन भ्याक्सिन डेल्टा भेरियन्टबिरुद्ध मृत्यु रोक्न ९६ प्रतिशत प्रभावकारी

साउथ अफ्रिकामा हालै  गरिएको अध्ययनमा जोन्सन एण्ड जोन्सन भ्याक्सिन डेल्टा भेरियन्टबिरुद्ध अस्पताल भर्ना हुनेगरी सिकिस्त हुने अवस्था रोक्न ७१ प्रतिशत र मृत्यु रोक्न ९६ प्रतिशत प्रभावकारी देखिएको थियो । ४ लाख ८० हजार स्वास्थ्यकर्मीहरुबीचको परीक्षणमा कोरोनाबिरुद्धको जोन्सन एण्ड जोन्सन भ्याक्सिन डेल्टा भेरियन्टबिरुद्ध उच्च प्रभावकारी देखिएको हो ।

यो भ्याक्सिनको डेल्टा भेरियन्टबिरुद्धको प्रभावकारिताबारे यो स्तरको सबैभन्दा ठूलो अध्ययन पहिलो हो । यो अध्ययनले जोन्सन एण्ड जोन्सन भ्याक्सिनको प्रभावकारिताबारे उठेका कैयन प्रश्नको जवाफ प्राप्त भएको छ । एकडोजमात्र लगाए पुग्ने यो भ्याक्सिनको प्रभावकारिता अहिलेसम्म ८ महिनासम्म कायम रहेको अध्ययनको निष्कर्ष छ ।

नेपालमा जोन्सन एण्ड जोन्सन भ्याक्सिन लगाइदै

यो अध्ययनको परिणामबाट जोन्सन एण्ड जोन्सन भ्याक्सिनको बुस्टर शट आवश्यक नभएको देखिएको अध्ययन परीक्षणको सह नेतृत्व गरेकी ग्लेण्डा ग्रेले बताएकी छिन् । उनी साउथ अफ्रिकन मेडिकल रिसर्च काउन्सिलकी अध्यक्ष समेत हुन् । साउथ अफ्रिकाको भ्याक्सिन कार्यक्रममा जोन्सन एण्ड जोन्सन भ्याक्सिन मुख्य भ्याक्सिन हो ।

त्यस्तै कोभिशिल्ड, फाइजर र मोडेर्ना भ्याक्सिनपनि डेल्टा भेरियन्टबिरुद्ध प्रभावकारी देखिएका छन् । यसअगाडिका भेरियन्टहरु खोप लगाएका व्यक्तिबाट अर्कोमा सरेको पाइएको थिएन । तर डेल्टा भेरियन्ट भने खोप लगाएका व्यक्तिबाट समेत सर्ने भएकाले मास्क लगाउन सुझाव दिइएको छ ।

नयाँ भेरियन्टको आविश्कार रोक्ने एकमात्र उपाय भ्याक्सिन

अमेरिकाको सीडीसीका पूर्व निर्देशक डाक्टर रोबर्ट रेडफिल्डले कोरोनाको डेल्टा भेरियन्ट भन्दा पनि खतरनाक भेरियन्ट आउने चेतावनी दिएका छन् ।  रेडफिल्डले आगामी केही महिनामा नै अझ खतरनाक भेरियन्ट आउने चेतावनी दिए ।

दुईदेखि चार महिनाभित्र कोरोनाको डेल्टाभन्दा खतनाक भेरियन्टको सामना गर्नुपर्ने र यो अझ संक्रामक हुने फक्स न्यूजसँगको अन्तरवार्तामा रेडफिल्डले बताए । कोरोनाको नयाँ भेरियन्टको आविश्कार रोक्ने एकमात्र उपाय भ्याक्सिन लगाउनु रहेको उनले बताए । भ्याक्सिन नलगाएका व्यक्तिमा कोरोना भाइरसले स्वरुप परिवर्तन गर्न सहज हुने भएकाले नयाँ भेरियन्टको खतरा रहेको वैज्ञानिकहरुले चेतावनी दिदै आएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com