नेपालमा १ करोड २६ लाखले लगाए कोरोनाबिरुद्धको खोप: कूल जनसंख्याको २० प्रतिशतलाई पूर्णमात्रा


प्रकाशित मिति : आश्विन ११, २०७८ सोमबार

नेपालमा जोन्सन एण्ड जोन्सन भ्याक्सिन लगाइदै

सरकारले अघि सारेको लक्ष्यअनुसार नै कोरोना भाइरस विरुद्धको खोप लक्षित वर्गमा पुग्ने देखिएको छ । सरकारले असोजमसान्तसम्म लक्षित वर्गको एक तिहाइ जनसङ्ख्यालाई खोप लगाउने लक्ष्य राखेको थियो । सोही अनुसार अहिलेसम्म लक्षित वर्गको ३० प्रतिशतलाई पहिलो मात्रा र २८ प्रतिशतलाई पूर्णमात्राको खोप लगाइसकिएको छ भने कूल जनसङ्ख्याको २२ प्रतिशतले पहिलो र २० प्रतिशतले पूर्णमात्राको खोप लगाइसकेका छन् ।

स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाको बालस्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालले लक्ष्यअनुसार असोज मसान्तसम्म लक्षित वर्गलाई खोप लगाइसक्ने जानकारी दिनुभयो । “हामीले असोज मसान्तसम्म लक्षित वर्गको ३३ प्रतिशत जनसङ्ख्यालाई खोप लगाउने भनेका थियौँ”, उहाँले भन्नुभयो, “सोहीअनुसार हामीले दैनिक खोप अभियान सञ्चालन गरिरहेका छौँ । असोज मसान्तसम्म ३३ प्रतिशतलाई खोप पु¥याउँछौँ ।”

प्रधानमन्त्री शेरबहादुर देउवाले असार २९ मा आफू नियुक्त भए लगत्तै कोरोना भाइरस विरुद्धको खोपलाई सरकारले पहिलो प्राथमिकतामा राख्ने र असोज मसान्तसम्ममा ३३ प्रतिशतमा खोप पुर्याइने घोषणा गर्नुभएको थियो । सोही अनुरुप सरकारले अनुदान प्राप्त हुने देशबाट अनुदान तथा चीन र भारतबाट खरिद गरेर पनि खोप ल्याउने नीति लिएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सरकारले १८ वर्षभन्दामाथिका ७१.६ प्रतिशत अर्थात् कूल दुई करोड १७ लाख ५६ हजार ७६३ जनालाई खोप लगाउने लक्ष्य राखेको छ । सरकारले आगामी असोजसम्म लक्षित वर्गको ३३ प्रतिशत, पुस मसान्तसम्म दुई तिहाइ र चैत मसान्तसम्म लक्षित सबैलाई खोप लगाउनसक्ने जनाएको छ । पहिलो चरणको अर्थात् असोज मसान्तसम्मको लक्ष्य पूरा हुन लागेकाले खोपको आगामी अरु लक्ष्य पनि पूरा हुने देखिएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कम्तीमा ६० प्रतिशत जनसङ्ख्यालाई खोप लगाएमा रोगको नियन्त्रण गर्न सकिने जनाइएको छ । खोप अभियानकै क्रममा मन्त्रालयले अहिले पनि भेरोसेलको पहिलो मात्रा खोप अभियान सञ्चालन भइरहेको छ । अहिले दैनिक एक लाखभन्दा बढी जनाले खोप लगाइरहेका छन् ।

अहिलेसम्म पूर्वरुकुम, मनाङ र मुस्ताङका सबै लक्षित समुदायले पूर्णमात्राको खोप लगाइसकेका छन् । उहाँका अनुसार कूल जनसङ्ख्याको २२ प्रतिशतले पहिलो र २० प्रतिशतले पूर्णमात्राको खोप लगाइसकेका छन् । अहिले ६६ लाख नौ हजार २३३ ले पहिलो र ६० लाख ३६ हजार ४०१ जनाले पूर्ण मात्रा गरी कूल एक करोड २६ लाख ४५ हजार ६३४ जनाले खोप लगाइसकेका छन् ।

खोप अभियानअन्तर्गत सबैले खोप लगाउन थालेपछि सङ्क्रमण पनि घट्दै गइरहेको छ । आइतबार १३ हजार ७३६ जनामा कोभिड–१९ परीक्षण गर्दा ८३४ जनामा सङ्क्रमण देखिएको छ । अहिले परीक्षण गरिएकामध्ये करिब १२ देखि १५ प्रतिशतमा सङ्क्रमण देखिएको छ ।

अहिलेसम्म नेपालमा सङ्क्रमणको दर १९ प्रतिशत रहेको छ । नेपालमा पहिलो पटक सङ्क्रमण देखिएको एक वर्षपछि नेपालमा खोप लगाइएको थियो । नेपालमा पहिलो पटक २०७६ माघ ९ गते सङ्क्रमण देखिएको थियो । सरकारले गत माघ १४ गतेदेखि खोप लगाउन सुरु गरेयता सात महिनामा यही भदौ १६ गते नै एक करोड ९२ हजार १६४ सर्वसाधारणले खोप लगाएका थिए ।

कुन जिल्लामा कतिले खोप लगाए

सबभन्दा बढी काठमाडौँ उपत्यकामा जनसङ्ख्यालाई खोप लगाइएको छ । काठमाडौँ जिल्लामा पहिलो ५० प्रतिशत र दोस्रो ४९ प्रतिशत जनसङ्ख्यालाई, ललितपुरमा पहिलो ५० प्रतिशत जनसङ्ख्या र ४५ प्रतिशत पूर्ण मात्राको खोप लगाइसकेको छ ।

नेपालमा चाइनिज भ्याक्सिन भेरोसेल लगाउने क्रममा

यस्तै भक्तपुरमा ४१ प्रतिशतलाई पहिलो मात्रा खोप र ४६ प्रतिशतलाई पूर्ण मात्राको खोप लगाइसकेको छ । उपत्यकापछि सबभन्दा बढी रसुवामा खोप लगाइएको छ । रसुवामा पहिलो मात्रा ५६ प्रतिशत र पूर्णमात्रा ४७ प्रतिशतलाई लगाइएको छ । यस्तै काभ्रेमा ३७ प्रतिशत पहिलो र ३१ प्रतिशत पूर्ण मात्रा, रामेछाप २६ प्रतिशत पहिलो र ३६ प्रतिशत पूर्ण मात्राको खोप लगाइएको छ ।

यस्तै कास्कीमा पहिलो मात्रा २५ प्रतिशत जनसङ्ख्या र पूर्ण ३१ प्रतिशतलाई, लमजुङमा पहिलो ३० प्रतिशत र पूर्ण मात्रा २९ प्रतिशतलाई लगाइएको छ । स्याङ्जा पहिलो ३२ प्रतिशत र पूर्ण मात्रा २८ प्रतिशत, पर्वत पहिलो २३ प्रतिशत र पूर्ण मात्रा २५ प्रतिशतलाई खोप लगाइसकेको जनाइएको छ ।

कुन प्रदेशमा कतिले खोप लगाए

मन्त्रालयका अनुसार सबभन्दा बढी वाग्मती प्रदेशमा खोप लगाइएको छ । वाग्मती प्रदेशमा पहिलो ३६ प्रतिशत र पूर्ण मात्रा ३४ प्रतिशत जनसङ्ख्यालाई खोप लगाइएको छ । गण्डकी प्रदेशमा पहिलो र पूर्ण मात्रा खोप २४÷२४ प्रतिशत जनसङ्ख्यालाई, लुम्बिनी प्रदेशमा पहिलो १९ प्रतिशत र पूर्ण मात्रा १७ प्रतिशत, सुदूरपश्चिम प्रदेशमा पहिलो १८ प्रतिशत र पूर्ण मात्रा १७ प्रतिशतलाई खोप लगाइसकेको छ ।

यस्तै प्रदेश नं १ मा १८ प्रतिशतले पहिलो र १५ प्रतिशतले पूर्ण मात्रा र प्रदेश नं २ मा १५ प्रतिशतले पहिलो र १३ प्रतिशतले पूर्ण मात्राको खोप लगाइसकेका छन् । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले मुलुकभरि विशेष क्षेत्र काम गर्ने सबैजसोलाई खोप लगाइसकेको जानकारी दिनुभयो ।

“हामीले लक्ष्यअनुसार सबैलाई खोप लगाइसकेका छौँ”, उहाँले भन्नुभयो, “सबै नागरिकलाई खोप लिने लक्ष्यसहित खोप ल्याइरहेका छौँ ।” सुरुमा ६५ वर्षभन्दा माथिका र स्वास्थ्यकर्मी, अस्पतालमा काम गर्ने सरसफाइकर्मी, कोभिड–१९ विरुद्धको रोकथाम र नियन्त्रणमा अग्रपङ्क्तिमा रहेका काम गर्ने व्यक्तिबाट सुरु गरिएको खोप अहिले ५० वर्षमाथिका प्रायः सबैलाई खोप दिइसकेको थियो ।

मन्त्रालयले यही असोज ४ गतेदेखि १४ गतेसम्म ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, रसुवा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, बाजुरा र दार्चुला जिल्लामा १८ वर्षभन्दा माथिका सबैलाई भेरोसेल खोपको पहिलो मात्रा लगाइँदै छ ।

यस्तै काभ्रे र चितवनमा पनि १८ वर्षभन्दा माथि छुटेका विद्यार्थी र ३५ वर्षमाथिका सबैलाई र काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछाम जिल्लामा ४० वर्षमाथिका खोप लगाउन बाँकी र १८ वर्षमाथिका खोप लगाउन छुटेका विद्यार्थीलाई खोप लगाइँदै छ ।

नेपालमा अहिले कोभिशिल्ड, भेरोसेल, जोन्सन एण्ड जोन्सन, एस्ट्राजेनिका खोप लगाइएको छ । सरकारले सर्वसाधारणलाई खोप लगाउनका लागि खरिद, अनुदान र कोभ्याक्स सुविधामार्फत ल्याइरहेको छ । सरकारले खोपको कमी हुन नदिन अनुदान लिएर तथा खरिद गरेर पनि खोपको मात्रा पुर्याउने बताइरहेको छ ।

बालबालिकाका लागि चाँडै एक लाख मात्रा आउँदै

सरकारले १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई मोडर्ना र फाइजर खोप लगाइने तयारी गरेको छ । बालबालिका लागि मोडर्ना ४० लाख र फाइजर ६० लाख मात्रा ल्याइने छ । मोडर्ना कोभ्याक्स सुविधाअन्तर्गत ल्याउनका लागि पैसा पनि बुझाइसकेको छ । खोप शाखा प्रमुख दाहालले एक लाख मात्रा फाइजर खोप चाँडै नै आउने बताउनुभयो ।

उहाँका अनुसार अहिलेसम्म एक करोड ७७ लाख मात्रा खोप आइसकेको छ । यसैगरी ५९ लाख मात्रा भेरोसेल खोपका लागि पैसा तिरिसकेको उहाँले बताउनुभयो । कूल खोप लगाउने लक्षितमध्ये २० प्रतिशत कोभ्याक्स सुविधामार्फत ल्याउने सरकारले तयारी रहेको छ । कोभ्याक्सबाट निःशुल्करुपमा एक करोड १३ लाख मात्रा खोप प्राप्त गर्ने सरकारको योजना छ । सरकारले असोज मसान्तभित्र एक करोड पाँच लाख ४८ हजार मात्रा खोप र चैतसम्म तीन करोड २३ लाख मात्रा खोप ल्याइसक्ने जनाएको छ ।

सार्कमा नेपाल चौथो

कोरोना भाइरस विरुद्धको खोप लगाउनेमा नेपाल सार्क मुलुकमा चौथो स्थानमा छ । सार्क देशहरुमा सबैभन्दा बढी भुटानले ६५.६ प्रतिशत नागरिकलाई खोप दिएको छ । त्यस्तै दोस्रोमा मालदिभ्सले ६१.४८, श्रीलंकाले ५२.६१ प्रतिशतलाई र नेपालले लक्षित बर्गको २८ प्रतिशत नागरिकलाई पूर्ण मात्रामा खोप लगाएको पनि डा अधिकारीले बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com