ग्रिनकार्ड सहित अमेरिका बाहिर यात्रा गर्दा ध्यान दिनुपर्ने ८ कुराहरु


प्रकाशित मिति : आश्विन १०, २०७८ आईतबार

यदि तपाईसँग अमेरिकाको ग्रिनकार्ड छ भने तपाई अमेरिका बाहिर यात्रा गरेर फर्कन सक्नुहुन्छ । तर निश्चित कुराहरुमा ध्यान दिनुभएन भने तपाईसँग ग्रिनकार्ड हुँदाहुँदै पनि अमेरिका आउनमा रोक लाग्न सक्छ ।

१, अमेरिका आउने बेलामा पोर्ट अफ इन्ट्रीमा तपाईले आफ्नो ग्रिनकार्ड देखाउनु आवश्यक हुन्छ । तर ग्रिनकार्ड आफैमा ट्राभल डकुमेन्टका लागि प्रयाप्त हुँदैन । तपाईको साथमा विदेशी मुलुकको पासपोर्ट पनि हुन जरुरी हुन्छ । साथै अमेरिका छाड्नु अगाडि र आउने बेलामा तपाईले आफ्नो ग्रिनकार्डको म्याद चेक गर्न जरुरी हुन्छ ।

२, यदि तपाई एकबर्ष वा त्यो भन्दा लामो समयको लागि अमेरिका बाहिर जाँदै हुनुहुन्छ भने तपाईले अमेरिका छाड्नुअगाडि पुन प्रवेशको अनुमतिपत्र लिन जरुरी हुन्छ । पुन प्रवेशको अनुमतिपत्र नलिएको खण्डमा तपाई एकबर्षभन्दा धेरै अमेरिकाबाहिर बसेर फर्कदा तपाईको ग्रिनकार्डको म्याद बाँकी रहेपनि तपाईलाई अमेरिका प्रवेशमा रोक लाग्छ ।

सीबीपी इन्डोर्समेन्टसहितको भिसाको नमुना

३, तपाई आप्रवासी भिसामा अमेरिका आउनुभएको तर ग्रिनकार्ड आइसकेको छैन भने यो अवस्थामा यात्रा गर्दा तपाईको पासपोर्टमा आई ५५१ छाप हुन जरुरी हुन्छ । यो छाप स्थायी बासिन्दाको स्टाटस एकबर्षसम्म अद्यावधिक रहेको प्रमाण हो । तपाईको पासपोर्टमा यो छाप छ भने अमेरिकाबाहिर यात्रा गर्दा डराउनुपर्दैन ।

४, यदि तपाईको २ बर्षे अस्थायी ग्रिनकार्डको म्याद सकिएको छ भने तपाईले अमेरिका आउने बेलामा म्याद सकिएको ग्रिनकार्डका साथमा शर्त हटाउनका लागि युएससीआईएसमा आवेदन दिएको प्रमाण बोक्नुपर्छ । स्थायी ग्रिनकार्डका लागि कुरिरहेको अवस्थामा शर्त हटाउन दिएको आवेदनको प्रमाण र म्याद सकिएको अस्थायी ग्रिनकार्ड देखाएर अमेरिका प्रवेश गर्न सकिन्छ ।

५, यदि तपाईको ग्रिनकार्ड आवेदन युएससीआईएसमा पेन्डिङ अवस्थामा छ भने तपाईले अमेरिकाबाहिर यात्रा गर्दा एड्भान्स परोल यात्रा अनुमतिपत्र लिन जरुरी हुन्छ । एड्भान्स परोल तपाईको आवेदन रद्द नगरिकनै तपाईलाई अमेरिकाबाहिर यात्रा गरेर फर्कन दिने अनुमतिपत्र हो । यदि तपाईको एचवान, एच फोर, एल वान, एल टु, के थ्री, के फोर, भि टु वा भि थ्री भिसा अद्यावधिक छ भने तपाईले अमेरिकाबाहिर यात्रा गरेर फर्कनका लागि एड्भान्स परोल लिनु पर्दैन ।

६, यदि अमेरिकाबाहिर यात्रा गरिरहेको बेलामा ग्रिनकार्ड हरायो भने तपाईले नजिकको अमेरिकी दूतावास वा कन्सुलेटमा सम्पर्क गर्नुपर्छ । अमेरिकी दूतावास वा कन्सुलेटलाई तपाईलाई अमेरिकी सरकारको ट्रान्सपोर्टेशन लेटर प्रदान गर्छ । त्यो पत्र देखाएर तपाई अमेरिका आएर हराएको ग्रिनकार्ड प्राप्तीका लागि आवेदन दिन सक्नुहुन्छ । ग्रिनकार्ड चोरी भएको छ भने तपाईले प्रहरीमा रिपोर्ट गर्न नबिर्सनुहोला । यसरी ग्रिनकार्ड हराएर फर्कदा विमानस्थल वा अमेरिका प्रवेश गर्ने नाकामा तपाईलाई नयाँ ग्रिनकार्डका लागि उचित शुल्कसहित आई ९० फर्म भर्न लगाइन सक्छ ।

७, यदि तपाई ग्रिनकार्ड सहित अमेरिका बाहिर जानुभयो तर कुनै कारणबश १ बर्षभित्र फर्कन सक्नुभएन भने अमेरिकी दुतावासमा गएर रिटर्निङ रेसिडेन्ट भिसाका लागि आवेदन दिनुपर्छ । तपाईले कन्सुलर अफिसरलाई आफू आपतकालिन कारणबश लामोसमय अमेरिकाबाहिर बस्नुपरेको प्रमाण पेश गर्नुपर्छ । आफन्त वा आफू बिरामी भएको खण्डमा मेडिकल रिपोर्ट पेश गर्न सकिन्छ ।

८, यदि तपाई ग्रिनकार्ड लिएर लगातार ६ महिनाभन्दा बढी अमेरिका बाहिर बस्नुभएको छ भने अमेरिकी नागरिकता लिने बेलामा तपाईलाई समस्या पर्न सक्छ ।

थप जानकारीका लागि युएससीआईएसको वेवसाइट हेर्नुहोला ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com