नेपाल सरकार र इजरायल सरकारबीचको सम्झौताअनुसार इजरायल जाने १६ सयको नाम सार्वजनिक


प्रकाशित मिति : आश्विन १०, २०७८ आईतबार

नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौताअनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा पठाउन एक हजार ६०० जनाको नाम सार्वजनिक भएको छ ।

वैदेशिक रोजगार विभागले रोजगारीका लागि इजरालय जान लिइएको लिखित र अन्तर्वाताका आधारमा उनीहरुलाई छनोट गरेको हो । नेपालस्थित इजरायली दूतावासबाट परराष्ट्र मन्त्रालयमार्फत एक हजार ६०० (७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष) उम्मेदवार सिफारिस गर्न माग गरेको थियो ।

छनौट भएका सम्पूर्ण १६ सयको रोल नम्बर हेर्न यहाँ क्लीक गर्नुहोला ।

परीक्षामा एक हजार ८०३ सहभागीमध्ये शैक्षिक योग्यता र तालिमको प्रमाणपत्र प्रमाणीकरण हुननसकेको सङ्ख्या घटाउँदा कायम भएका उम्मेदवारमध्येबाट अन्तर्वाता र लिखित परीक्षा लिइएको थियो ।

लामो समयसम्म रोजगारीका लागि इजरायल जान रोकिएको भए पनि उसले नै दुई वर्ष पहिले दुई देशका सरकारबीचको सहमति सम्झौताबाट खुलाउने इच्छा देखाएको मन्त्रालयले जनाएको छ । विभागले लिएको लिखित परीक्षामा छ हजार ३१७ सहभागीमध्ये दुई हजार ३९ लिखित परीक्षामा उत्तीर्ण भएका थिए ।

विभागले यही असोज १ देखि ३ गतेसम्म उचाइ र तौलको परीक्षा लिएकामा त्यो बीचमा छुटेका व्यक्तिलाई अन्तर्वाता अवधिभरलाई अवसर दिएको थियो । सम्झौताअनुसार एक हजार जना इजरायल जाने मन्त्रालयले जनाएको छ ।

इजरायलमा नेपाली सहयोगी कामदार पठाउने सम्बन्धी निर्देशिका

केही महिना अगाडि सरकारले केयरगिभरमा नेपाली श्रमिक पठाउन आवश्यक इजरायलमा नेपाली सहयोगी कामदार पठाउने सम्बन्धी निर्देशिका २०७८ जारी गरेको थियो । नेपाल–इजरायलबीच २०७७, असोज १४ गते भएको श्रम सम्झौता अनुसार पहिलो चरणमा केयरगिभरमा श्रमिकहरू पठाउने गरी निर्देशिका जारी भएको थियो ।

निर्देशिका जारी भएसँगै नेपाली श्रमिकहरू केयरगिभर कामका लागि इजरायल जान पाउने बाटो खुलेको थियो ।

इजरायलमा नेपाली सहयोगी कामदार पठाउने सम्बन्धी निर्देशिका २०७८ मा व्यवस्था भएअनुसार इजरायल रोजगारीमा जाँदा लाग्ने आवश्यक शुल्क रोजगारदाताले नबोहोरे श्रमिक आफैंले बेहोर्नुपर्छ ।

नेपाली नागरिकलाई रोजगारीका लागि इजरायल पठाउँदा लाग्ने हवाई भाडा, बीमा, स्वास्थ्य परीक्षण, कल्याणकारी कोषको रकम र श्रम स्वीकृति लिँदा लाग्ने खर्च रोजगारदाताले बेहोर्ने भनि सम्झौतामा उल्लेख भएकोमा सोही बमोजिम र रोजगारदाताले नबेहोर्ने अवस्थामा सम्बन्धित व्यक्तिले बेहोर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

केयरगिभर कामका लागि उमेर २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको, उचाइ कम्तीमा ४ दशमलव ९ फिट र तौल ४५ केजी, शैक्षिक योग्यता कम्तीमा दस कक्षा उत्तिर्ण गरी अनमी वा सिएमए सम्बन्धी विषयमा पन्ध्र महिनाको अध्ययन पूरा गरेको वा कक्षा १२ वा सो सरहको शैक्षिक योग्यता हासिल गरी सरकारबाट मान्यता प्राप्त तालिम लिएको , अंग्रेजी भाषामा दक्ष, शारीरिक तथा मानसिक रूपमा स्वस्थ, असल चरित्र भएको लगायतका योग्यताहरु रहेका छन् ।

उल्लेखित योग्यता पूरा गरेका नेपाली नागरिकले इजरायलमा केयरगिभर काममा जान आवेदन दिन सक्नेगरी साउनमा आवेदन खुलाइएको थियो ।

नामावली विभागले इजरायलको पिआइबिएलाई पठाएपछि उक्त सूचीबाट इजरायलको पिआइबिएले छनोट गर्नेछ। र पिआइबिएले छानेका व्यक्ति र रोजगारदाताबीच रोजगार सम्झौता हुनेछ।

इजरायलस्थित रोजगारदाताले सम्झौताको ३ प्रतिमा हस्ताक्षर गरी रोजगारीका लागि छनोट भएका व्यक्तिको हस्ताक्षरका लागि विभागमा पठाउने व्यवस्था छ। रोजगार सम्झौताको प्रति प्राप्त भएपछि विभागले छनोट भएका सम्बन्धित व्यक्तिको हस्ताक्षर गराई बाँकी एक प्रति अभिलेखका लागि वैदेशिक रोजगार विभागको सूचना व्यवस्थापन प्रणालीमा प्रविष्ट गर्नेछ।

यसरी सम्झौतामा हस्ताक्षर गरिसकेका व्यक्तिहरू रोजगारीका लागि इजरायल जान पाउँछन्। विगतमा इजरायल गई काम गरेका, आमा, बुबा, पति, पत्नी, छोरा वा छोरी इजरायलमा बसोबास गरिरहेका वा कार्यरत रहेका र लागुपदार्थ वा मादक पदार्थ दुर्व्यसनमा लागेकाहरु भने इजरायल जान पाउँदैनन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com