परराष्ट्रमन्त्रीको प्रतिबद्धता: ‘एमसीसी र बीआरआईको अध्ययन गर्ने, राष्ट्र हितविरुद्ध सम्झौता नगर्ने’


प्रकाशित मिति : आश्विन ६, २०७८ बुधबार

परराष्ट्र मन्त्रालयमा बुधबार पदबहाली गर्दै परराष्ट्रमन्त्री डा नारायण खडका । साथमा परराष्ट्र सचिव भरतराज पौडयाल । तस्बिर: शरच्चन्द्र भण्डारी/रासस

अपडेट: आश्विन ६, २०७८ बुधबार, बेलुका १० बजे (नेपाल समय)

आजै परराष्ट्रमन्त्रीमा नियुक्त भएर आजै सपथ लिएका डा. नारायण खड्का संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिनआजै साँझ अमेरिका प्रस्थान गरेका छन् ।

परराष्ट्रमन्त्री नियुक्त भइसकेपछि डा नारायण खड्काले नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर चीन, भारतसहित विश्वका सबै मुलुकसँग सन्तुलित सम्बन्ध कायम गर्ने प्रतिवद्धता जनाएका छन् । पदबहाल गरेपछि उनले उहाँले राष्ट्रिय हितलाई सर्वोपरि मानेर छिमेकी राष्ट्र चीन र भारतसहित विश्वका सबै मुलुकहरुसँग सुमधुर एवं सन्तुलित सम्बन्ध कायम गरिने बताए ।

नेपालको राष्ट्रिय हित र स्वार्थ प्रवद्र्धन गर्न सबै राजनीतिक दलसँग विचार विमर्श गरी अघि बढ्ने उनको भनाई छ । सबै राजनीतिक दलहरुको सहमतिका आधारमा मुलुकको परराष्ट्र नीति सञ्चालन गरिने उनले बताए ।

वर्तमान विश्व परिवेशमा बाह्य सम्बन्ध सहज, सुदृढ एवम् सुमधुर बनाउन आवश्यक भएको र अहिले दक्षिण एसिया अन्तर्राष्ट्रिय समुदायको दृष्टिमा रहेको चर्चा गर्दै परराष्ट्र मन्त्रालयलाई अझ गतिशील आधुनिक प्रविधियुक्त बनाउन हरसम्भव प्रयास गर्ने प्रतिबद्धता मन्त्री खड्काले व्यक्त गरे ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ, अमेरिकी अनुदान सहायता मिलिनियम कर्पोरेसन च्यालेन्ज एमसिसी र इन्डो प्यासेफिक रणनीतिको अध्ययन गरिने र नेपालको राष्ट्रिय हितविरुद्ध कुनै किसिमको सम्झौता नगरिने बताए ।

सपथकै लिएकै दिन अमेरिकातिर

परराष्ट्रमन्त्री  खड्का संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज राति न्युयोर्क प्रस्थान गरेका छन् । गत भदौ २९ गतेदेखि प्रारम्भ भएको महासभाअन्तर्गत मङ्गलबारदेखि सुरु भएको उच्चस्तरीय बैठकमा भाग लिन अमेरिका प्रस्थान गरेको मन्त्री खड्का नेतृत्वको प्रतिनिधिमण्डललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निमित्त परराष्ट्र सचिव प्रकाशकुमार सुवेदीलगायत परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरुले बिदाइ गरे ।

‘आशाका माध्यमबाट लचिलोपन निर्माण गर्दै कोभिड–१९ बाट पुनःस्थापना, दिगो पुनर्निर्माण, पृथ्वीको आवश्यकता पूरा गर्न तथा जनताका अधिकारलाई सम्मान गर्दै संयुक्त राष्ट्रसङ्घलाई पुनःजागृत गराउने’ विषयमा परराष्ट्रमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ । महासभामा भाग लिने परराष्ट्रमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्र सचिव भरतराज पौड्याल, मन्त्रालयका सहसचिव सेवा लम्साल, संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राईलगायत रहेका छन् ।

परराष्ट्रमन्त्री खड्का न्युयोर्क रहँदा विभिन्न देशका समकक्षीहरुसँग द्विपक्षीय भेटवार्ता गर्ने जानकारी दिए ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्क मुलुकका विदेशमन्त्रीहरुसँग छलफल गर्ने जानकारी दिँदै यस्ता भेटघाट देशका हित प्रवद्र्धनका साथै कूटनीतक सम्बन्ध विस्तार गर्न सहयोगी हुने उनले बताए ।


राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा नवनियुक्त परराष्ट्रमन्त्री डा नारायण खडकालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउँदै । साथमा प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना । तस्बिर: रत्न श्रेष्ठ/रासस

नवनियुक्त परराष्ट्रमन्त्री डा नारायण खड्काले आजै राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका थिए । राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीसमक्ष मन्त्री खड्काले शपथ लिएका हुन् ।

समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा, सभामखु अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, मन्त्रीगण, संवैधानिक निकायका उच्च पदाधिकारीलगायत उपस्थित थिए । मन्त्री खड्कालाई प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले आजै परराष्ट्रमन्त्रीमा नियुक्त गरेका हुन् ।

४ दशक लामो सकृय राजनीतिक इतिहास, ५ पटक जेल

परराष्ट्रमन्त्री डा नारायण खड्काको जन्म २००५ साल चैत ७ गते भोजपुरमा भएको हो । विसं २०२३ मा विद्यार्थी आन्दोलनबाट राजनीतिमा लागेका उनले कांग्रेसको विद्यार्थी फाँट हुँदै पार्टीगत राजनीतिमा सक्रिय रहेर नेपाली कांग्रेसको केन्द्रीय सदस्य भए । विसं २०६४ मा उदयपुर–१ बाट संविधानसभा सदस्य निर्वाचित उनी २०७० सालको दोस्रो संविधानसभा सदस्य निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

सोही स्थानबाट २०७४ सालमा प्रतिनिधिसभा सदस्य निर्वाचित डा खड्का अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सदस्य हुन् । विसं २०७० मा उनी सहरी विकास मन्त्री थिए भने २०५६ सालमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईका सल्लाहकार थिए । उनले २०५७ सालमा राष्ट्रिय योजना आयोगको उपाध्यक्षका रुपमा काम गरेका थिए । राजनीतिक आन्दोलनका क्रममा काठमाडौँ र विराटनगरमा पटकपटक पक्राउ परेका उनी विभिन्न समयमा पाँचपटक जेल पनि परे ।

राजनीतिसँगै अध्ययन र समाजसेवमा विशेष रुचि राख्ने मन्त्री खड्का चार दशकदेखि राजनीतिमा सक्रिय छन् । अर्थशास्त्रमा विद्यावारीधि गरेका उनी नेपाली कांग्रेसको प्रभावशाली नेता हुन् ।

(राससको समाचारमा थप सम्पादन र रिपोर्टिङ)

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com