न्युयोर्कका कानून व्यवसायी सेडाईबाट महावीर पुनबाट संचालित आविष्कार केन्द्रलाई ५० लाख


प्रकाशित मिति : आश्विन ३, २०७८ आईतबार

न्युयोर्कका कानून व्यवसायी केशवराज सेडाईले महावीर पुनबाट संचालित राष्ट्रिय आविष्कार केन्द्रलाई ५० लाख रुपैया सहयोग उपलब्ध गराएका छन् । नेपालमा सुचना प्रविधियुक्त शिक्षा प्रणालीको विकाश र ग्रामिण क्षेत्रमा सुचना प्रविधिलाई प्रयोग गरेर स्वास्थ्य सेवा दिने अनुसन्धान र विकाशका खर्च गर्नका लागि उक्त रकम प्रदान गरिएको हो ।

५० लाख रुपैया राष्ट्रिय आविष्कार केन्द्रको बैंक एकाउन्टमा प्राप्त भएको महावीर पुनले पुष्टी गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत सहयोगका लागि सेडाईलाई धन्यवाद दिएका छन् ।

लमजुङको चिदी रामचोकबाट टेली भिडियो पाठ्यक्रमको मोडलको विकाश गर्ने योजना रहेको सेडाईले जानकारी दिएका छन् । चिदीको बालविकाश स्कुलबाट रिमोट लर्निङ पाठ्य क्रम विकाशको योजना रहेको उनले जानकारी दिए । खासगरी अँग्रेजी, गणित र विज्ञानलाई केन्द्रीत गरेर पाठ्यक्रम विकाशको मोडल रहेको छ ।

त्यस्तै लमजुङको चिदीमा टेलिमेडिसिन क्लीनिकको स्थापनाको मोडल स्थापना गरेर दुर्गम स्थानमा विस्तार गर्ने समेत लक्ष्य रहेको सेडाईले जानकारी दिए । पहिलो टेलिमेडिसिन नमूना स्वास्थ्य क्लीनिक चिदीमा नै स्थापना गर्ने लक्ष्य रहेको छ । सस्तोमा उपयुक्त स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि यो मोडल प्रयोग गरिने जनाइएको छ ।

केशव राज सेडाई न्युयोर्कका चर्चित नेपाली मूलका कानून व्यवसायी हुन् । सन् १९९९ देखि कानून व्यवसायमा संलग्न रहदै आएका सेडाईको कानूनी कार्यालयबाट ५० हजारभन्दा धेरै भिसा र ग्रिनकार्डमा सफलता प्राप्त भइसकेको छ । सेडाईले विभिन्न सामाजिक कार्यमा योगदान दिदै आएका छन् ।

सेडाईले आफू अमेरिकामा रहेपनि नेपालको मायाभने आफ्नो मनभित्र सधै रहने बताएका छन् । उनले आफू नेपालको विमानस्थलमा झर्नासाथ सबैभन्दा पहिलो नेपालको माटो छोएर ढोग्ने गरेको बताए ।

अमेरिकामा रहँदा पनि सामाजिक क्षेत्रमा योगदान दिदै आएका सेडाइ नेपाली र नेपाली संघसंस्थालाई सहयोगको आवश्यकता पर्दा सहयोग गर्नेमा अग्रपंक्तिमा रहेका छन् ।

को हुन् सेडाई ?

झण्डै ५५ बर्ष अगाडि लमजुङको चिदीमा जन्मिएका सेडाईले ८ कक्षासम्म लमजुङको चिदीमा रहेको विद्यालयमा अध्ययन गरेका थिए ।
बुबा लक्ष्मण सेडाई र आमा हरिप्रिया सेडाईका जेठा छोरा केशव सेडाईले ८ कक्षापछि फर्पिङको त्रिभुवन आदर्श माध्यामिक विद्यालयबाट एसएलसी सम्मको अध्ययन गरे ।

पछि काठमाडौंको ल क्याम्पसबाट बिएल सकेर थप अध्ययनका लागि सन् १९९० मा उनी अमेरिका आएका हुन् । अमेरिकाको नेब्रास्कामा व्यवस्थापन विषय पढेपछि उनले युनिभर्सिटी अफ नेब्रास्काबाट बिजनेशमा मास्टर्स गरे । अध्ययनकै क्रममा उनले कलेजले नै दिएको रेसिडेन्स हल डाइरेक्टरको जागिर पनि खाए ।

उनले युनिभर्सिटी अफ जर्जियाबाट कानुनमा मास्टर्स गरेका थिए । एटलान्टाको एउटा ल फर्ममा जागिर गर्नुभएका सेडाई सन् १९९५ तिर न्युयोर्क आएर वल्र्ड ट्रेड सेन्टरमा रहेको एउटा ल फर्ममा काम गर्न थाले । यसै दौरान उनले सन् १९९६ मा संयुक्त राष्ट्रसंघमा जागिर पनि खाए ।

संयुक्त राष्ट्रसंघमा जागिरका शिलशिलामा उनले युगोस्लाभिया र क्रोयशियामा काम गरे । जागिरबाट फर्केपछि उनले वकिलको लाइसेन्सपनि प्राप्त गरे । यसै दौरानमा फिजिकल थेरापिस्ट रितुसँग प्रेममा परेका सेडाईले सन् १९९८ मा प्रेम विवाह गरेका थिए । त्यसपछि उनी २ छोरा र एक छोरीका पिता समेत भए ।

विवाहपछि सेडाईले आफ्नै ल फर्म खोले । सन् १९९९ मा उनले न्युयोर्कको रिचमण्ड हिलमा आफ्नै ल फर्म खोलेका थिए । पछि सन् २००१ मा उनले आफ्नो ल फर्म रिचमण्ड हिलबाट न्युयोर्कको केन्द्र वर्ल्ड ट्रेड सेन्टर नजिकै सारे ।

सन् २००१ मा वर्ल्ड ट्रेड सेन्टरमा हमला भईसकेपछि उनले आफ्नो ल फर्म डेढ महिना बन्द गर्नुपरेको थियो । सन् २००४ सम्म वल्र्ड ट्रेड सेन्टर नजिकै ल फर्म चलाएका सेडाईले सन् २००५ देखि भने म्यानहटनको १४६ वेस्ट २९ स्ट्रीटमा ल फर्म चलाउदै आएका थिए ।

सन् २०१८ देखि उनले म्यानहटनको टाइम्सस्क्यावर नजिकै २४६ वेष्ट ३८ स्ट्रीटमा ल फर्म संचालन गर्दै आएका छन् । न्युजर्सीको न्युपोर्टमा बस्दै आएका सेडाई नेपालीलाई समस्या पर्दा वा कुनै सामाजिक काममा सहयोग आवश्यक परेमा सधै तत्पर रहदै आएका छन् ।

सेडाईले २०६२र०६३ को जनआन्दोलनमा राजतन्त्र विरुद्धको आन्दोलनमा आर्थिक, भौतिक र नैतिक सहयोग गरेका थिए । सेडाई अमेरिकन इमिग्रेशन लयर एसोसियसन, अमेरिकन बार एसोसियसन, न्युयोर्क स्टेट बार एसोसियसनमा आबद्ध छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com